Saturday, April 27, 2024

पहिरोमुनि विरहका गीत

सिन्धुपाल्चोक — बर्खा लाग्यो कि पानीको झिर,
जता पहिरो उतै पिर,
नहोस् कसैलाई नराम्रो,
सरकारले हेरे झन् राम्रो,
रक्षा गरुन् है भगवान्,
बर्खायाममा जमिन भासिएर जताततै गाउँबस्ती जोखिममा हुँदा स्थानीयलाई रातदिन चैन छैन । सिमसिमे वर्षासँगै पहिरोले बग्दै गरेको आफ्नो गाउँघर हेर्दै भोटेकोशी गाउँपालिका–१ लिस्तीकोट काङलाङ गाउँका वीरबहादुर कामी टुंगुना बजाएर स्थानीय भाकामा यी शब्दमा दुःख दर्शाइरहेका थिए ।

वारिपारि पहिरोले क्षतविक्षत भूगोल । घरको तल्लो छेउ लाछ्दै लगेको पहिरोमुनि बसेर वीरबहादुरले भक्कानिँदै गाउन थालेपछि गाउँले जम्मा भएर हेर्न र गीत सुन्न थाले । लोकगीत र टुंगुना गायकका रूपमा चिनिएका उनी दृष्टिविहीन हुन् । उनले गीतबाट सिन्धुपाल्चोकको बाढीपहिरोको व्यथा ओकलिरहँदा पहिरोले आफ्नो परिवार बेघर बनाएको दुखेसो गरे । ‘यही गीत गाएकै कारण धेरैले सहयोग गर्नुभएपछि भूकम्प र पराकम्पले ढलाएको घर दुःखजिलो गरेर बल्लतल्ल बनाइयो, यही घर पनि जोखिममा परेपछि हामी के गर्ने ? के नगर्ने अन्योलमा परेका छौं,’ वीरबहादुरले भने ।

भोटेकोशी गाउँपालिकाले उनी जस्तै जोखिममा परेका परिवारका लागि काङलाङमा टेन्ट र पाल उपलब्ध गराएको छ । बालबच्चा लिएर खेतीपातीबिना टेन्ट र पालमा कसरी गाँस, बास जुटाउने भन्ने प्रश्नले उनको परिवारलाई पिरोलेको छ । उनका दुई छोरी र एक छोरा छन् । वीरबहादुरको परिवार जोखिममा परेको आफ्नै घरमा बस्दै आएका छन् । ‘यसरी कतिन्जेल बस्ने हो थाहा छैन, तर हामीसँग विकल्प पनि छैन । पालिकाले दिएको पालमा बस्न गाँसको व्यवस्था हुँदैन । यहाँ भए पहिरोबाट बचेखुचेको बारीमा खेतीपाती त गरिन्छ,’ उनले भने । भोटेकोशी गाउँपालिकाका विपद् व्यवस्थापन शाखा संयोजक गंगासागर पौड्यालका अनुसार पालिकाका दर्जनौं बस्ती बाढीपहिरोको जोखिममा छन् । जसमा काङलाङ, पाउँगुम्बा, धनपालमा, फाल्डुङ, अन्थली, लार्चा फुमाचे, हिन्दीजस्ता गाउँमा गरी यही बर्खाभर ३० घर उच्च जोखिममा परेका छन् ।

भूकम्प र पराकम्पको तीन वर्षपछि बल्ल ठड्याएको घर पनि पहिरोले जोखिममा पारेपछि बाह्रबिसे–२ भोटाङ गैह्रा टोलका चलमान कामीले बास–गाँसको अवस्था बेहाल भएको बताए । ‘पानी परे पालमा जान्छौं, पानी नपरे जोखिममा रहेकै घरमा हुन्छौं । काम नगरी पालमा बसिरहेर कसले खान दिने, कसले कमाइदिन्छ ?,’ कामीले प्रश्न गरे । पहिरोले घर धरापमा पारे पनि बाँकी बसेको जग्गाजमिनमा सागसब्जी लगाएका छन् । घुम्थाङ भोटाङ गैह्रा टोलभन्दा केही माथिको बारीमा पाल हालिएको छ । सुरक्षित स्थानमा सारिएका यी १० परिवार दिनभर आफ्नै थातथलो गाउँमा फर्किएर दैनिकी चलाए पनि पानी परेका रातमा भने टेन्टमै बस्छन् । बाह्रबिसे नगर विपद् व्यवस्थापन शाखा प्रमुख दुर्गाप्रसाद भण्डारीले पालिकाभर ७१ परिवार उच्च जोखिममा परेकामा ९० टेन्ट र पाल दिइएको बताए ।

स्थानीय तहका विपद् व्यवस्थापन शाखाका अनुसार घर छाडेर पाल र टेन्टमा बस्ने विस्थापित परिवार जिल्लाभर करिब पाँच सय छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाका तीन नगर र नौ गाउँपालिकाभर विस्थापितको संख्या यकिन नआइसकेको बताए ।

प्रकाशित : आश्विन ९, २०८० ११:२९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार