Friday, March 29, 2024

प्रधानमन्त्रीकै ‘छोरी’ लाई पढ्न हम्मे

ठिल्लेसाङमुको अभिभावकत्व ग्रहण गर्दै पठनपाठनको जिम्मा लिए पनि प्रधानमन्त्रीले चासो नदिएको परिवारको गुनासो छ । भन्छन्, ‘प्रधानमन्त्रीले हाम्रो व्यथा बुझेनन्, उनका सबै वचन भाषणमै सीमित भए ।’

मंसिर २६, २०७७ राजबहादुर शाही

मुगु — ठिल्लेसाङमु लामा अहिले १० वर्षकी भइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा उनी ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । मुगुम कार्मारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो अवधिमा प्रधानमन्त्रीको चेली भन्न मिल्नेगरी केही परिवर्तन देखिँदैन । उनको न त व्यक्तिगत लवाइखवाइमा फरकपन आएको छ, न त पारिवारिक नै ।

मुगुको बुद्ध माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी ठिल्लेसाङमु लामा । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

कर्णाली पर्यटन महोत्सव उद्घाटनको अवसरमा २०७५ वैशाख १ मा रारा पुगेका प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुको अभिभावकत्व लिँदै विद्यालय भर्ना गराउँदा आमा छिजु तामाङलाई अब छोरीको भविष्य बन्ने भयो भन्ने लागेको थियो । प्रधानमन्त्रीले छोरीलाई कम्तीमा माध्यमिक तहसम्म पढाउन सहयोग गर्लान् भन्ने उनमा अपेक्षा थियो । ‘एकपल्ट आएर भर्ना गराइदिनुभयो,’ उनले भनिन्, ‘त्यसपछि कुनै चासो दिनुभएको छैन ।’ उनका अनुसार प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुलाई काखमा लिँदै माध्यमिक तहसम्म पठनपाठनको सबै खर्च आफूले बेहोर्ने वचन दिएका थिए । त्यसपछि ओलीले छोरीको अवस्थाबारे कुनै माध्यमबाट चासो नलिएको उनले गुनासो गरिन् ।

‘अहिले त पढाउन पनि हम्मे परिरहेको छ,’ छिजुले दुखेसो पोखिन्, ‘छोरीलाई सबैले गाउँमा प्रधानमन्त्रीकी चेली भनेर चिन्छन्, तर प्रधानमन्त्रीले हाम्रो व्यथा बुझेनन्, उनका सबै कुरा र वचन भाषणमै सीमित भए ।’

ठिल्लेसाङमु अहिले बुद्ध माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । प्रधानमन्त्रीले भर्ना गरिदिएपछि उनी पठनपाठनमा उत्साही भएको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए । ‘पढाइमा अब्बल छिन्,’ उनले भने, ‘तर घरको आर्थिक अवस्था कमजोर हुँदा कापी–कलम किन्न नै मुस्किल छ ।’ उपाध्यायका अनुसार ठिल्लेसाङमुले कक्षा १ मा ८५ प्रतिशत अंक ल्याएकी थिइन् । कक्षा २ मा ७० प्रतिशत ल्याएर उत्तीर्ण गरेकी थिइन् । उपाध्यायलाई लाग्छ, कतैबाट सहयोग पाए उनले सजिलै विद्यालय शिक्षा पार गर्नेछिन् ।

माग्री गाउँका अधिकांश बालबालिकामा गरिबी र घरधन्दा सानै उमेरमा सम्हाल्नुपर्दा बीचैमा पढाइ छोड्ने समस्या छ । प्रधानमन्त्रीको निजी सचिवालयबाट ठिल्लेसाङमुका लागि अहिलेसम्म २५ हजार रुपैयाँसहित झोला र कापी–कलम सहयोग आएको विद्यालयले जनाएको छ । ‘बालिकाको सम्पूर्ण पठनपाठनको जिम्मा प्रधानमन्त्रीले लिनुहुन्छ भन्ने लागेको थियो,’ प्रअ उपाध्यायले भने, ‘तर अहिलेसम्म भरपर्दो सहयोग आएको छैन ।’

चार वर्षअघि च्याउ टिप्न जाँदा ठिल्लेसाङमुका बुबा कार्माटोन्डुल लामाले भीरबाट लडेर ज्यान गुमाएका थिए । अहिले उनको पालनपोषण आमा छिजु र बाजे कार्माछिवाङले गरिरहेका छन् । तीन सातायता नातिनीलाई विद्यालय पठाउन थाले पनि कापी–कलम नभएको बाजे कार्माछिवाङले बताए । ‘प्रधानमन्त्रीले दिएको झोला र विद्यालय पोसाक फाटेको छ,’ उनले भने, ‘विद्यालयमा जति पढ्छिन्, पढ्छिन्, घरमा सिकाउने कोही छैन ।’ एकपटक प्रधानमन्त्रीलाई भेटेर आफ्नो पीरमर्का सुनाउने उनको धोको छ ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले अभिभावकत्व लिएकी माग्रीकै छिरिङछोजुङ लामाको अवस्था पनि उस्तै छ । प्रधानमन्त्रीको सचिवालयबाट सहयोग नपाउँदा उनलाई कापी–कलम किन्न र विद्यालय जान समस्या भएको अभिभावकले गुनासो गरेका छन् ।

प्रकाशित : मंसिर २६, २०७७ १२:३४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार