Saturday, April 27, 2024

समाचार हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति

नेपाल मेडिकल काउन्सिलको ‘कोड अफ इथिक्स’ मा कुनै पनि व्यक्तिलाई फाइदा पुग्ने गरी चिकित्सकीय हैसियत प्रयोग गरेर गलत प्रमाणपत्र जारी गर्न नहुने उल्लेख

आश्विन १५, २०८०

myRepublica - Nagarik Network

 

काठमाडौँ — विभिन्न अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरू नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका कैयौं घटनाहरू विगतमा पनि हुँदै आएका छन् । पछिल्लो पटक अभिनेता अनमोल केसी पनि फौजदारी मुद्दाअन्तर्गत आपराधिक विश्वासघातमा गत शुक्रबार पक्राउ पर्नुअघिसम्म तन्दुरुस्त नै देखिन्थे । तर पक्राउ परेलगत्तै उनी प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगन्जस्थित चिरायु अस्पतालको सुविधासम्पन्न क्याबिनमा बसेपछि यसको आलोचना भइरहेको छ । उपत्यका प्रहरी अपराध महाशाखाले अभिनेता केसीलाई शुक्रबार साँझ भक्तपुरको साँगा क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ गर्दाको अवस्थामा स्वस्थ रहेका केसी कम्तीमा पनि शुक्रबार र शनिबार गरी दुई रात हिरासतमा बस्नुपर्ने निश्चित भएसँगै ‘अस्वस्थ’ भए । आइतबारअघि हिरासतबाट मुक्त हुने कुनै उपाय नभएपछि केसी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा नबसेर अस्पतालको क्याबिनमा पुगेका थिए ।

काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलका अनुसार उनलाई आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत जिल्ला अदालतमा पेस गरिएको थियो । उनी हातमा क्यानुला लगाएरै अदालतमा उपस्थित भएका थिए । यो घटनापछि प्रहरी प्रशासनका साथै उपचारमा संलग्न चिकित्सकको नियतमा पनि प्रश्न उठेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई पक्राउको दिनदेखि तीन दिन हिरासतमा राख्न अनुमति दिएपनि आइतबार साँझ छुटेका छन् ।

प्रहरीको हिरासतमा रहेका जोकोहीको पनि स्वास्थ्यमा समस्या आए उपचारका लागि सरकारी अस्पताल लैजानुपर्ने नियम छ । कहिलेकाहीं अवस्था हेरेर हिरासत नजिकैको निजी अस्पताल लगिए त्यसलाई व्यावहारिक रूपमा अन्यथा मानिँदैन । केसीका हकमा भने छातीमा एक्कासि असहज महसुस भएको भन्दै सिंहदरबारबाट महाराजगन्जस्थित चिरायु अस्पतालको बेड नं. ५०१ मा भर्ना गरिएको थियो । उनलाई चिरायुका वरिष्ठ जेनेरल फिजिसियन डा. अजय प्रधानको निगरानीमा भर्ना गरिएको छ । केसीलाई के कति कारणले अस्पताल भर्ना गरिएको हो भन्नेबारे डा. प्रधानसँग प्रतिक्रिया लिन गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । अस्पतालका अर्का वरिष्ठ चिकित्सक भने आफूले अनमोललाई भर्ना गरिएको बारे शनिबार दिउँसो मात्रै थाहा पाएकाले त्यसबारे विस्तृतमा बताउन नसक्ने बताए ।

कुनै पनि व्यक्ति कस्तो समस्या लिएर अस्पताल आएको छ भन्ने अवस्था हेरी भर्ना गर्ने भन्ने एउटा दायरा हुन्छ । हरेक अस्पताल वा निश्चित रोगका विशेषज्ञले कस्तो अवस्थामा कसरी उपचार प्रक्रिया अगाडि बढाउने भन्ने मापदण्ड बनाएका हुन्छन् । यस्तै, नेपाल मेडिकल काउन्सिलको ‘कोड अफ इथिक्स’ मा पनि चिकित्सकलाई कुनै पनि व्यक्तिलाई फाइदा पुग्ने गरी आफ्नो चिकित्सकीय हैसियत प्रयोग गरेर गलत प्रमाणपत्र जारी गर्न नहुने उल्लेख छ । यस्तो गलत कार्यमा संलग्न चिकित्सकलाई काउन्सिलले कारबाहीसमेत गर्न सक्छ ।

यद्यपि अभिनेता केसीको हकमा मात्रै नभई विगतमा पनि धेरै जना पक्राउ आरोपी पहुँचका आधारमा हिरासत छल्न अस्पताल भर्ना हुने गरेका छन् । पछिल्लो पटक बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपीमध्येका एक भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङ पनि हिरासत छल्नकै लागि करिब ६० दिन त्रिवि शिक्षण अस्पतालको क्याबिनमा भर्ना भएका थिए । उनले त्यहाँ मोतियाविन्दुको शल्यक्रिया गराएका थिए । त्यसपछि उनलाई मधुमेह र उच्च रक्तचापका कारण असहज भएको भन्दै शिक्षण अस्पतालका चिकित्सक टोलीले स्वास्थ्य निगरानीमा अस्पताल भर्ना गरिएको थियो । अदालतबाट बिगोसहितको धरौटी पाएपछि भने उनी अस्पतालबाट पनि डिस्चार्ज भएका थिए ।

यस्तै, बुढानीलकण्ठमा २०७६ मंसिर २७ मा मादक पदार्थ सेवन गरी सवारी चलाई गोरखाकी लीला देवकोटालाई ठक्कर दिएर मारेका पृथ्वी मल्ल पनि हिरासत अवधि छल्न पटक–पटक चिरायु अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले कहिले उच्च रक्तचापको समस्या त कहिले कडा खालको डिप्रेसन भनेर राखेको थियो । पछि कारागार विभागको पहलमा नेपाल मेडिकल काउन्सिलसहितको टोलीले हस्तक्षेप गरेपछि भने उनलाई डिस्चार्ज गरिएको थियो । प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार प्रहरीले पक्राउ गरेका कुनै पनि व्यक्तिको स्वास्थ्यमा समस्या देखिए उपचारका लागि पहिलो प्राथमिकता सरकारी अस्पताललाई नै दिइन्छ । तर, कसैले पक्राउ पर्नुअघि नै कुनै विशेषज्ञ चिकित्सकसँग उपचार गराइरहेको छ भने उसको रायअनुसार पनि उपचार प्रक्रिया अगाडि बढ्न सक्छ ।

‘हिरासतमा रहेका व्यक्ति बिरामी भए सुरुमा हामीले सरकारी अस्पताल नै लाने हो । सरकारी अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भनेर अर्को जुन अस्पतालमा रिफर गर्छ त्यसमा लाने हो,’ कडायतले भने, ‘तर, पहिलादेखि नै कुनै चिकित्सकलाई देखाएर औषधि खाइरहेको छ भने आरोपीकै खर्चमा ती चिकित्सक कहाँ पनि उपचारका लागि लैजाने गरिन्छ ।’ उनका अनुसार अभिनेता केसीलाई चिकित्सककै रायअनुसार अस्पताल भर्ना गरिएको हो । ‘उपचार गर्ने चिकित्सकले नै प्रेस्क्राइब गरेपछि हामीले अन्यथा भन्न मिलेन,’ उनले भने । नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार कुनै पनि चिकित्सकले स्वस्थ व्यक्तिलाई बिरामी भएको प्रमाणित गर्नु गलत हो । कुनै चिकित्सकले त्यस्तो गरेको छ भनेर काउन्सिलमा उजुरी परेमा कारबाही गर्ने अधिकार काउन्सिलसँग छ ।

‘हामीले पृथ्वी मल्लको केसमा चिकित्सकलाई सजग गराएका पनि थियौं,’ उनले भने, ‘अन्यको हकमा भने विभिन्न खाले रोग भएकाले भर्ना नै गर्न मिल्ने अवस्था थिएन भन्न पनि कठिन हुन्छ । अनमोलको केसमा यस खाले प्रश्न उठ्नु जायज हो । तर, उनी साँच्चै बिरामी थिए कि थिएनन् त्यो त हामीले पनि अनुसन्धान गर्नुपर्छ ।’ काउन्सिल स्रोतका अनुसार यस्तो घटनामा हरेक व्यक्तिको अवस्था हेरेर मूल्यांकन गर्नुपर्ने हुन्छ । ‘पहिलादेखि नै रोगी छ, हिरासतमा बस्दा तनाव भएर अरू स्वास्थ्य समस्या नहोला भन्न पनि सकिन्न । त्यस्तो अवस्थामा एक हिसाबले चिकित्सकले निर्णय गर्लान् र त्यसलाई प्रमाणित पनि गर्न सक्लान्,’ उनले भने, ‘तर केही पनि नभएको व्यक्तिको पनि त तुरुन्तै स्वास्थ्यमा केही गडबडी भएको हुन सक्छ । त्यसैले व्यक्तिअनुसार नै हेर्नुपर्ने हुन्छ ।’

उनका अनुसार कसैलाई यदि चिकित्सक र आरोपी मिलेर बिरामी भएको नाटक गरेको जस्तो लाग्छ भने उसले उजुरी भने गर्न सक्छ । ‘यदि केही गडबड छ जस्तो लागे स्वास्थ्य मन्त्रालयमा वा काउन्सिलमै पनि उजुरी गर्न सकिन्छ ।’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. यज्ञराज पोखरेलका अनुसार यदि कुनै पनि डाक्टरले पक्राउ परेका बिरामीलाई सुविधा दिन अस्पताल भर्ना गर्छ भने उसलाई पनि कानुनी कारबाही हुनु जरुरी छ । ‘गलत ढंगले अस्पताल भर्ना गर्ने चिकित्सक र अस्पताल दुवैलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यस्तै गलत कार्यले गर्दा पनि चिकित्सकमाथिको जनविश्वासमा कमी आउँछ । त्यस्तो हुन दिनु हुँदैन ।’

बिरामीको ‘स्वाङ’ पार्नेहरू

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महारा पनि पक्राउ परेको केही दिनपछि स्वास्थ्यमा समस्या आएको दाबी गर्दै नर्भिक अस्पताल भर्ना भएका थिए । उनी हिरासत छल्न २४ दिन अस्पतालको क्याबिनमा बसेका थिए । पछि अदालतले पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेपछि त्यहाँको प्रशासनले उनलाई अस्पताल बस्ने अनुमति दिएन ।

बलात्कारको आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेका थिए । उनको यो व्यवहारले बलात्कार जस्तो जघन्य अपराधको अनुसन्धान पूरा गर्न प्रहरीलाई कठिन भएको थियो । उनलाई उच्च अदालत विराटनगरले तीन जना सरकारी डाक्टरले सिफारिस गरेपछि मात्रै अस्पताल बस्न पाउने आदेश गरेपछि उनी विराट नरसिंह होमको भीआईपी क्याबिनबाट बाहिरिन बाध्य भएका थिए । कृष्णदासको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले कारागारलाई थुनुवाले ७२ घण्टाभन्दा बढी समय अस्पताल भर्ना हुनुपर्ने अवस्था आए तीन जना सरकारी चिकित्सकको समितिले सिफारिस गर्नुपर्ने आदेश दिएको थियो ।

२०७६ कात्तिकमा दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका थिए । पक्राउ परेका २५ मध्ये आठ जना अस्पताल भर्ना भएका थिए । यस्तै २०७६ मंसिरमा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई करिब७० करोड ठगी गरेका आरोपी दिनेश कोइराला पनि पक्राउ परेपछि हिरासतमा नबसेरअदालतबाट धरौटीमा रिहा नहुँदासम्म अस्पताल बस्नेमध्येमा पर्छन् ।

प्रकाशित : आश्विन १५, २०८० ०८:३७

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार