Saturday, April 27, 2024

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्दै कांग्रेस

आश्विन ९, २०८०

काठमाडौँ — नेपाली कांग्रेसले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे मंगलबार पार्टीका सांसद, शिक्षाविद् र सरोकारवालाहरूसँग छलफल गर्दै छ । सरकारले संसद्‌मा दर्ता गरेको विधेयकमा भएका व्यवस्थाको विरोधमा देशभरिबाट शिक्षकहरूसहित अन्य सरोकारवालाले विरोध जनाएपछि कांग्रेसले विधेयकबारे सबैलाई बोलाएर छलफल गर्न लागेको हो ।

संसदीय दल कार्यालयको आयोजनामा हुने छलफल कार्यक्रम मंगलबार दिउँसो १ बजेबाट बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुनेछ । छलफलमा सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारी, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू सहभागी हुनेछन् ।

मंगलबार र बुधबार सञ्चालन हुने छलफल कार्यक्रममा कांग्रेसले विज्ञहरूसहित सरोकारवालाहरू नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, राहत शिक्षक समिति, बाल बिकास शिक्षक समिति, प्याब्सन, एन प्याब्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, प्राविधिक शिक्षक एसोसियसन र स्थायी शिक्षक हकहित मञ्चलगायत संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नेछ । त्यस्तै, छलफलमा गाउँपालिका महासंघ र नगरपालिका महासंघलाई पनि बोलाएको छ ।

मंगलबारको छलफलमा प्रमुख सचेतक रमेश लेखकले विषय प्रवेश गराउने र त्यसपछि सरोकारवालाहरूको धारणा सुन्ने कार्यतालिका छ ।

प्रमुख सचेतक लेखकले शिक्षाविद्, विज्ञहरू, पार्टीका सांसद र नेताहरू तथा विधेयकका विषयमा चासो राख्ने अन्य प्रबुद्ध व्यक्तिहरूलाई समेत कार्यक्रममा निम्त्याइएको बताए ।

प्रकाशित : आश्विन ९, २०८० ११:५८

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार