Monday, April 29, 2024

टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन र चक्रपथको दोस्रो चरणको विस्तारमा तीव्रता दिने

नेपालले एक जोडी गैंडा उपहार दिने

आश्विन ९, २०८०

काठमाडौँ — चीनले लिजी-नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भ्रमणका क्रममा चीन सरकारले जतिसक्दो छिटो पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङ सोमबार बेइजिङमा भेटवार्ता गर्दै ।

प्रधानमन्त्री दाहालकै भ्रमणका क्रममा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा दुई देशबीच रहेका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पनि पुन: खोल्ने समझदारी भएको जनाइएको छ ।

त्यस्तै लिजी-नेचुङ बन्दरगाह र झाङ्मु-खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ । २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका भोटेकोशीको बाढी, कोरोनाकालमा बेलाबेला खुल्ने, बन्द हुने भइरह्यो । उक्त अवधिमा सामान आयात भए पनि आउजाउ भने बन्द थियो ।

तीन साताअघि औपचारिक रूपमा नाका खुलेयता सोमबारसम्म चीनबाट ८ सय २० पर्यटक नेपाल घुम्न आएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले बताए । विशेषगरी तिब्बतको ल्हासा र सिगात्सेबाट नेपाल घुम्न आउनेको संख्या अधिक रहेको अध्यागमन कार्यालयले बताएको छ ।

त्यस्तै छेन्ताङ-किमाथांका र रिवु-ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ । यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल भएको छ । ‘दुवै पक्ष भूपरिवेष्ठितबाट नेपाललाई भूजडित देश बनाउनका लागि यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर भएका सहयोग लागू गर्न सहमत भएका छन्,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

त्यस्तै टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन पनि नेपाल र चीन सहमत भएका छन् । उक्त आयोजनाले नेपाल-चीन सम्पर्कमा नयाँ आयाम थप्ने पनि दुवै मुलुकले जनाएका छन् । त्यस्तै काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ ।

त्यस्तै जिलोङ/केरुङ-काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।

त्यस्तै नेपालले चीनलाई एक जोडी गैंडा दिने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ । नेपालले उपहारका रूपमा अमेरिका, भारत, बेलायत, जर्मनी र चीनलाई गैंडा दिँदै आएको छ ।

यस्तो छ संयुक्त वक्तव्य

प्रकाशित : आश्विन ९, २०८० ०८:०४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार