Saturday, April 27, 2024

नेपालको एक चीन नीति कि सिद्धान्त ?

प्रधानमन्त्री दाहालको चीन भ्रमण क्रममा जारी विज्ञप्तिमा विगतमा प्रयोग गरिएको ‘नीति’ का ठाउँमा ‘सिद्धान्त’ शब्द प्रयोग

काठमाडौँ — नेपालले एक चीन सिद्धान्तमा दृढ प्रतिबद्धता दोहोर्‍याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण क्रममा जारी संयुक्त विज्ञप्तिमा ‘सिद्धान्त’ भन्ने शब्द प्रयोग भएको छ । विगतमा ‘एक चीन नीति’ राखिएको थियो ।

‘नेपाली पक्षले एक चीन सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याएको छ,’ नेपाल–चीन संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘जनवादी गणतन्त्र चीन सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एक मात्र कानुनी सरकार हो । ताइवान चीनको अभिन्न भाग हो । नेपाली पक्ष ‘ताइवान स्वतन्त्रता’ को विरुद्धमा छ ।’ नेपालको एक चीन प्रतिबद्धता सैद्धान्तिक अडान (प्रिन्सिपल स्ट्यान्ड) भएकाले यसमा कहिले नीति र कहिले सिद्धान्त भन्ने शब्द प्रयोग हुँदै आएको नेपाल सरकारका एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार संयुक्त विज्ञप्ति जारी गर्नुअघि चिनियाँ पक्षले ताइवानबारे छुट्टै शब्द राख्न चाहेको थियो । ‘ताइवानका चीनविरोधी गतिविधिप्रति नेपाल विरोधमा रहन्छ भन्ने जस्तै कडा शब्द राख्न खोजिएको थियो,’ स्रोतले भन्यो, ‘छलफलपछि नेपाल एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्धतामा भन्ने शब्द राखिएको हो ।’ नेपाली पक्षले तिब्बत चीनको आन्तरिक मामिला भएको भन्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने दोहोर्‍याएको छ । ‘चीनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढतापूर्वक समर्थन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रिय परिस्थितिअनुसार सामाजिक प्रणाली र विकासको दिशामा स्वतन्त्र छनोटलाई सम्मान र समर्थन गर्दछ ।’

चीनका लागि पूर्वराजदूत टंक कार्की नेपालले तिब्बत र ताइवानका सन्दर्भमा एक चीन सिद्धान्तप्रति जनाएको प्रतिबद्धता नयाँ नभएको बताउँछन् । ‘एक चीन सिद्धान्तप्रति पुनः प्रतिबद्धता जनाउनु पुरानै कुरा हो,’ उनले भने, ‘तिब्बत र ताइवान चीनको अभिन्न अंग हो भनेर नेपालले पहिलेदेखि नै प्रतिबद्धता जनाउँदै आएको हो ।’

२०७८ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणमा जारी संयुक्त विज्ञप्तिमा पनि नेपालले चीन ‘नीति’ प्रति दृढ प्रतिबद्धता जनाएको थियो । ‘नेपाली पक्षले तिब्बत र ताइवान मामिला चीनको आन्तरिक मामिला भएको भन्दै एक चीन नीतिप्रति दृढ प्रतिबद्धता र नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता दोहोर्‍याएको छ,’ विज्ञप्तिमा उल्लेख थियो । ओली भ्रमणमा जारी संयुक्त विज्ञप्तिमा चिनियाँ पक्षले नेपालको सामाजिक व्यवस्था र विकासको बाटो स्वतन्त्र छान्ने र नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्थायित्व कायम राख्न नेपालले गरेको प्रयासप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याएको थियो ।

एक साता चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भ्रमण आशा गरेभन्दा धेरै सफल भएको दाबी गरेका छन् । ‘मैले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको छ,’ उनको भनाइ छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँगको सौहार्दपूर्ण भेटवार्ताले नेपालको हितमा विभिन्न समझदारी गर्नुले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको पुष्टि भएको दाहालले बताए । ‘नेपाल र चीनबीच विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका स–साना नाका पनि सबै खोल्ने सहमति भएको छ,’ उनले भने, ‘विगतमा बन्द प्रायः सबै नाका खुलिसकेका र बाँकी साना–ठूला सबै नाकाहरू छिट्टै खुल्नेछन् ।’ नेपाल र चीनबीचका सबै नाका खुलेपछि दुई देशबीच व्यापार व्यवसायले नयाँ फड्को मार्ने उनले बताए ।

दाहालसँग चीनको स्वशासित क्षेत्र तिब्बतका सीपीसी कमिटीका पार्टी सचिव वाङ छुङछेङसँग पनि भेटवार्ता गरे । भेटवार्तामा दाहालले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक भएको बताए । ‘छुङछेङको नेतृत्वमा भएका अर्थपूर्ण क्रियाकलापबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुगेको छ,’ दाहालको भनाइ थियो, ‘दुईपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार छ ।’ भेटवार्तामा सचिव छुङछेङले दाहालको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सक्रिय रहने बताए । दाहालले बिहीबार कैलाश पर्वत र मानसरोवरको भ्रमण गरेका छन् । सो क्रममा उनले हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर तालको सहज भ्रमणका लागि व्यवस्था मिलाइने बताए ।

कूटनीतिक गतिविधि बढाउने नीति

चीनले नेपालमा निरन्तर कूटनीतिक गतिविधि बढाउने नीति लिएको छ । कोभिड–१९ को महामारीपछि करिब तीन महिना आफूलाई ‘आइसोलेसन’ मा राखेको चीनले पछिल्लो समय नेपाल केन्द्रित गतिविधि बढाएको हो ।

सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले पछिल्लो समय नेपालमा अमेरिकालगायत देश हाबी भएको विश्लेषण गर्दै कूटनीतिक गतिविधि बढाएको बताए । ‘कोभिड महामारी सुरु भएपछि चीन तीन वर्ष आफैं आइसोलेसनमा रहँदा नेपालका कूटनीतिक गतिविधि एकदम कम भए । त्यसबेला नेपालमा अमेरिकालगायत अन्य शक्ति राष्ट्रको प्रभाव बढ्यो भन्ने बुझाइ चीनको छ,’ उनले भने, ‘त्यसकारण पछिल्लो समय नेपाल केन्द्रित गतिविधि तीव्र पारेको देखिन्छ ।’

पछिल्लो समय उपराष्ट्रपति, प्रधानमन्त्री उपप्रधानमन्त्री एवं गृहमन्त्री र पार्टीका वरिष्ठ नेताहरूले चीन भ्रमण गरेका छन् भने चीनबाट सीपीसी विदेश विभाग प्रमुखलगायत वरिष्ठ अधिकारीले नेपाल भ्रमण गरिसकेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पहिलो विदेश भ्रमण साउन २९ मा चीनबाट सुरु गरे । चीनको कुनमिङमा भएको सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा विशेष अतिथिका रूपमा उनी एक साता भ्रमणमा पुगेका थिए । असार १२ मा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित पाँचदिने भ्रमणका लागि चीन निस्केका थिए । सिचुवान प्रान्तको ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा उनलाई निम्त्याइएको थियो । उनले त्यहाँ राजनीतिक भेटवार्ता गरे ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको पूर्वसन्ध्यामा पार्टी महासचिव देव गुरुङलाई साउन २५ मा चीन पठाएका थिए । जेठ ५ मा सीपीसीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा माओवादी उपाध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय पार्टी प्रतिनिधिमण्डल चीन गएको थियो । भ्रमणका क्रममा सीपीसी विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच उच्चस्तरीय भेटवार्ता गरेका थिए । वैशाख ७ मा सीपीसीको निमन्त्रणामा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल पनि चीन पुगे । उनले सीपीसी विदेश विभागका उपमन्त्री गुओ येसहउसँग कुराकानी गरेका थिए । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बीआरआई कार्यान्वयनबारे नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र सचिव भरतराज पौड्याल चैत २२ मा बेइजिङ गएका थिए ।

पछिल्लो समय चिनियाँ अधिकारीको पनि नेपालमा भ्रमण बाक्लिएको छ । ७ साउनमा सीपीसी पोलिटब्युरो सदस्यसमेत रहेका नेता युआन च्याच्युन नेपाल भ्रमणमा आएका थिए । त्यसबेला प्रधानमन्त्री दाहालसँग इटालीको रोमबाट भर्चुअल वार्ता गरे भने नेपालमा प्रमुख राजनीतिक दलका नेतासँग कुराकानी गरेका थिए । यस्तै, सीपीसी पोलिटब्युरो सदस्य युआन जियाजुन जोङकिङ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ७ मा नेपाल आए । चीनका राष्ट्रपति तथा सीपीसी महासचिव सी चिनफिङका विश्वासपात्र युआनले यहाँका राष्ट्रपति, प्रधानमन्त्री, सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख र अन्य दलका नेतासँग भेटवार्ता गरे । त्यस्तै, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने भ्रमणका लागि ०७९ असार २६ मा नेपाल आएका थिए । उच्च राजनीतिक तहसँग भेटवार्ता गरी उनी फर्किएका थिए ।

भदौ २९ मा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र भदौ ३० मा संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन पाँचदिने भ्रमणमा सुटुक्क आएर फर्किएका थिए ।

प्रकाशित : आश्विन १२, २०८० ०८:५१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार