Tuesday, April 30, 2024

‘यसकारण हामी संसद् विघटनमा जानुपर्‍यो’

‘पुराना पातहरू झर्ने र नयाँ पात पलाउने यो क्रम भइरहन्छ । हामीले नचाहँदा पनि हुन्छ । अहिले पार्टी चल्न सक्ने अवस्थामा थिएन । हामीले चाहेर के गर्नु ? उहाँहरूलाई हामीले चाहिरहेका छौं । उहाँहरूलाई निष्कासन गर्न हामीले खोजिरहेका छैनौं ।’

पुस ८, २०७७

काठमाडौँ — हामी नयाँ ढंगबाट बढ्दै छौं । अहिलेसम्म विधिवत् पार्टी विभाजित छैन । पार्टी विभाजन गर्न पनि चाहँदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? झन् एकजुट भएर अगाडि बढ्नु पर्दैन ? मैले अस्तिको दिन (पुस ५ गते) प्रचण्डजीलाई भनें– हामीलाई केहीले मिलाउन सकेन, अब निर्वाचनले मिलाउँछ कि ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो । हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा लगाउनुपर्‍यो ।

आपसी अन्तरविरोधहरू टुंग्याउनुपर्‍यो । अब एकजुट भएर निर्वाचनका काममा अगाडि बढौं । प्रधानमन्त्री नै बन्नु छ भने चुनावबाट बन्ने होला नि ! प्रधानमन्त्री चुनावबाट बने भो । यसले हामीलाई एक ठाउँ पुर्‍याउँछ । अरू पार्टीहरू पनि एकजुट हुँदै छन् चुनावका लागि । चुनावको सामना गर्नका लागि ।

तर उहाँहरूले मान्नुभएन । उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन तर उहाँहरू यस धर्तीमा, कार्यकर्ता र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन । अहिलेको आवश्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन । देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरू चलिरहनुभएको छैन ।

तपाईंहरूलाई थाहा छ, ममाथि कति–कति बेला हमला हुन्छ ? मेरो आफ्नै अनुभवका हिसाबले भन्ने हो भने, जब देशमा निरंकुश राजतन्त्र थियो, तानाशाही पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो, त्यसबेला । लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन सुरु गर्‍यौं, हमला भयो । मैले जेलमा पनि बस्नुपर्‍यो । साथीहरू पनि बस्नुपर्‍यो । हामीमाथि हमला कतिबेला भयो भने जतिबेला हामीले जनता र देशका लागि एउटा निर्णायक आन्दोलनको उद्घोष गरेर अगाडि बढ्यौं । त्यसपछिका दिनहरू पनि म थुप्रै सम्झन्छु तर पछिल्लो समयको मात्रै कुरा गरौं । हामीले संविधान जारी गर्‍यौं । संविधान जारी गरेबापत हमला भयो । हामीमाथि नाकाबन्दी लगाइयो । नाकाबन्दीको हामीले डटेर सामना गर्‍यौं । त्यसबेला आलोचना र विरोध हाम्राविरुद्ध केन्द्रित गरियो– देश बर्बाद बनाउने भयो, नसक्ने ठाउँमा सिङ जोडाउन पुग्यो, छिमेकीहरूसँग सम्बन्ध बिगार्‍यो ।

हामीले त सम्बन्ध बिगारेका थिएनौं । नाकाबन्दी भोगिरहेका थियौं । तर त्यसका विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं तर पनि हाम्रो राष्ट्रको स्वाभिमान, सार्वभौमसत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने मानिसहरू थिए, शक्तिहरू थिए ।

हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दुर्बुद्धिका कारणले, बोल्न नजानेर, देश नै अप्ठ्यारोमा पर्ने स्थिति भो, अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढंगले बोलेर अभियान थाल्नुभो । हामी एउटा देशबाट घेरिएका थियौं । चीनतिरबाट पनि बाटो खोलिएपछि त झन् सहिसक्नै भएन । तीव्र भयो अपमान । चीनतिरबाट पारवहन र यातायातसम्बन्धी सन्धि भएपछि, हामीले चीनतिरबाट विभिन्न नाका खोलेपछि, विभिन्न बाटाहरू बनाएपछि, चीनसँग जोड्ने बाटा बनाइयो भनेर हामीमाथि हमला भो । हाम्रा दुर्गम ठाउँहरू चीनसँग जोडिएका छन् । सिमाना जोडिएका छन् । ती दुर्गम ठाउँमा बाटा नबनाएर हामी देशको विकास कसरी गर्न सक्छौं ? हामीले चीनसँग सम्बन्ध जोड्नै पर्थ्यो, बाटाहरूले जोड्नै पर्थ्यो, हवाई यातायातले जोड्नै पर्थ्यो । ट्रान्स हिमालयन कनेक्टिभिटी– हिमाल–पहाड सम्बन्ध, आवागमन, हवाई, दूरसञ्चार वा अरू बाटा, रेलमार्ग, विभिन्न बाटाबाट हामीले खोल्न थाल्यौं । त्यसो भएपछि हाम्राविरुद्ध यति तीव्र हमला भो कि, त्यो सरकार नै ढलाइयो ।

देशका लागि त्यति दृढताका साथ, त्यति उपलब्धिसाथ अगाडि बढेको सरकार गिराउनेमा हाम्रो पार्टीका नेताहरू र अविश्वासको प्रस्तावको आफ्नै पार्टीका नेताहरूले समर्थन गरे त्यसबेला । हाम्रै सांसदहरूको शिर निहुरिएको थियो त्यसबेला । परिस्थिति अहिले फेरि आयो । हामीले हाम्रो देशको सम्पूर्ण भूभाग सामेल गरेर नक्सा छाप्यौं । हामीले अरूको भूभाग सामेल गरेको होइन तर त्यो नक्सालाई, त्यो कुनै पोस्टर होइन, हामीले छापेको हो– राष्ट्रको सार्वभौमसत्ता र भूगोल । सार्वभौमसत्ता सम्पन्न भूगोल, त्यो भूगोल नक्साबाट समेत बाहिर पारिएको थियो । सुगौली सन्धिपछि हामीले १ सय ४६ वर्षसम्म भोगचलन गरेको जमिन, ५८ वर्षअघि कालापानीमा भारतीय फौज बस्यो । त्यसभन्दा उताको लिपुलेक र लिम्पियाधुराको बाटामा भारतीय फौज बसेर ‘ब्लक’ गरिदिएपछि उतैको जस्तो भएर गयो ।

त्यसपछि संविधान संशोधन गरियो, सर्वसम्मतिले गरियो । कुनै पनि कुरामा अहिलेसम्म राष्ट्रिय सर्वसम्मति भएको थिएन तर हामीले संविधानको प्रश्नमा राष्ट्रलाई एक ठाउँमा उभ्यायौं । कतिको छातीमा ह्वारह्वार आगो बल्यो । किन बलेको हो, थाहा छैन । देश एकजुट भयो राष्ट्रियताको सवालमा । एउटा समूह पृथकतावादी राजनीति लिएर हिँडिरहेको थियो, त्यस समूहलाई हामीले संविधानसम्मत, संवैधानिक, राजनीतिक, शान्तिपूर्ण राजनीतिको मूलधारमा, राष्ट्रिय एकताको मूलधारमा ल्याउने सफलता प्राप्त गर्‍यौं । त्यसबेला पनि हामीले विरोधको सामना गर्नुपर्‍यो । त्यस्तालाई किन मञ्च दिइयो आदि इन्त्यादि । एउटा पृथकतावादी राजनीतिको अन्त्य भएर राष्ट्रिय मूलधारको राजनीति जब अघि बढ्दै छ भने त्यसमा मन पोल्नुपर्ने कारण के ? कलेजो जल्नुपर्ने कारण के ? तर केही मान्छेहरूको जल्यो ।

पृथकतावादको अन्त्य हुँदा त्यहाँ राष्ट्रवादको नारा लगाएर रुवाबासी गरे केही मान्छेहरूले । त्यसैकारण हाम्राविरुद्ध तीव्र हमला भयो । एक जना वरिष्ठ नेताले टेलिभिजनमै भनेको सुनियो, ‘म एकताको विरोधमा थिइनँ । यो एकता गरेपछि नै, एकता गरेको समूहसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ भनेर एकताको पक्षमा थिएँ ।’ अथवा, एकता उहाँलाई चाहिएको किन रहेछ ? कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन होइन । उहाँहरू अहिले सफल हुनुभएको छ । म सुन्दै छु, उहाँहरूले केपी ओलीलाई निकाल्नु हुन्छ रे । उहाँहरूले भन्दा मैले १० वर्षअघि पार्टी सदस्यता लिएको हुँला । एउटा आन्दोलन सुरु गरेर जतिबेला आन्दोलन टुक्राटुक्रा, धुजाधुजा थियो, त्यस अवस्थामा एकता, एकीकरणको अभियान थालेर आएको मलाई आज प्रचण्डले निकालिदिने रे । म साथीहरूलाई भन्न चाहन्छु, हामी यस्ता कुरामा अल्झिँदैनौं । प्रचण्डले पार्टीबाट निकाल्छन् कि, उनका घरबाट पनि निकाल्छन् कि, कहाँ–कहाँबाट निकाल्छन्, त्यो उनको कुरा हो ।

हामी एउटा आन्दोलनमा छौं । हाम्रा महान् उद्देश्यहरूमा छौं । हामीले हाम्रा महान् उद्देश्यहरू तोकेका छौं । हामी समाजवादमा पुग्न चाहन्छौं । अहिले देश समाजवादउन्मुख छ । समाजवादउन्मुख भनेको लोककल्याणकारी राज्यको अवधारणाअनुसार काम गर्दै सामाजिक न्याय र समानताको अभिवृद्धि गर्दै सुशासन र विकासको बाटोमा अगाडि बढेर हाम्रो समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो उद्देश्य त्यो हो । हामी त्यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं । त्यस उद्देश्यका निम्ति हामीले एउटा वास्तवमै सशक्त आन्दोलन निर्माण गर्नुपर्नेछ । त्यो आन्दोलन निर्माण गर्न, सञ्चालन गर्न, त्यसलाई ठीक ढंगले अगाडि बढाउनका लागि हामीसँग एउटा सशक्त पार्टी चाहिन्छ । त्यो सशक्त पार्टी एकताबद्ध हुनुपर्दछ । अघि मैले भनेका सही विचारहरू मार्क्सवादी दर्शन, मार्क्सवादी, लेनिनवादी सिद्धान्त र हामीले लिएको हाम्रो गन्तव्य, गन्तव्यतर्फ अगाडि बढ्ने स्पष्ट मार्गचित्र, त्यसका निम्ति मार्गचित्र, कार्यक्रम, योजना, नीतिका साथ हामी अगाडि बढ्छौं । त्यस्तो गर्नका लागि राष्ट्रिय आन्दोलन चलाउन सशक्त, मजबुत, एकताबद्ध र गतिशील पार्टी चाहिन्छ ।

हामी त्यस्तो पार्टी निर्माणको नयाँ चरणमा फेरि प्रवेश गरेका छौं । कमरेडहरूलाई लाग्ला केही साथी त आएनन्, यस्तो हुन्छ । आन्दोलनमा यस्तो हुँदो रहेछ । भरसक सबै साथीलाई लिएर अघि बढ्न खोजेकै हो । प्रमुख नेतालाई, प्रधानमन्त्रीलाई वामपन्थी देख्न नसक्ने उहाँहरूको राजनीतिक, वर्गीय दृष्टिकोण छैन । आन्दोलनको दृष्टिकोण पनि छैन । आफ्नो पद, आफ्नो लाभ, आफ्नो हित मात्रै छ । अघिल्लोपल्ट मैले नेतृत्व गरेको सरकार ढलाउनुपर्ने कारण के ? उहाँहरूसँग कुनै पनि जवाफ छ ? उहाँहरू अहिले आएर भन्नुहुन्छ– अघिल्लो सरकार लोकप्रिय थियो । लोकप्रिय थियो भने ढालेको किन त ? उहाँहरू नै हो ढाल्ने । अलि पछि भन्नुहुन्छ, अहिलेको सरकार त लोकप्रिय थियो !

तपाईंहरूलाई चिन्ता लाग्न सक्छ । चिन्ता नलिन आग्रह गर्दछु । पुराना पातहरू झर्ने र नयाँ पात पलाउने यो क्रम भइरहन्छ । हामीले नचाहँदा पनि हुन्छ । अहिले पार्टी चल्न सक्ने अवस्थामा थिएन । हामीले चाहेर के गर्नु ? उहाँहरूलाई हामीले चाहिरहेका छौं । उहाँहरूलाई निष्कासन गर्न हामीले खोजिरहेका छैनौं । उहाँहरूले यति उपद्रव, अन्तरघात गरिरहनुभएको छ । वामपन्थी र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टीभित्रै विग्रहको यस्तो क्षति गरिरहनुभएको छ । तर हामीले कसैलाई निकालिरहेका छैनौं । आफैं उहाँहरू किनारा लाग्दै हुनुहुन्छ । केही–केही चीज नदीमा पर्‍यो भने बग्दैबग्दै किनारा लाग्छ । नदीको किनारामा फोहोरहरू धकेलिएको देख्नुभएकै होला । नदी बग्ने क्रममा फोहोरहरू किनारामा छाड्दै जान्छ, अनि सफा गर्दै जान्छ । भन्न त नमिल्ने, नहुने हो– पिलो निचोर्दैमा तौल कम हुँदैन भन्ने जीवन शर्माको गीत छ, त्यस्तै हो । साँच्चै पिलोको खिल निकाल्दैमा वजन कम हुँदैन ।

तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ– एकता गरेपछि कमिटीहरूले काम गर्न पाए ? तपार्इंहरूले काम गर्न पाउनुभयो ? विभिन्न बहानामा तपाईंहरूलाई खुट्टी लगाउने काम भयो । गाई–भैंसीलाई बाँधेजस्तो भयो । काम गर्न नपाउने, जनताको बीचमा स्पष्ट राजनीतिक र गतिशील भएर जान नपाउने । संगठन एक ढिक्का भएर बढ्न नपाउने । हामीले तीन महिनाभित्र एकीकरण टुंग्याउने भनेका थियौं । तीन महिना कहिले आउँछ ? दुई वर्षभित्र महाधिवेशन गर्ने भनिएको थियो । गएको जेठ ३ भन्दा उतै महाधिवेशन सम्पन्न भइसक्नुपर्थ्यो । तर, महाधिवेशन गर्ने कुनै सोच छैन । कुनै चिन्ता छैन । कुनै तयारी छैन । भुइँचालो जाँदा कार्यकर्तालाई अरूको एक कप चिया पनि नखाई २७ हजार २ सय ७६ अस्थायी टहरा निर्माण गरेर जनतालाई हस्तान्तरण गर्‍यौं । १३ हजार विद्यालय निर्माण गरेर हस्तान्तरण गर्‍यौं । २२ हजार भग्नावशेष सफा गर्‍यौं । अहिले यत्रो कोरोनाको बिगबिगी छ । पार्टी केही गर्न सक्ने अवस्थामा रहेन । विरोध मात्रै गर्न सक्ने । विभिन्न प्रचारबाजीमा उत्रिने । टेलिभिजन, पत्रपत्रिका, रेडियोमा अन्तर्वार्तामा गयो, सरकारलाई गाली गर्‍यो । यसैमा समय खर्च गर्‍यो ।

हामीले यसको जवाफ पनि दिएनौं किनभने हामी अनुशासित छौं । उहाँहरू महाअभियोग लगाउने, अविश्वासको प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष र नेता निकाल्ने यो बाटोतिर खेती गर्न थाल्नुभयो । पार्टी एकीकरणको बाटोमा अघि बढ्ने होइन, बरु उहाँहरू भत्काउनेतिर लाग्नुभयो । कसैलाई निष्कासन गर्ने ? कसैलाई कारबाही गर्ने ? कुदेर राष्ट्रपति र सभामुखकहाँ पुग्नुभयो । त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिनामा महाधिवेशन गर्ने विचार गरेका छौं । हामी चुनावमा पनि जानुछ । चुनावपछि अलि काम व्यवस्थित गर्नुछ । कमिटी, विभागलाई व्यवस्थित गर्नुछ । मातहतको कमिटीलाई पुनर्गठन गर्नुछ । यी सबै काम गरेर चुनावको तयारीमा लाग्छौं । चुनावमा ५० लाख लोकप्रिय भोट ल्याउनु छ । यो समानुपातिकमा गन्ती हुन्छ ।

हामीले दुई पार्टी मिलेर ११६ सिटमा जितेका थियौं । अब ४ सिट थपेर १ सय २० बनाउनुपर्नेछ । हामी सही विचार, सही उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं । हाम्रो एकताको बल, एकताबद्ध सक्रियताको ताकत देखाउँछौं । व्यापक पार्टी परिचालन गरेर ताकत देखाउँछौं । हामी जनपरिचालनको तागत देखाउँछौं । देशभक्ति, राष्ट्रवाद र राष्ट्रिय स्वाभिमानको तागत देखाउँछौं । हामी राजनीतिमा इमानदारिताको तागत देखाउँछौं । मनमा देशभक्ति नभएका, लोकतान्त्रिक चिन्तन र चरित्र नभएका, देश र जनताका बारेमा नसोच्ने, आफू, आफ्नो परिवार खासगरी तीन ‘प’ पैसा, परिवार र पदमात्रै सोच्नेहरूको हातमा देश सुम्पिन सकिँदैन । त्यसकारण हामी संसद् विघटनमा जानुपर्‍यो ।

(प्रधानमन्त्री ओलीद्वारा आफू समर्थित केन्द्रीय समितिको बैठकमा व्यक्त विचारको सम्पादित अंश)

प्रकाशित : पुस ८, २०७७ ०७:५७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार