Saturday, April 27, 2024

समाचार फेरि कुटिए डाक्टर

सरकार र स्वास्थ्यकर्मीबीच कार्यस्थलमा सुरक्षा व्यवस्था गर्नेलगायत सहमति भएको भोलिपल्टै राजधानीमा अस्पतालभित्रै इन्टर्न डाक्टरमाथि कुटपिट

काठमाडौँ — सरकार र स्वास्थ्यकर्मीबीच सहमति भएको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिट भएको छ । उपचारका लागि केएमसी आएका बिरामीका आफन्तले डा. मनीष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको छ । कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले सिनामंगल क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए । ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिएको डा. हेमा चन्दले जानकारी दिइन् ।

मिर्गौलाको उपचार गराउन आएका बिरामीका ३/४ जना आफन्त मिलेर डा. खड्कामाथि हातपात गरेको केएमसीका एक चिकित्सकले बताए । ‘डाक्टरले भीडभाड नगरी बस्नु एकछिनमा उपचारको पालो आउँछ भन्दा ३/४ जना भिजिटर मिलेर गालीगलौच गर्दै भुइँमा पछारेर कुटपिट गरेछन्,’ ती चिकित्सकले भने, ‘डा. मनीषको टाउको र हातखुट्टामा चोट लागेको छ ।’ चिकित्सकले कुटपिटमा संलग्नलाई पक्राउ गरी ३ वर्ष जेल र ३ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । केएमसीका स्वास्थ्यकर्मीहरूले सडकमा नाराबाजी गरेर आक्रमणको विरोध गरेका थिए ।

यसअघि पनि पोखराको मणिपाल, लमजुङको लमजुङ अस्पताललगायत देशभरका विभिन्न अस्पतालमा चिकित्सक आक्रमणमा परेपछि देशभरका स्वास्थ्यकर्मीले ५ दिनदेखि सेवा ठप्प पार्दै आन्दोलन गरेका थिए । स्वास्थ्य मन्त्रालयले गत शनिबार राति मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता गरेर सहमति गरेको थियो । सरकारले सुरक्षित कार्यस्थलको सुनिश्चितता गर्ने र आक्रमणमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि स्वास्थ्यकर्मी उपचार सेवामा फर्किएका थिए ।

काठमाडौं प्रहरीले केएमसीका डाक्टर कुटेको आरोपमा २ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेका छन् । आरोपीलाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केएमसी अस्पतालले घटनाबारे नेपाल चिकित्सक संघलाई समेत पत्राचार गरेर जानकारी दिएको छ । पत्रमा ड्युटीमा रहेका इन्टर्न डाक्टरमाथि अराजक व्यक्तिहरूले लखेटीलखेटी, बेहोस हुने गरी भुइँमा पछारेर घाउचोट बनाएको उल्लेख छ । इन्टर्न, मेडिकल अफिसर, आवासीय चिकित्सक तथा विद्यार्थीहरूले घोषणा गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउन संघलाई आग्रहसमेत गरिएको छ ।

शनिबार मात्रै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन–२०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र मणिपाललगायत स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गरी स्वास्थ्यकर्मीसँग सहमति गरेको थियो । तर राजधानीमै डाक्टरमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मीहरू थप आक्रोशित बनेका छन् । केएमसीका स्वास्थ्यकर्मीले गरेको आन्दोलनमा वरपरका स्वास्थ्य संस्थाका चिकित्सकले पनि सहभागिता जनाएका थिए । कुटपिट र दुर्व्यवहारको घटना हुन नदिन ऐनमा व्यवस्था गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने सहमतिपत्रमा उल्लेख छ । चिकित्सकले उक्त समितिलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गरेर बिरामी तथा अस्पतालका सेवाग्राहीको गुनासो भए सुन्ने र उजुरी लिई छानबिन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

सहमतिमा पछिल्ला घटनाका दोषीलाई सोही ऐनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने पनि सहमति भएको थियो । पहुँच र राजनीतिक संरक्षणका आधारमा दोषीले उन्मुक्ति पाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । सहमतिमा ऐन संशोधन गर्न एक साताभित्र स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने उल्लेख छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने घटना बढिरहेको र हालको कानुनी व्यवस्थाले स्वास्थ्यकर्मीको मनोबलमा ह्रास आएको हुँदा निजहरूको मनोबल बढाउन कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने माग सम्बन्धमा सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै कानुन संशोधन गर्न स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अघि बढाउनेछ,’ सहमतिमा भनिएको छ ।

त्यस्तै स्वास्थ्यकर्मीमाथि बारम्बार भइरहेको कुटपिट र दुर्व्यवहारका घटनाका कारण पहिचान गरी निराकरण गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति भएको छ । १० दिनभित्र गठन हुने कार्यदलले नीतिगत र कानुनी सुधारका लागि तीन महिनाभित्र सुझाव दिने सहमतिमा उल्लेख छ । भदौ २८ मा सन्चो अस्पताल हेटौंडा, असोज ७ मा लमजुङ अस्पताल र ८ गते मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि पनि ड्युटीकै बेला कुटपिट भएको थियो । ती घटनापछि सरकार र स्वास्थ्यकर्मीबीच दुई पटक वार्ता र सहमति भए पनि आक्रमणको घटना भने रोकिएको छैन ।

प्रकाशित : आश्विन १५, २०८० ०८:०९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार