Saturday, April 27, 2024

४० वर्षपछि खुला आकाश

कोलकाताको दमदम जेल परिसरमा दुर्गाप्रसाद र भाइ प्रकाशचन्द्र । तस्विर: पर्वत/कान्तिपुरचैत्र ८, २०७७पर्वत पोर्तेल

दमदम, कोलकाता — केहीबेर आकाशतिर हेरे । उनकै पर्खाइमा गुजुम्म भएर बसेका सञ्चारकर्मीलाई नियाले । प्रहरीको आड लिएर शनिबार स्थानीय समयानुसार मध्याह्न साढे १२ बजेतिर कोलकातास्थित दमदम सेन्ट्रल जेलबाट बाहिर निस्किँदा दुर्गाप्रसाद तिम्सिनाको मुहारमा सामान्य भावभंगिमा मात्रै झल्किन्थ्यो । ४० वर्षसम्म जेल जीवन बिताएर बाहिरी संसार टेकेका उनले दबिएको स्वरमा भने, ‘म निर्दोष थिएँ तर यतिका वर्ष जेलमा बिताउनुपर्‍यो ।’

शारीरिक र मानसिक रूपमा कमजोर देखिएका दुर्गाप्रसादले आफू निर्दोष भएको कुरा पटक–पटक सुनाए । मलिन स्वरमा गीत गाउन पनि भ्याए– रेशम फिरिरी…। धूमिल सम्झनामा रहेको युवावस्थासम्म पनि फर्किए । दार्जिलिङ पुगेको, चिया बगानमा काम गरेको उनलाई अझै सम्झना रहेछ । आफूलाई जेलमा प्रहरीले कुटपिट गरेको र चरम यातना दिएकोसम्म सुनाए । आफ्ना कुरा सुन्ने मान्छे पाएपछि दुर्गाप्रसादको मुहारको कान्ति केही उज्यालो देखियो । ‘प्रहरीले जेलभित्र दिएको यातनाको चोट पनि दाइले देखाउनुभयो,’ शुक्रबार दाइसँग भेटेर केहीबेर भलाकुसारी गर्न पाएका भाइ (काकाका छोरा) प्रकाशचन्द्रले भने, ‘करेन्ट लगाएर यातना दिएका कारण मानसिक अवस्था थोरै बिग्रिएको जस्तो लागेको छ ।’ भाइ बोल्न थालेपछि दुर्गाप्रसाद रोकिए । जेल परिसरमा उपस्थित भारतीय सञ्चारकर्मीका अघि प्रकाशचन्द्रले भने, ‘दाइलाई भारत सरकारले अन्याय गरेको छ ।’ अदालतले दिमागी हालत बिग्रिएको आधार बनाएर क्षतिपूर्तिबाट वञ्चित गराउने सम्भावना देखिएको उनले बताए । कुनै दोष नहुँदा पनि जीवनभर जेलमा सडाएर भारतले चरम मानव अधिकार उल्लंघन गरेको आरोप लगाउँदै उनले क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने उद्घोष गरे ।

‘दाजुको न्यायका लागि म जस्तोसुकै मूल्य चुकाउन तयार छु,’ उनले भने । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतीश थापा, विश्वास सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतलगायत दमदम सेन्ट्रल जेल पुगेका थिए । उनको स्वागतमा जेलबाहिर पश्चिम बंगाल रेडियो क्लब (ह्याम) का रेडियोकर्मी र मानव अधिकारकर्मीको पनि भीड थियो । जेलबाट बाहिर निस्कनेबित्तिकै रेडियोकर्मी सबोर्नी नाथ विश्वासले दुर्गाप्रसादको गलामा रजनीगन्ध फूलको माला पहिराइदिइन् । रिंकुनाथ विश्वासले रसगुल्ला (मिठाई) खुवाइन् । ‘रजनीगन्धको सेतो फूल अनि मिठाई खुसियालीमा सगुनका रूपमा खुवाउने बंगाली परम्परा छ,’ ह्यामकै अर्का रेडियोकर्मी अम्बारिस नाथले भने, ‘आज ठूलो खुसियालीको दिन हो ।’ त्यसअघि उनले जेलभित्रै पुगेर दुर्गाप्रसादलाई सेतो कमिज र कुर्था लगाइदिएका थिए ।

दुर्गाप्रसाद ४० वर्षदेखि जेलमा रहेको र उनीविरुद्धको मुद्दामाथि कुनै सुनुवाइ नभएको कुरा अम्बारिस नाथले नै पहिलोपटक सञ्चार माध्यममार्फत बाहिर ल्याएका थिए । दुर्गाप्रसादको कथा अम्बारिससम्म पुर्‍याएका थिए राधेश्याम दासले, जो दमदम जेलमा १० वर्षसम्म उनीसँगै थिए । राधेश्याम गत असोजमा छुटेका थिए । दुर्गाप्रसादको रिहाइको खबर सुनेपछि पश्चिम बंगाल राज्यको मेदनीपुर निवासी दासले आफू हर्षविभोर भएको प्रतिक्रिया दिए । ‘दुर्गाप्रसाद छुटेको खुसी मेरो जीवनकै सबैभन्दा ठूलो खुसीको क्षण हो,’ दासले कान्तिपुरसँग फोन भने ।

दुर्गाप्रसादलाई अँगालो हालेर जेल परिसरमै भक्कानिएका थिए अम्बारिस । उनले आमाका लागि भन्दै केही उपहार पनि दुर्गाप्रसादका हातमा राखिदिए । ‘दुर्गाप्रसादको रिहाइले औधी खुसी बनायो,’ उनले भने, ‘यो संसारकै अनौठो घटना थियो, एउटा मान्छे ४० वर्षदेखि जेलमा कोचिएर बस्नु सामान्य कुरा थिएन ।’

दुर्गाप्रसाद खरर नेपाली भाषा बोल्न सक्दैनन् । सोधेको प्रश्नको जवाफ पनि ढिलो गरी मात्रै फर्काउँछन् । यसअघि उनी नेपालीबाहेक अरू भाषा बोल्न जान्दैनथे । जेलमा हिन्दी र बंगला भाषा मात्रै बोल्ने कैदी थिए । त्यसकारण उनको भाषिक आदानप्रदान हुन पाएन । ‘यसैकारण उनले नेपाली भाषा नै बिर्सिन सक्ने अवस्था आइसकेको देखिन्छ,’ अम्बारिस भन्छन् ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र्र रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए । शुक्रबार भाइ प्रकाशचन्द्र अदालत पुगेर सबै कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार उनलाई छाडिएको हो । अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । क्षतिपूर्तिका सन्दर्भमा भने अदालत मौन छ । दुर्गाप्रसादका पक्षमा बहस गरेका वकिल हिरक सिन्हाका अनुसार हरेक ६/६ महिनामा उनको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । त्यसपछि महावाणिज्य दूतावासले अदालतलाई जानकारी गराउनेछ ।

अदालतले उनलाई घरसम्म पुर्‍याउन वाणिज्य दूतावासका नाममा आदेश दिएको थियो, जसअनुसार वाणिज्य दूतावासका सचिव सतीश थापा दुर्गाप्रसादका साथमा नेपाल जानेछन् । ‘वाणिज्यदूतले बसको टिकट काटेर पठाइदिन्छौं भनेका थिए,’ प्रकाशचन्द्रले भने, ‘अदालतले नै घर पुर्‍याउन आदेश गरेका कारण वाणिज्य दूतावासका कर्मचारी हामीसँग जान लागेका हुन्, नत्र जाने थिएनन् ।’ प्रकाशचन्द्रले वाणिज्य दूतावासले आफूलाई सहयोग नगरेको गुनासो गरे । ‘एउटा नेपालीलाई समस्या पर्दा नेपाल सरकारको प्रतिनिधि कार्यालयबाट सहयोग मिल्छ भन्ने अनुमान थियो,’ उनले थपे, ‘तर सोचेजस्तो केही भएन, उहाँहरूको व्यवहारले दुःखी तुल्यायो ।’

दुर्गाप्रसादलाई विश्व सेवा विस्तार संस्थाको पहलमा इलामस्थित घर पुर्‍याइनेछ । त्यसअघि झापामा पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी गराइने विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बताए । ‘उहाँलाई इलामस्थित घरमा आमाको जिम्मा लगाएर मात्रै फर्किन्छौं,’ उनले भने । २०३७ मा दुर्गाप्रसाद कामको खोजीमा दार्जिलिङ पुगेका थिए । त्यही रहँदा पश्चिम बंगाल सरकारले उनलाई सन् १९८१ मा हत्या अभियोगमा जेल पठायो ।

दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनका क्रममा उनी बसेको जेलमा आगजनी गरिएपछि उनका सबै कागजात पनि जलेर नष्ट भए । प्रहरीको यातनाका कारण उनको शारीरिक र मानसिक अवस्था पनि बिस्तारै खस्किँदै गयो । त्यसपछि उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाताको दमदम सेन्ट्रल जेल सरुवा गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार