ओलीले दाहालसँग भनेका थिए- ‘अरु केही कुराले पनि पार्टी एकता भएन । म तपाईँकोमा गएँ, तपाईँ मकहाँ आउनुभयो । केही कुराले एकता नभएपछि अब निर्वाचनमा गए त एकता होला नि।’
पुस ७, २०७७
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ चुनावले पार्टी एकतालाई थप बलियो बनाउने बताएका छन् । बालुवाटारमा मंगलबार सम्पन्न आफूनिकट केन्द्रीय कमिटीको बैठकमा ओली केही कुराले पनि पार्टी एकता मजबुत हुन नसकेकाले नयाँ चुनावमा जान लागिएको बताएका हुन् ।
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उक्त समूहमा नयाँ प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पुष्पकमल दाहालसँग केही कुराले पनि एकता हुन नसकेकाका कारण ताजा जनादेशका लागि चुनावमा जान लागेको बताए । ओलीले पुष्पकमल दाहालसँग भनेको कुरा उद्धृत गर्दै ज्ञवालीले भने, ‘अरु केही कुराले पनि पार्टी एकता भएन । म तपाईँकोमा गएँ, तपाईँ मकहाँ आउनुभयो । केही कुराले एकता नभएपछि अब निर्वाचनमा गए त एकता होला नि।’
त्यस्तै प्रधानमन्त्री ओलीले मुलुकले लिएको राष्ट्रियता सुदृढीकरण र कोभिड-१९ लगायतका मुद्दामा केही नेताहरुबाट साथ नदिएका कारण प्रतिनिधिसभा विघटन गरेको जानकारी बैठकमा दिएको पनि ज्ञवालीले बताए ।
त्यस्तै पार्टीले अब सरकारले साढे २ वर्षमा गरेका राम्रा कामहरु लिएर चुनावमा जाने पनि ज्ञवालीले बताए । साथै नारायणकाजी श्रेष्ठलाई कारबाहीस्वरुप प्रवक्ताबाट हटाइएको हो भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘पार्टी प्रवक्ताको काम आधिकारिक धारणा सार्वजनिक गर्ने हो । आफ्ना निजी विचार र धारणाहरु होइन । त्यसैले अध्यक्ष ओलीले मलाई पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न मलाई पार्टी प्रवक्ताको जिम्मेवारी तोक्नु भएको हो ।’
त्यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुँदैछ नि भन्नेमा अध्यक्ष र महासचिवबिना गरिएको बैठक मान्य नहुने उनले बताए । उनले भने, ‘पार्टीका प्रथम अध्यक्ष र महासचिवबिना पनि बैठक हुन्छ र ! माइन्युटबिना पनि बैठक हुन्छ र ! उहाँहरु बैठक होइन केही लाइकमाइन्डेड मान्छेहरु जम्मा हुनु भएको होला ।’ साथै पार्टी विभाजन पनि नभएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘हाम्रो तर्फबाट पार्टी विभाजन भएको छैन । कसैलाई कारबाही गरिएको पनि छैन । कसैलाई हटाइएको पनि छैन । केही कार्यविभाजन हेरफेर भएको पनि छैन ।’
यतिबेला सरकारविरुद्ध उत्रिन पर्नुको कुनै कारण नभएको पनि उनले बताए । साढे २ वर्षमा सरकारले राम्रा काम गरेको बताउँदै आफूहरुलाई कुनै पश्चाताप नभएको पनि ज्ञवालीले बताए ।
बालुवाटारमा सम्पन्न ओलीनिकट केन्द्रीय कमिटीको बैठकले मंसिरमा एकता महाधिवेशन गर्ने ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने, पार्टीका केही विधान संशोधन गर्नेलगायतका केही निर्णय गरेको पनि उनले जानकारी दिए ।
सम्बन्धित समाचार
दाहाल–नेपाल समूहको प्रस्ताव : ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने
प्रकाशित : पुस ७, २०७७ १४:०५