Friday, March 29, 2024

सिंह भन्छन्, ‘कांग्रेस इतिहासकै कमजोर भयो’

मंसिर २५, २०७७ कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले इतिहासमै पार्टी यति कमजोर कहिल्यै नभएको बताएका छन् । राष्ट्रिय राजनीतिमा कांग्रेसको सार्न्दभिकताबारे बहस हुने स्थानमा आईपुग्नु गम्भीर रहेको उनले बताए । उनले पार्टी कमजोर हुनुमा नेतृत्वको काम गर्ने शैली र भूमिका मुख्य जिम्मेवार रहेको दावी गरे । 

कांग्रेस नेता प्रकाशमान सिंह । फाइल तस्बिर ।

आफ्नै निवास चाक्सीबारीमा बुधबार कान्तिपुरसँग कुरा गर्दै सिंहले विधि, प्रकृया र पद्दति विपरित नेतृत्वले आफ्नो स्वार्थका लागि पार्टीलाई डोर्‍याउन खोज्दा कांग्रेस कमजोर बन्न पुगेको ठहर सुनाए ।

कांग्रेस यतिबेला संगठनात्मक, रणनीतिक र कार्यक्रमका दृष्टिले समेत रक्षात्मक बन्न पुगेको भन्दै उनले प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मा मान्ने पार्टीले आवधिक निर्वाचनका लागि दबाब दिइराख्नु पर्ने परिस्थिति दुःखदायी रहेको बताए ।

‘इतिहासमै पार्टी यस्तो हालतमा थिएन । नेतृत्व यस्तो थिएन । चार बर्षसम्म गर्नुपर्न काम नगरेर चुप लागेर बस्ने, महाधिवेशन घोषणा भएपछि गर्न नहुने काम गरेर पार्टीमा झगडा निम्ताउने, अनि आफूलाई पार्टीभित्रका विरोधीहरुले काम गर्न दिएन भनेर भन्ने ?’ सिंहले भने, ‘पार्टी विधान नेतृत्वले पालना नगरेपछि यो पार्टी कस्तो हालतमा पुग्ला ?’

विधानअनुसार ६ महिनाभित्र गर्नुपर्ने केन्द्रीय विभागको गठन, केन्द्रीय कार्यसमितिलगायत समितिहरुको पूर्णता, राज्य पुर्नसंरचनाको सिद्धान्तअनुसार पार्टीका संरचनाहरुको गठन र समायोजन, क्रियाशील सदस्यताको नवीकरण र वितरणको कार्य महाधिवेशनको मुखमा आएर गर्नु नै नेतृत्वको कमजोरी रहेको उनले बताए । कांग्रेसको अघिल्लो विधानमा विभाग र समितिहरु दुई महिनामा र नयाँ विधानले ६ महिनाभित्र पूर्ण गरिसक्नु पर्ने उल्लेख गरेको छ । क्रियाशील सदस्यताको नवीकरण र वितरण महाधिवेशन हुनुभन्दा ६ महिना अघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

‘पार्टी सभापतिलाई चार वर्षसम्म यी काम गर्न केले रोक्यो ? कुनै असामान्य स्थिति थियो ? कोरोना महामारी थियो ? सामान्य स्थितिमा केही काम नगर्ने, अनि असामान्य स्थिति आयो भनेर एक वर्षको म्याद थप्ने ? चार बर्षभित्र महाधिवेशन गर्न नसकेर एक वर्ष थप्दा पनि फेरि समय बढाउन खोज्ने ? विधानले तोकेका काम समय छँदा गर्नु पर्दैन ? पार्टी सभापतिले विधानको पालना गर्नु पर्दैन ?’ सिंहले भने, ‘पार्टीको विधान नेतृत्वले पालना नगरे कसले गर्ने हो ? कांग्रेस प्रजातान्त्रिक पार्टी हो भन्ने सबैलाई थाह छ । बीपी, गणेशमान, सुवर्ण शमसेरले बनाएको पार्टी हो । यो पार्टीमा मलाई जे मन लाग्यो त्यही गर्छु भन्ने छुट छैन ।’

नेतृत्वको चाहना नभएकाले नै आगामी फागुनमा महाधिवेशन नहुने स्थिति आउन लागेको सिंहको दावी छ । ‘थपिएको एक बर्षभित्र महाधिवेशन गर्छु भनेर त्यही किसिमले कार्यतालिका ल्याउने, अनि फेरि महाधिवेशन हुन सक्दैन, भदौमा गराउनु पर्छ भनेर भन्ने ? पार्टी नेतृत्वले पार्टीको विधान मान्ने कि आफ्नो अनुकूलको अवस्था खोज्दै संविधान हेर्ने ?’ उनले भने, ‘फागुन ७ मा महाधिवेशन गराउने–नगराउने बिषय पार्टी सभापतिको चाहनामा निर्भर छ । सभापतिले चाहे गर्न सकिन्छ । बाहाना त हजार निकाल्न सकिन्छ । काम गर्न चाहना नभएकालाई अहिले कोरोना बाहना भएको छ । कोरोना के कांग्रेसलाई मात्रै लागेको हो ? सबैलाई लागेको छ । अमेरिकामा लागेको थिएन ? अमेरिकामा राष्ट्रपतिको चुनाव भयो, छिमेक भारतमै चुनाव भयो । हामीचाहिँ पार्टीको महाधिवेशन गर्न बाहाना खोजिरहने ?’

फागुनमा महाधिवेशन गर्न नसके कांग्रेसले संवैधानिक सहारा लिनुपर्ने हुन्छ । पार्टी विधानअनुसार नियमित रुपमा चार बर्ष र कुनै असाधरण स्थिति परेमा पाँच वर्षसम्ममा महाधिवेशन गर्नुपर्ने हुन्छ । फागुनबाट वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल पाँच वर्ष पूरा हुन्छ । ५ वर्षभित्र महाधिवेशन गराउन नसक्ने अवस्थामा संविधानले व्यवस्था गरेको थप ६ महिनाको साहारा लिनुपर्ने हुन्छ । संविधान निर्माणका बखत त्यतिबेला कांग्रेसकै लागि यस्तो प्रावधान समावेश भएको सिंहले बताए ।

‘संविधान निर्माणका बेलामा पाँच वर्षभित्रै पार्टीको महाधिवेशन गराउनु पर्ने मस्यौदा थियो । ठीक त्यतिबेलै विधानअनुसार कांग्रेसले महाविधेन गराउनु पर्ने थयो । २०७२ भदौमा तत्कालीन सभापति सुशील कोइरालाको कार्यकाल पाँच वर्ष पुग्दै थियो । कांग्रेसकै नेतृत्वमा संविधान जारी गर्नुपर्ने अवस्था थियो । पार्टीको महाविधेशनभन्दा संविधान जारी गर्ने बिषय महत्वपूर्ण थियो । पाँच वर्षभित्र महाधिवेशन गर्न नसक्ने भएपछि के गर्ने ? त्यसपछि संविधानमै असाधरण स्थितिमा थप ६ महिना बढाउन सकिने प्रावधान राखिएको हो । अहिलेको नेतृत्वलाई त्यस्तो असाधरण स्थिति के पर्‍यो ? विधानले दिएको पाँच वर्षभित्र पनि महाधिवेशन गर्न नसकेर संविधानको सहारा लिनुपर्ने ?’ सिंहले भने, ‘पार्टी भनेको विधानले चल्नु पर्ने होइन ? संविधानले पार्टी चलाउने हो ?’

पार्टी सभापतिका आकांक्षीसमेत रहेका सिंहले आगामी महाधिवेशन निष्पक्ष हुनेमा पनि आशंका गरे । पार्टीको विधान र प्रकृयाविपरित क्रियाशील सदस्यता वितरण गरिएबाटै आशंका उब्जेको उनको भनाई छ ।

‘अन्य पार्टीबाट कांग्रेसमा आउने, कांग्रेसमा बिलय हुने पार्टी र तीनका कार्यकर्ताका लागि सदस्यता नदिने भन्ने कुरा होइन । दिनुपर्छ । कुन स्तरको नेता वा कार्यकर्ता हो ? त्यहीअनुसार केन्द्र, प्रदेश, क्षेत्र, पालिका र वडा तह अनुसार सदस्यता दिने विधानको व्यवस्था छ । पार्टीमा संघर्ष गर्दै आएका कार्यकर्तालाई सदस्यता दिँदा विधानअनुसार हुनुपर्छ भन्ने तर अन्य पार्टीबाट आएकाको हकमा एक जना नेता आएर जिल्लाको समीकरणलाई बदल्ने गरी ७/८ सय क्रियाशील सदस्यता बोकेर हिँड्ने ? विधि र प्रकृयाबाट गर्न पर्दैन ? हामी २७ जनाले हस्ताक्षर गरेर १६ बुँदामा उठाएको बिषय पनि विधान, पद्दति र प्रकृया नै हो । अरु केही मागेको होइन । विधि र नियमसम्मत काम होस् भनेर भनेको हो,’ उनले थपे, ‘विधानले जुन तहबाट समायोजन हुनुपर्छ भनेको छ, त्यसैअनुसार हुनुपर्छ । विधिसम्मत पार्टी चल्नुपर्छ ।’

प्रकाशित : मंसिर २५, २०७७ १४:०६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार