Monday, April 29, 2024

सचिव पाण्डेले सुरक्षाकर्मीमार्फत ८ महिनामै बैंकमा जम्मा गरेका थिए ७५ लाख

‘गृह सचिवको आदेशमा भने बमोजिमको रकम बैंक दाखिला गराएको हुँ’ : निजी सुरक्षाकर्मी

श्रावण ३२, २०८०

काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहको संलग्नतामा मुछिएर पुर्पक्ष थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले आफू गृह मन्त्रालयमा रहेकै बेला आफ्नो व्यक्तिगत सुरक्षाकर्मीमार्फत् झण्डै ८ महिनाको अवधीमा ७५ लाख रुपैंयाभन्दा बढी रकम बैंकमा दाखिला गरेको पाइएको छ ।

नक्कली शरणार्थी गिरोहमा जोडिएर गत वैशाख २० मा पक्राउ पर्दै गत असार १ काठमाडौं जिल्ला अदालतको आदेशपछि पुर्पक्ष थुनामा राखिएका प्रतिवादी पाण्डेसहितको कैफियत प्रतिवेदनमाथि बिहिबार (आज)देखि सुनुवाइ सुरु हुने क्रममा प्रस्तुत प्रतिवेदनमा बैंक दाखिला रकमको विवरण प्रस्तुत गरिएको छ ।

काठमाडौं जिल्ला अदालत(फाँट नम्बर २५)ले उच्च अदालत पाटनमा बुझाएको कैफियत प्रतिवेदनमा सचिव पाण्डे गृह मन्त्रालयमा बहाल रहेको (२०७८ साउन २७—२०७९ भदौ ३१) अवधिमा कर्मचारी संचय कोष, हिमालय बैंक, एभरेष्ट बैंकमा दाखिला भएको रकमको विवरण छ ।

तत्कालिन गृह सचिव पाण्डेको व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी बरिष्ठ नायक निरिक्षक(हाल सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय, नक्साल) धर्मराज शाहीले गरेको कागजअनुसार, सचिव पाण्डेले आफ्नै कार्यकक्षमा बोलाइ विभिन्न मितिमा रकम बैंक दाखिला गर्न पठाउने गरेका थिए ।

‘सचिव पाण्डेले गृह मन्त्रालयअन्तर्गत निज कार्यकक्षमा भेटी नगद रुपैंया दिई पठाउने भएकाले उक्त रकम के, कहाँबाट, कसरी प्राप्त भयो भन्ने सम्बन्धमा मलाई कुनै जानकारी छैन,’सुरक्षाकर्मी शाहीले गरेको कागजमा उल्लेख छ–‘निजले केशवप्रसाद दुलाल मलाई भेट्न आउनुहुन्छ, निजलाई भित्र पठाइदिनू भनी जानकारी गराएका थिए । निज दुलाल मन्त्रालयमा गृह सचिव पाण्डेलाई बेलाबेला भेट्न आउनेजाने गर्नुहुन्थ्यो भन्ने कुरा सुनेको थिएँ ।’

शाहीले बैंक दाखिला गरेको भौचर प्रमाणअनुसार, २०७८ कात्तिक २८ मा पाण्डेको एभरेष्ट बैंक खातामा १० लाख रुपैंया, फागुन ११ मा कर्मचारी सञ्चय कोष खातामा २१ लाख ५० हजार रुपैया, फागुन २६ मा हिमालय बैंक खातामा १२ लाख ३ हजार ८ सय ३२ रुपैया, फागुन २६ मै हिमालय बैंकमा १ लाख ५ हजार रुपैयासहित दाखिला गरेको पाइएको छ । दाखिला भएको रकममा सबैभन्दा थोरै २०७९ असार २७ मा एभरेष्ट बैंकमा १० हजार रुपैया राखिएको छ । यसरी २०७८ कात्तिकदेखि २०७९ असारसम्म मौज्दात भएको रकम झण्डै ७५ लाख रुपैया देखिएको छ ।

सचिव पाण्डेले आफ्नो बयानमा आफूले जग्गा बेचेर आएको पैसा बैंक दाखिला गरेको भनेपनि भिन्न मिति र भिन्न तौरतरिकामा नगद मौज्दात भएको आधारलाई अनुसन्धानले सन्देहास्पद भनेको हो । पाण्डेको शरणार्थी गिरोहका नाइके केशव दुलालसहितसँग बारम्बार हुने गरेको फोनवार्ताको प्रमाण र शरणार्थी सरोकारमा जोडिएका संवाद (क्लिप) पनि अदालती निवेदनमा राखिएको छ ।

(हेर्नुहोस तालिका)

 

 

सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका सचिव पाण्डेले ‘बेरितको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दाको पूर्पक्ष गर्ने अनुमती पाउँ’ भन्दै पाटन उच्च अदालतमा दिएको निवेदनमा ‘भुटानी शरणार्थी पुर्नबसोबासको कार्यक्रम डिसेम्बर ३१, २०१६ बाट बन्द भएपनि विभिन्न तवरमा भुटानी शरणार्थी पुर्नस्थापनको बाटो खुला रहेको’ तर्क छ । ‘शरणार्थी आयोगका कन्ट्री चिफले सन् २०१६ पश्चात् पनि भुटानी शरणार्थीको तेस्रो देश पुर्नस्थापना समूहगत रुपमा नभएर वैयक्तिक रुपमा निरन्तर रहने बताएका छन्,’सचिव पाण्डेको निवेदनमा उल्लेख छ,‘ग्लोबल कम्प्याक्ट अन रिफ्युजी–२०१८ ले शरणार्थीलाई पुर्नस्थापनालगायतको व्यवस्थापन गर्ने भनी प्रतिबद्धता जनाएको छ । अमेरिकी राष्ट्रपति जोन बाइडेनको घोषणा र शरणार्थीबारेको प्रतिबद्धता(२०२३)ले पनि भुटानी शरणार्थीलाई पुर्नस्थापनाको बाटो खुलेको छ ।’

यसैगरी, तत्कालिन गृहमन्त्री रामबहादुर थापा(बादल)का सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राईका सुरक्षा अधिकृत दुर्गाबहादुर रानाले गरेको ‘कागज’ पनि कैफियत प्रतिवेदनमा समेटिएको छ । ‘म डा.इन्द्रजीत राईको सुरक्षा अधिकृत रहेको थिएँ । प्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल, टोपबहादुर रायमाझीहरु राईको कार्यकक्षमा बारम्बार आउने गर्थे । २०७७ साउन/भदौतिर निजहरुबीच विवाद हुँदा म समेतले छुट्याएको थिएँ । त्यसबेला डा.इन्द्रजीतले यिनीहरुलाई भित्र पस्न नदिनु भनेका थिए,’रानाको कागजमा उल्लेख छ–‘विवादको सम्बन्धमा बुझ्दा नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाइ लैजाने भनी जाहेरवालाहरुले लिएको रकमका सम्बन्धमा विवाद भएको रहेछ ।’

प्रकाशित : श्रावण ३२, २०८० ११:२६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार