Friday, May 3, 2024

सडकको दुरवस्थाले पोखरा आउनै छोडे पर्यटक

सडकको दुरवस्थाले पोखरा आउनै छोडे पर्यटक

मुग्लिन–पोखरा सडक स्तरोन्नति ढिलाइको प्रत्यक्ष मार गण्डकीको पर्यटनमा
दुई वर्षमा पूर्वी खण्डको भौतिक प्रगति ३१ प्रतिशत हुँदा पश्चिमको जम्मा ८ प्रतिशत

श्रावण ३२, २०८०

पोखरा — गत साता बन्दिपुरका लागि आएका भारतीय पर्यटक बाटोको अवस्था खराब देखेपछि मुग्लिनबाटै फर्किए । बुकिङ रद्द हुँदा तनहुँको बन्दिपुरमा होटल सञ्चालन गरिरहेकी संगीता प्रधान खिन्न बनिन् । पोखरातर्फबाट जाने पर्यटकको संख्यामा पनि कमी आएको उनले बताइन् ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार तथा स्तरोन्नतिमा भएको ढिलाइले खराब अवस्थामा रहेको तनहुँ सदरमुकाम दमौलीको सडक ।

 

बन्दिपुर मात्रै नभई मुग्लिन हुँदै पोखरा, मुक्तिनाथ पुग्ने भारतीय पर्यटकको संख्यामा पनि गिरावट आएको स्थानीय व्यवसायी बताउँछन् । एसियाली विकास बैंकको ससर्त ऋण सहयोगमा भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डको स्तरोन्नतिले अपेक्षित गति नलिँदा पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

सवारी चाप बढेपछि मुग्लिनदेखि पोखरासम्मको ८० किलोमिटर सडक सहरी भेगमा ६ लेन र ग्रामीण भेगमा ४ लेनमा विस्तार गर्ने गरी दुई खण्डमा स्तरोन्नति भइरहेको छ । मुग्लिनदेखि तनहुँको जामुनेसम्मको पूर्वी खण्डमा चिनियाँ ठेकेदार कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ । २०७७ माघ १७ मा सम्झौता भएर ०७८ वैशाख २ देखि काम सुरु भएको यो ४१.४५ किलोमिटर खण्डको म्याद ०८१ वैशाखसम्म छ । यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण हुने छन् । साउनसम्म उक्त खण्डको भौतिक प्रगति ३१ प्रतिशत मात्र छ । यो खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख रहेको छ ।

पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम अझै सुस्त छ । जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति चीनकै अनहुइ कैयुएन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ । ०७८ जेठ २ मा सम्झौता भएर ०७८ भदौ १२ बाट काम सुरु भएको यो खण्डको काम ०८१ भदौ १२ मा सम्पन्न गरिसक्नुपर्छ । ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको यो खण्डको हालको भौतिक प्रगति भने ८ प्रतिशत मात्रै छ ।

पोखरा पर्यटन परिषद्ले सडक विस्तार कार्यलाई व्यवस्थित र तीव्र रूपमा अगाडि बढाउन आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई तारन्तार ध्यानाकर्षण गराएको छ । पहिला ६ घण्टा लाग्ने काठमाडौं–पोखराको यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण १२ घण्टासम्म लाग्ने गरेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । ‘यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ,’ उनी भन्छन् । भूकम्प, नाकाबन्दी र कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले अहिले पहुँचमार्गको अवरोध पनि खेप्नुपरेको उनले सुनाए । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ । विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन व्यवसायीले ठेकेदार कम्पनीसँग आग्रह गरेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार तथा स्तरोन्नतिमा भएको ढिलाइले खराब अवस्थामा तनहुँ गुणाँदीको सडक । 

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण गण्डकी प्रदेशको अर्थतन्त्र ५ वर्षपछि धकेलिने तर्क गर्छन् । उनले भने, ‘ढिलो हुनु भनेको नेपाललाई घाटा हुनु हो ।’ सडक स्तरोन्नति क्षेत्र तनहुँको आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र कास्कीको पोखरा महानगरपालिका पर्छ । बर्खा लागेसँगै ठेकेदार कम्पनीले कामदारसमेत घटाएका छन् । बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा पानी पर्दा हिलो र नपर्दा धूलो उड्ने भएकोले सर्वसाधारणले पटकपटक गुनासो गर्ने गरेको बताए ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले चिनियाँ कम्पनीले गर्ने ढिलासुस्ती र लापरबाहीप्रति चिन्तित रहेको बताए । ‘ठेकेदार कम्पनीलाई छिटो काम गर्न दबाब दिने अधिकार कन्सल्ट्यान्ट कम्पनीलाई छ,’ उनी भन्छन्, ‘तर कन्सल्ट्यान्ट कम्पनीले नै आफ्नो जागिर लम्ब्याउन काममा ढिलासुस्ती गराइदिन्छन् ।’ सडक विभागअन्तर्गत मुग्लिन–पोखरा (पूर्वी खण्ड) सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले असार–साउन वर्षायाम भएकाले स्रोतसाधन घटाएर ठेकेदार कम्पनीले काम गरेको बताए । ‘पुल, पर्खाल बनाउन समय लाग्ने तर प्रगति नदेखिने काम भएका छन्,’ उनले भने, ‘भदौबाट धमाधम कालोपत्र सुरु हुन्छ ।’

सडक विभागअन्तर्गत पश्चिम खण्ड सडक आयोजना प्रमुख अमितकुमार श्रेष्ठका अनुसार उक्त खण्डमा कटान गर्नुपर्ने रुख लगभग सबै काटिएको र मुआब्जा दिनुपर्ने ३ सय ४६ घरटहरामध्ये २ सय ८६ घर टहराको वितरण भएको छ । विद्युत् संरचना स्थानान्तरण अझै केही समय लाग्ने देखिएकाले समयमै आयोजना सम्पन्न हुनेमा उनले आशंका व्यक्त गरे । पश्चिम खण्डमा सडक स्तरोन्नति हुने क्षेत्रभित्र २७ भन्दा बढी खानेपानी संस्था/उपभोक्ता समितिका पाइप लाइन तथा संरचना छन् । विद्युत् पोल स्थानान्तरण र सिँचाइ नहर, कुलो, खानेपानी योजना व्यवस्थापनमा भएको ढिलाइले सडक स्तरोन्नति एक–डेढ वर्ष पछि धकेलिने निश्चित भएको आयोजना प्रमुख श्रेष्ठले बताए । कतिपय लगतकट्टा गरेर क्षतिपूर्ति दिनुपर्ने जग्गाधनी सम्पर्कमा नआउँदा पनि समस्या उत्पन्न भएको उनले सुनाए । ‘पोखरामा सेती नहरबाट आउने पानीको व्यवस्थापन गर्ने गरी अमरसिंहबाट विजयपुरसम्म नाला बनाउनुपर्ने भएपछि सडक विस्तारको डिजाइन नै परिवर्तन गर्नुपर्‍यो,’ उनले भने, ‘त्यसैले पनि पूर्वी खण्डभन्दा पश्चिम खण्डको काम ढिलो सुरु भयो ।’ पृथ्वीचोक र रंगशाला जोड्ने सेती नदीमा हाल दुई लेनको पुल छ । उक्त पुलको दायाँ–बायाँ थप २–२ लेनको पुल थपिने छ । ०८२ भदौ २१ मा सक्ने गरी १ अर्ब ७ करोड २४ लाख २७ हजार रुपैयाँमा रसुवा कन्स्ट्रक्सन कम्पनीले काम सुरु गरेको छ ।

पश्चिम खण्डको ठेकेदार कम्पनी अनहुइका कन्ट्र्याक्ट विभाग प्रमुख लिउ वुले नेपालले सडकको मध्यबिन्दु समयमै अनुमोदन नगर्नु, विद्युत् पोल, खानेपानी पाइपलाइन समयमै स्थानान्तरण नगर्नुले निर्माण कार्यमा ढिलाइ भएको बताए । ‘कहाँ, कुन खोलानालामा कति पानी बग्छ, बर्खामा सडकमा किनारका नहर, कुलोमा कति पानी बग्छ भन्ने हाइड्रोलोजिकल डेटा नेपाल सरकारले अझैं उपलब्ध गराएको छैन,’ उनले भने, ‘त्यसले गर्दा नाला कत्रो आकारको बनाउने भन्ने टुंगो नै लागेको छैन ।’ हाल बर्खा मौसम भएकोले कामदार घटाए पनि असोजदेखि कामदार र उपकरण दुवै बढाउने उनले बताए ।

प्रकाशित : श्रावण ३२, २०८० १०:३९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार