Thursday, April 25, 2024

बुधबार रातिदेखि बेलायतबाट आउने उडान र यात्रुलाई नेपालमा प्रतिबन्ध

पुस ७, २०७७

काठमाडौं — बेलायतमा कोराना स्वरुप फेरिएको भाइरस संक्रमण तीव्र भएसँगै नेपालले बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाएको छ । यसअघि भारत, हङकङ र स्पेनसहितका ४० भन्दा धेरै देशले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन् ।

अध्यागमन विभागका अनुसार गत मंगलबारयताको ६ दिनमा मात्रै बेलायतबाट एक सय २ यात्रु नेपाल प्रवेश गरेको देखिन्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार, बेलायतबाट कुनै पनि वायुसेवाले बुधबार राति ११ बजेर ५९ मिनेटपछि यात्रु ल्याउन पाउने छैन । त्यसैगरी बेलायतमा ट्रान्जिट बनाएर नेपाल आउन पनि पाइने छैन । तर, नेपालबाट कुनै पनि वायुसेवा चढेर बेलायत जान रोक लगाइको छैन । त्यस्तै बेलायतबाट हुन सक्ने मेडिकल लगायतका कार्गो उडानलाई पनि रोक लगाइएको छैन । प्राधिकरणले अर्को निर्णय नहुन्जेलसम्मका लागि बेलायतबाट हुने यात्रु उडान आगमनमा प्रतिवन्ध लगाएको हो ।

नेपाल–बेलायत सिधा उडान छैन नभएपनि उक्त मुलुकका लागि नेपालमा युरोपको टर्किस एयर, कतार एयर, एयर अरेबिया आबुधाबी लगायतबाट यात्रुहरु आउजाउ गर्छन् । प्राधिकरणले मंगलबार नेपालमा अन्तर्राष्ट्रिय उडान गर्नेमध्येका २७ वटा वायुसेवालाई पत्र लेखेर बेलायतबाट यात्रु ल्याउन नपाइने भन्दै प्रतिबन्ध गरिएको सूचना पठाएको छ ।

त्यसो त बेलायतसँग जोडिएका युरोपेली युनियनका देशहरुले आइतबारदेखि नै पनि फरक-फरक शैलीको प्रतिबन्ध लगाइरहेका छन् । संक्रमण फैलिने डरले फ्रान्सले बेलायतबाट फ्रान्स छिर्ने मुख्य नाकाहरुमा सोमबारबाटै प्रतिबन्ध लगाइसकेको छ । बेल्जीयम, क्यानडा, जर्मनी, आयरल्याण्ड, पोर्चुगल, ईटाली, रोमानिया, रसिया र स्वीजरल्याण्डले पनि बेलायतबाट यात्रुहरु आउनमा प्रतिबन्ध लगाएका छन् । ईरानले दुई साताका लागि बेलायतबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले बीबीसीसँग कुरा गर्दै नयाँ प्रकृतिको भाइरस कोरोना भाइरसभन्दा ७० प्रतिशत छिटो अरुमा सार्ने र परिस्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज राजभण्डारीले बेलायतमा परिवर्तित शैलीको कोरोना भाइरस देखिएको र त्यसको संक्रमण दर तीव्र रहेको बताए । उनले त्यस्तो भाइरसबाट संक्रमितहरुको फरक प्रकृतिको लक्षण देखिएको र जुनसुकै उमेर समूहमा पनि त्यसको संक्रमण देखिएको बताउँदै नेपालमा त्यस्तो संक्रमण फैलिए अवस्था जटिल हुने बताए ।

उनले भने, ‘त्यसै त हामीकहाँ संक्रमण दर घटाउनका निम्ति आवश्यक नियम नागरिकले पालना नगर्ने शैली छ । यस्तो अवस्थामा नयाँ शैलीको भाइरस आए हामीलाई नियन्त्रण गर्न गाह्रो पर्छ ।’ जनस्वास्थ्य वैज्ञानिक डाक्टर समिरमणि दीक्षितले भाइरसले स्वरुप बदलेपछिको असर त्यसबाट स्वास्थ्यमा कति क्षति पुग्छ भन्नेबारे अनुमान र अड्कलहरु भए पनि पर्याप्त प्रमाणहरु संकलन भइनसकेको अवस्था रहेको बताए । उनले भाइरस तीव्र गतिमा सर्ने भएकाले पूर्व तयारीहरु बलियो बनाउनु नै उत्तम विकल्प भएको बताए । उनले भने, ‘यसको असर कति गम्भीर हुन्छ भनेर थाह नभइसकेकाले पनि हामीले पूर्वतयारीहरु भने गरेकै राम्रो हो ।’

प्रकाशित : पुस ७, २०७७ २०:२६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार