Tuesday, March 19, 2024

दाहालको प्रश्‍न : ‘केपीको सेटिङको रहस्य के हो ?’

माघ ५, २०७७

काठमाडौँ — नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालले निरंकुशता लादेर मुलुकलाई अँध्यारो सुरुङमा हाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले यसको संकेतका रूपमा ‘सेटिङ’ का कुरा सुनिन थालेको बताए ।

‘यहाँ निकै ठूलो षड्यन्त्र भइराखेको छ । इतिहासलाई पूरै धकेल्ने, घुमाएर निरंकुशताको ठाउँमा पुर्‍याउने र देशलाई अँध्यारो युगमा हाल्ने षड्यन्त्र भएको छ । खुब सुनिन्छ नि आजभोलि, सेटिङ भइसक्यो रे । यो सेटिङ भन्ने शब्द अहिले डरलाग्दो छ,’ राजधानीमा आइतबार अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने ।

दाहालले अदालत र निर्वाचन आयोगमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निर्णय हुनुपर्छ भनिरहेको बताए । तर आफूहरूको विश्वास अदालत र आयोगप्रति रहेको उनको भनाइ थियो । ओली र उनका मान्छेले अदालत र आयोगलाई समेत धम्क्याउँदै हिँडेको दाहालले बताए । ‘केपी र उनी नजिकका मान्छेहरूले सेटिङ भइसक्यो, सूर्य हाम्रै हुन्छ, अदालतले पनि हामीले भनेअनुसार नै गर्छ भनेको देख्दा यो सेटिङ शब्दभित्र के रहस्य हो भन्ने चिन्ता लागेको छ,’ उनले भने, ‘म यो मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहन्नँ । केपीको सेटिङलाई त शंका गर्न पाइयो नि हामीले ?’

दाहालले कुनै पनि षड्यन्त्रपूर्ण र प्रतिगामी गतिविधि रोक्न ‘प्रतिक्रान्तिकारीहरू’ को मुटु हल्लिने खालको आवेगमय आन्दोलन चाहिएको बताए । ओलीले ‘शाकाहारी’ आन्दोलनलाई नगन्ने उल्लेख गर्दै दाहालले भने, ‘हाम्रो आन्दोलन अलि आवेगमय हुनुपर्‍यो, अलि जुझारु, आक्रामक हुनुपर्‍यो । शाकाहारी जस्तो हुनु भएन । बाघ, सिंह गर्जे जस्तो हुनुपर्ने भयो । प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिनुपर्‍यो ।’

प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उल्लेख गर्दै दाहालले कार्यकर्ताको रक्षाका लागि आन्दोलनको अग्रपंक्तिमा आफू हुने बताए । उनले कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको दाबी गरे । ‘माघ ९ गतेको प्रदर्शनमा हामी अग्रपंक्तिमा हुन्छौं । हिजो गिरिजाबाबु, माधव, झलनाथजीहरूले लाठी खाएजस्तै किन–किन मेरो टाउको चिलाएको हो कि के हो ? तपाईंहरू पछाडि, म अगाडि बस्छु । लाठी खान मन लागेको छ । म त्यो स्पिरिटमा छु,’ दाहालले भने, ‘यो प्रतिगमनलाई कुनै हालतमा सफल हुन दिइने छैन । हजारौं सहिद र योद्धाको सपना खेर जाने छैन ।’

सिंगो देश ओलीको असंवैधानिक कदमको विरोधमा उभिएको उल्लेख गर्दै दाहालले त्यसको नेतृत्व आफूहरूले लिनुपर्ने बताए । ‘खुसीको कुरा, केपीको कदमको विरोधमा प्रायः सबै जनता, सबै सेक्टर छन् । आन्दोलनका लागि योभन्दा राम्रो जनमत हुन सक्दैन । यति ठूलो जनमतको स्विच दबाउने काम गर्नु छ । त्यसको नेतृत्व हामीले लिनु छ,’ उनले भने । उनले आक्रामक र जुझारु ढंगले जाने गरी आन्दोलनका कार्यक्रम बनाउन कार्यकर्तालाई निर्देशन दिए । ‘राजा–महाराजाहरूको श्रीपेच निकालेर फुटबल खेलेको इतिहास छ । देशलाई प्रतिक्रान्तिको भड्खालो र अँध्यारोमा हालेको हेर्न सकिँदैन । हिजो पनि मर्न हिँडेका हौं । जरुरी पर्छ भने मर्न तयार, तर झुक्न तयार छैनौं,’ दाहालले भने ।

यसअघि आइतबार नै दाहाल–नेपाल पक्षीय राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा दाहालले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरेकाले आफूहरू आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएको बताएका थिए ।

प्रकाशित : माघ ५, २०७७ ०७:३५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार