Friday, April 26, 2024

सरकारविरुद्ध किन उत्रियो कांग्रेस ?

शालीन प्रतिपक्षको भूमिकालाई कमजोरी ठानियो : देउवा

मंसिर २९, २०७७ कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले सडकबाट सरकारको अलोकप्रियता देखाउन सोमबारको देशव्यापी विरोधलाई शक्ति प्रदर्शनका रूपमा लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसका सदस्य, समर्थक, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई सडकमा आउन अपिल गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय तहका सबैजसो नेताहरूले सामाजिक सञ्जालमार्फत र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देश जारी गरेरै आमनागरिकलाई सडकमा बोलाएका छन् । पदाधिकारी र पूर्वपदाधिकारीहरू सभालाई सम्बोधन गर्न जिल्ला-जिल्ला खटिएका छन् । अन्य केन्द्रीय सदस्यहरू पनि आइतबारबाटै जिल्ला सदरमुकाममा पुगेका छन् ।

नेताहरूले केपी ओली नेतृत्वको सरकारको अलोकप्रियता जाँच्नका लागि पनि कांग्रेसले व्यापक जनसहभागिता देखाएर शक्ति प्रदर्शन गर्न चाहेको बताए । कांग्रेसलाई यो अवस्थामा ल्याइपुर्‍याउन भने मंसिर १७ गते तनहुँमा भएको घटना मुख्य कारण बनेको छ । पुल उद्घाटनका लागि दमौली पुगेका वरिष्ठ नेता पौडेललाई स्थानीय प्रशासनले लछारपछार गर्दै गिरफ्तार गरेपछि कांग्रेस एकाएक ब्युँझिएको थियो । त्यसपछि नै पार्टीका पदाधिकारी बसेर मंसिर २९ गते देशव्यापी विरोधको कार्यक्रम तय गरेका हुन् ।

सरकारविरुद्ध मात्रै लक्षित गरेर कांग्रेस सडकमा आएको भने यो नै पहिलो पटक हो । यसअघि दुई पटकसम्म सडकमा उत्रिए पनि ती पार्टीको संगठन सुधारसँग बढी केन्द्रित थिए । कोरोना महामारी सुरु हुनुअघि पार्टीको जागरण अभियानक्रममा कांग्रेसले प्रदर्शन गरेको थियो । तनहुँमा भएको घटनासँगै राजावादीहरूले परिवर्तन उल्टाउन सडकमा प्रदर्शन गर्न थालेपछि प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस सडकमा आउन बाध्य भएको हो । विश्लेषक पुरञ्जन आचार्य सभापति देउवाको चाहनाभन्दा पनि बाध्यताले कांग्रेसलाई सडकमा ल्याइपुर्‍याएको बताउँछन् । उनले पौडेलमाथि भएको दमन, सडकमा राजावादीहरूको प्रदर्शन र आसन्न पार्टी महाधिवेशनले पनि नेतृत्वलाई सडकमा ल्याएको बताए ।

प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा नबोली निस्कनु, संवैधानिक निकायमा भागबन्डा खोज्नु, संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब नदिनु, सोमबारको विरोध प्रदर्शनपछि के गर्ने भन्ने प्रस्ट नगराउनुले नेतृत्वको भूमिकामाथि अझै शंका रहेको उनको ठम्याइ छ । ‘एक दिन सडक प्रदर्शन गरेपछि थप के गर्ने भन्ने योजना र कार्यक्रम कांग्रेससँग छैन, सभापति देउवाको चरित्र नै सत्ताको अंशियारको जस्तो छ । त्यसैले उनको इतिहास पनि ओझेलमा पर्दै आएको छ । अहिले चाहनाले भन्दा पनि बाध्यताले उनी डोरिएका हुन्, न्यूनतम इज्जत जोगाउन सडकमा आएका हुन्,’ आचार्यले भने, ‘सरकारका बेथितिविरुद्ध पार्टीलाई थप आन्दोलनमा लैजाने कुनै तयारी छैन । संसद् बोलाउने बाटो पनि उनले लिन नचाहेको देखिन्छ, यसले भोलिका दिनमा के हुन्छ भन्न सकिने स्थिति छैन ।’

अर्का विश्लेषक गेजा शर्मा वाग्ले भने सरकारविरुद्ध लक्षित प्रदर्शनले सरकार र प्रतिपक्षबीचको दूरी बढ्ने बताउँछन् । सरकारविरुद्ध पार्टीको ठूलो पंक्ति सडकमा आइसकेपछि नेतृत्वसमेत दबाबमा पर्ने उनको भनाइ छ ।

‘यो विरोधको ठूलो अर्थ छ । प्रतिपक्ष भए पनि कांग्रेसलाई सत्ताको सहयात्री र साझेदार भएजस्तो देखिएको थियो । तनहुँ घटनालगायत सरकारी दमन, अधिनायकवादी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध कांग्रेसले सडकमा जाने जुन निर्णय लियो, यसले कार्यकर्तामा सकारात्मक र मनोवैज्ञानिक छाप पारेको छ । सरकारसँगको प्रतिपक्षको दूरी पनि अब बढ्छ,’ उनले भने, ‘विगतको सम्झौतावादी प्रवृत्तिबाट संघर्षमुखी बाटो लिने नेतृत्व पनि बाध्य हुनेछ ।’

नेकपाभित्रै सरकारविरुद्ध कडा विरोध भइराख्दासमेत प्रमुख प्रतिपक्ष चुप लागेर बसेको थियो । संवैधानिक निकायको भागबन्डा र नेकपाभित्र सम्भावित दुर्घटना भएमा हुन सक्ने समीकरणलाई लिएर नेतृत्व मौन बस्दै आएको आरोप पार्टीभित्रै चर्को थियो । सरकारका एकपछि अर्को काण्डमा समेत कांग्रेस सामान्य सार्वजनिक खपतका लागि निकाल्ने विज्ञप्तिमा सीमित थियो । सरकारका अनियमितता, कुशासन र बेथितिविरुद्ध सडकमा आउन यसअघि कोराना महामारीलाई उसले कारण ठान्दै आएको थियो । जनताको वितृष्णालाई ‘क्यास’ गर्दै कोरोना महामारीबीच राजवादीहरू सडकमा उत्रिएकै बेला तनहुँमा घटना भएपछि कांग्रेस सडकमा आउन बाध्य बनेको हो ।

वरिष्ठ नेता पौडेलले केही दिनअघि सडकमा राजावादीको प्रदर्शन बढ्नुमा कांग्रेस सशक्त नभएको परिणाम भनेर प्रतिक्रिया दिएका थिए । प्रतिपक्षको धार कमजोर बनाएर राष्ट्रिय राजनीतिमै कांग्रेसको भूमिकालाई खुम्च्याउने काम भएको आरोप पनि देउवामाथि पार्टीभित्रैबाट लाग्दै आएको छ । प्रधानमन्त्री ओलीको सर्वसत्तावादी कदम, अनियमितता, भ्रष्टाचार, कुशासन र दमनविरुद्ध थप सशक्त विरोधमा उत्रनुपर्ने माग पौडेलको छ ।

देउवाले आइतबार जारी गरेको विज्ञप्तिमा भने सडक आन्दोलनका थप कार्यक्रम गर्ने संकेत गरेका छैनन् । उनले ‘भोलि (सोमबार) को सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसद्मा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ,’ भनी उल्लेख गरेका छन् । नेता–कार्यकर्ताको दबाब र पार्टीको आसन्न महाधिवेशनका कारण पनि देउवालाई सडकमा जान दबाब बढेको देउवापक्षीय एक नेताले बताए । ‘कांग्रेसको ठूलो पंक्तिमा सरकारविरुद्ध आन्दोलनमा जानुपर्छ भन्ने भावना जागृत छ । भागबन्डा खोजेर सरकारसँग मिलेको भनेर बारम्बार आइरहेका आरोप पखाल्न पनि सभापतिजीले अब सरकारसँग धेरै निकट सम्बन्ध बढाउन हुन्न भन्ने हाम्रो पनि भावना हो,’ ती नेताले भने, ‘पार्टी महाधिवेशनको मुखमा त झनै विचार पुर्‍याउनुपर्ने अवस्था छ ।’

यसैबीच, सभापति देउवाले शालीन प्रतिपक्षको भूमिकालाई सरकारले कमजोरीका रूपमा लिएको बताएका छन् । ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । यो मूलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’

देउवाले विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन अपिल गर्दै सहभागीलाई भौतिक दूरी कायम गरी मास्क प्रयोग गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित : मंसिर २९, २०७७ ०८:२९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार