Saturday, April 27, 2024

रेसिङमा डर्ट टेम्पल

आश्विन १२, २०८०

काभ्रेको धुलिखेलमा ३८ रोपनी जग्गामा २०२१ को अक्टोबरमा दुई युवाले सुरु गरेको बाइक रेसिङ ट्र्याक डर्ट टेम्पल पछिल्लो समय युवाहरूको आकर्षणको केन्द्र बनेको छ । बाइक रेसिङमा इच्छा राख्नेका लागि बाइक कुदाउन उपयुक्त स्थान छैन । यही कुरालाई मध्यनजर गर्दै बाइक रेसिङमा भविष्य खोज्दै दुई युवाले धुलिखेल नगरपालिका–७ स्थित बेइजिङ प्लान्टमा डर्ट टेम्पललाई स्थापित गरे ।

इजबलाई सानै उमेरदेखि नै उनमा बाइक कुदाउने इच्छा थियो । बाइक कुदाउन सुरु गर्दा उनको उमेर १३ वर्षको मात्रै थियो । काठमाडौं तारागाउँको चउरमा पहिलो पटक एस जेड यमाहा चलाएको त्यो दिन, उनलाई संसार नै जितेसरह भएको स्मरण गर्छन् । आफ्नो इच्छा पूरा भएर पनि होला, त्यो दिन आफू धेरै खुसी भएको उनले बताए । उनका अनुसार परिवारले पनि नयाँ कुरा सिक्नका लागि हौसला प्रदान गर्ने भएकाले बाइक सिक्न पनि साथ दिए । उनी बिस्तारै बाइक चलाउन जान्ने भए ।

बाइक चलाउने इच्छा त उनको पूरा भयो । तर बाइक रेसिङप्रतिको उनको इच्छा भने पूरा भएको थिएन । काठमाडौंमा एसएलसी सकेर थप पढाइका लागि उनी विदेशिए । केन्यामा हाइस्कुल र बार्सिलोनामा स्नातकसम्मको पढाइ हासिल गरे । विदेशमा रहँदा पनि नेपालमा बाइक रेसिङ ट्र्याक खोल्ने योजना बनाइरहेका थिए ।

आफू विदेशमा हुँदा पनि साथी बिदुरसँग बाइक रेसिङ ट्र्याक खोल्ने, फार्मिङका बारेमा कुरा हुने गरेको उनले बताए । यता नेपालमै रहेका बिदुर थापा भने बाइक रेसिङबारेमा अध्ययन तथा अभ्यास गरिरहन्थे । उनलाई पनि बाइक कुदाउन सानै उमेरदेखि रहर थियो । तर, बाइक सिक्नका लागि त्यो समयमा परिवारबाट साथ नपाएको उनले बताए । ‘पढाइ नै पहिलो प्राथमिकता थियो, त्यो बेलामा,’ उनले भने, ‘एसएलसी सकिएपछि मात्रै बाइक पाए, पछि परिवारलाई यो खेलका बारेमा बुझाउँदै गएपछि अहिले उहाँहरूले पनि साथ दिनुभएको छ ।’

३८ रोपनी जग्गा ५ वर्षका लागि भाडामा लिई २०२१ अक्टोबर ४ बाट उनीहरूले डर्ट टेम्पलको संरचना निर्माणको प्रक्रिया अघि बढाए । ‘डर्ट भनेको रेसिङ बाइकको ब्रान्ड हो, टेम्पल (मन्दिर) जहाँ जाँदा जो कोही शान्त महसुस हुन्छ, त्यसैले ‘डर्ट टेम्पल’ बाइक राइडरलाई बाइक रेसिङ गरेर मनलाई शान्त पर्ने स्थल हो,’ इजबले भने । सुरुआतमा यति ठूला स्केलमा काम गर्ने सोच नबनाइएको उनको भनाइ छ ।

‘दुई/चार वटा बाइक कुदाउने, फार्म खोल्ने, कुकुर पाल्ने मात्र सोच बनाएका थियौं, पछि काम गर्दै जाँदा सोच फराकिलो हुँदै गयो, अरू बाइक राइडरका लागि पनि हुने गरी सञ्चालन गर्नुपर्छ भनेर नयाँ तरिकाबाट बाइक रेसिङ ट्र्याक डर्ट टेम्पल सञ्चालनमा ल्यायौं,’ उनले भने ।

बाइक राइडरका लागि बाइक रेसिङ गर्ने उपयुक्त स्थान नभएकै कारण सबैका लागि स्थान दिन डर्ट टेम्पलको सुरुआत गरियो । नेपालमा नै पहिलो पटक आफूले बाइक रेसिङ स्पट स्थापना गरिएकाले यसबारे आफूहरूले धेरै अध्ययन गर्न नपाएको उनी बताउँछन् । सबै काम आफूले नै गर्दै, सिक्दै जानिएको उनले बताए । केही कुरा अनलाइनमार्फत अध्ययन गरिएको उनले बताए । ‘यसमा धेरै जोखिम छ । निकै सावधानी पुर्‍याएर मात्रै बाइक कुदाउनुपर्छ । त्यसकारण पनि रेसिङमा जानुभन्दा पहिले तालिम लिनुपर्ने हुन्छ,’ उनले भने ।

इजबका अनुसार रेसिङमा सहभागी हुन नासा (नेसनल अटो मोबाइल एसोसिएसन) बाट लाइसेन्स लिएको हुनुपर्छ । डर्ट टेम्पलमा राइडरलाई बाइक रेसिङबारे तालिम प्रदान गर्नुका साथै रेसिङ इभेन्टमा पनि सहभागी गराइन्छ । यो खेल निकै महँगो भएकाले कोही चाहेर पनि सिक्न नसकेको उनले बताए ।

‘बाइक त्यस्तै महँगो छ, रेसिङ गर्दा लगाउने कपडा, जुत्ता, सेफ्टीका लागि लगाउने हेल्मेट सबै महँगो छ,’ उनले भने, ‘यहाँ सिक्नका लागि प्रतिदिन प्रतिव्यक्ति २५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ, यो निकै महँगो हो, नयाँ सिक्नेहरूले त १०/१२ दिन पूरै सिक्नुपर्छ, महँगो भएकाले पनि यहाँ सिक्न आउनेहरूको संख्या कम छ ।’ उनका अनुसार यहाँ सिक्न आउनेले बाइक भने आफैंले ल्याउनुपर्छ ।

बाइक रेसिङमा महिला र पुरुष दुवैको उत्तिकै रुचि हुने गरेको उनले बताए । उनका अनुसार, डर्ट टेम्पलबाट हालसम्म ३० जना पुरुष र ५ जना महिला राइडरहरू उत्पादन भएका छन् । जसले विभिन्न देशमा गएर रेसिङमा सहभागी भइसकेका छन् । डर्ट टेम्पलले नै हालसम्म ५ इभेन्ट सञ्चालन गरिसकेको छ । उनका अनुसार ४ वटा स्पोन्सर बिनाको इन्टर्नल इभेन्ट र एउटा अफिसियल इभेन्ट गरिएको छ । उनका अनुसार रेसिङ सिक्नका लागि तथा इभेन्टमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीबाट पनि सहभागी हुन्छन् ।

हालसम्मका इभेन्टमा नेपालीले मात्रै सहभागिता जनाएका र अब आउने इभेन्टमा भारतका राइडरलाई पनि सहभागी गराउने योजना रहेको उनले बताए ।

अहिले प्रारम्भिक चरण भएकाले लगानी मात्रै भइरहेको उनले जनाए । डर्ट टेम्पलमा हालसम्म उनीहरूले ७० लाख रुपैयाँ लगानी गरिसकेका छन् । लगानी गरेअनुसारको आम्दानी नभएको इजबको भनाइ छ । ‘हामी अहिले सुरुआती चरणमा नै छौं । यसबाट आम्दानी निकाल्न अझै ५/६ वर्ष लाग्छ,’ उनले भने ।

वास्तवमा नेपालमा यो खेलबारे राम्रो प्रचार नभएको उनले बताए । युवाहरूले इजबलाई ‘मिस्टर ब्राउन’ र बिदुरलाई ‘फ्लाई बी’ नाम दिएका छन् । उनीहरू युट्युब र भ्लगमा चर्चित छन् । उनीहरूले अब यसलाई बाइक राइडिङ र रेसिङका लागि एकेडेमी हबका रूपमा चिनाउने योजना बनाएका छन् । यसका साथै उनीहरूले पोखरामा पनि यसको शाखा सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

प्रकाशित : आश्विन १२, २०८० ०८:५५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार