Tuesday, March 19, 2024

हाम्रो पक्षबाट कसैलाई हटाइएको छैन : प्रदीप ज्ञवाली

ओलीले दाहालसँग भनेका थिए- ‘अरु केही कुराले पनि पार्टी एकता भएन । म तपाईँकोमा गएँ, तपाईँ मकहाँ आउनुभयो । केही कुराले एकता नभएपछि अब निर्वाचनमा गए त एकता होला नि।’

पुस ७, २०७७

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ चुनावले पार्टी एकतालाई थप बलियो बनाउने बताएका छन् । बालुवाटारमा मंगलबार सम्पन्न आफूनिकट केन्द्रीय कमिटीको बैठकमा ओली केही कुराले पनि पार्टी एकता मजबुत हुन नसकेकाले नयाँ चुनावमा जान लागिएको बताएका हुन् । 

नेकपा अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै प्रदीप ज्ञवाली तस्बिर

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उक्त समूहमा नयाँ प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पुष्पकमल दाहालसँग केही कुराले पनि एकता हुन नसकेकाका कारण ताजा जनादेशका लागि चुनावमा जान लागेको बताए । ओलीले पुष्पकमल दाहालसँग भनेको कुरा उद्धृत गर्दै ज्ञवालीले भने, ‘अरु केही कुराले पनि पार्टी एकता भएन । म तपाईँकोमा गएँ, तपाईँ मकहाँ आउनुभयो । केही कुराले एकता नभएपछि अब निर्वाचनमा गए त एकता होला नि।’

त्यस्तै प्रधानमन्त्री ओलीले मुलुकले लिएको राष्ट्रियता सुदृढीकरण र कोभिड-१९ लगायतका मुद्दामा केही नेताहरुबाट साथ नदिएका कारण प्रतिनिधिसभा विघटन गरेको जानकारी बैठकमा दिएको पनि ज्ञवालीले बताए ।

त्यस्तै पार्टीले अब सरकारले साढे २ वर्षमा गरेका राम्रा कामहरु लिएर चुनावमा जाने पनि ज्ञवालीले बताए । साथै नारायणकाजी श्रेष्ठलाई कारबाहीस्वरुप प्रवक्ताबाट हटाइएको हो भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘पार्टी प्रवक्ताको काम आधिकारिक धारणा सार्वजनिक गर्ने हो । आफ्ना निजी विचार र धारणाहरु होइन । त्यसैले अध्यक्ष ओलीले मलाई पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न मलाई पार्टी प्रवक्ताको जिम्मेवारी तोक्नु भएको हो ।’

त्यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुँदैछ नि भन्नेमा अध्यक्ष र महासचिवबिना गरिएको बैठक मान्य नहुने उनले बताए । उनले भने, ‘पार्टीका प्रथम अध्यक्ष र महासचिवबिना पनि बैठक हुन्छ र ! माइन्युटबिना पनि बैठक हुन्छ र ! उहाँहरु बैठक होइन केही लाइकमाइन्डेड मान्छेहरु जम्मा हुनु भएको होला ।’ साथै पार्टी विभाजन पनि नभएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘हाम्रो तर्फबाट पार्टी विभाजन भएको छैन । कसैलाई कारबाही गरिएको पनि छैन । कसैलाई हटाइएको पनि छैन । केही कार्यविभाजन हेरफेर भएको पनि छैन ।’

यतिबेला सरकारविरुद्ध उत्रिन पर्नुको कुनै कारण नभएको पनि उनले बताए । साढे २ वर्षमा सरकारले राम्रा काम गरेको बताउँदै आफूहरुलाई कुनै पश्चाताप नभएको पनि ज्ञवालीले बताए ।

बालुवाटारमा सम्पन्न ओलीनिकट केन्द्रीय कमिटीको बैठकले मंसिरमा एकता महाधिवेशन गर्ने ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने, पार्टीका केही विधान संशोधन गर्नेलगायतका केही निर्णय गरेको पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार

दाहाल–नेपाल समूहको प्रस्ताव : ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने

प्रकाशित : पुस ७, २०७७ १४:०५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार