Friday, May 3, 2024

आहा ! सिलाम साक्मा

सिलाम साक्मा छातीमा झुन्डिरहेको मात्रै छैन, सांस्कृतिक पहिचानको रूपमा फैलिँदै छ

श्रावण ३१, २०८०

पाँचथर — लिम्बू संस्कृतिमा आधारित पहिरन, शृंगार सामग्री र हस्तकलाका सामग्री बेच्दै आएकी फिदिमकी व्यवसायी विमला नेम्वाङले पछिल्लो समय ‘सिलाम साक्मा’ पनि बेच्न थालेकी छन् ।

उनको पसलबाट पाँचथरका विभिन्न बजार मात्रै नभई इलाम, तेह्रथुम र ताप्लेजुङका व्यवसायीले पनि सिलाम साक्मा थोकमा किनेर लैजान्छन् । ‘पाँचथरसहित कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका मुद्दामा छलफल सुरु भएसँगै यसको व्यापार पनि बढ्न थालेको छ,’ उनले भनिन्, ‘मकहाँबाट साइज हेरी प्रतिगोटा ५० रुपैयाँदेखि १ हजारसम्ममा बिक्री भइरहेको छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्यसमेत रहेका भाषाविद् हरिचन्द्र लावतीका अनुसार सिलाम साक्मा लिम्बू समुदायको मौलिक र सांस्कृतिक बिम्ब हो, जसलाई सुरक्षा कवचका रूपमा लिइन्छ । सिलाम साक्मा प्रयोगको सांस्कृतिक इतिहास रहेको उनले बताए । ‘लिम्बू भाषामा सिको भनेको मृत्यु हो भने लामको अर्थ बाटो हुन्छ,’ उनले भने, ‘साक्मा शब्दले छेक्नु, थुन्नु वा रोक्नुको अर्थ बुझाउँछ ।’

सिलाम साक्मा लगाउने चलन यसरी बढेको छ कि सामाजिक र सांस्कृतिक कार्यक्रमदेखि राजनीतिक कार्यक्रममा पनि अतिथिलाई खादा र मालाको साटो यही लगाइदिन थालिएको छ । कतिपयले यसलाई पूर्वी पहाडको पहिचानसँग जोडेर हेर्छन् भने कतिपयले सांस्कृतिक चिनारीसँग जोडिरहेका छन् । गत चैत १५ मा काठमाडौंमा पहिलो पटक भेट हुँदा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको देब्रे छातीमा सिलाम साक्मा लगाइदिए । गत वैशाखमा बेल्जियम पुगेका गायक राजेशपायल राईले त्यहाँ आयोजित राई समुदायको उँधौली कार्यक्रममा सिलाम साक्मा लगाएर नाच्दै गरेको भिडियोले सामाजिक सञ्जालमा उत्तिकै महत्त्व पाएको थियो ।

सिलाम साक्मा छातीमा मात्रै झुन्डिरहेको छैन, स्थानीय तहले यसलाई सांस्कृतिक पहिचानको बिम्बका रूपमा पनि अघि सार्दै यसको प्रतिमा नै बनाइरहेका छन् । झापाको कमल गाउँपालिका–३ केर्खामा बासिन्दाले एक लाख रुपैयाँ खर्चेर निर्माण गरेको सिलाम साक्माको प्रतिमा साउन ५ मा अनावरण गरियो । मोरङको मधुमल्ला र मिक्लाजुङमा पाँच–पाँच लाख रुपैयाँ लगानी गरेर प्रतिमा निर्माणाधीन छन् । फिदिम–४ को सुम्हात्लुङ मन्दिर परिसरको सुरक्षा पर्खालमा चारैतिर सिलाम साक्माका बुट्टा कुँदिएको छ ।

सिलाम साक्माको प्रयोग बढेसँगै यसको कारोबार पनि फस्टाउन थालेको छ । मोरङको मधुमल्लाकी सेमिमा तुम्बाहाम्फेले १० वर्षयता व्यावसायिक रूपमा सिलाम साक्मा बनाएर कारोबार गरिरहेकी छन् । केही वर्षअघिसम्म किरात लिम्बूले धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रममा मात्रै प्रयोग गर्ने सिलाम साक्माको प्रयोग अहिले व्यापक बन्दै गएको उनले बताइन् । प्रवासमा बस्ने राई लिम्बू समुदायले पनि यसको प्रयोगलाई व्यापक बनाइरहेको देखिन्छ ।

‘सिलाम साक्माको माग हङकङ, सिंगापुर, कोरिया र जापानबाट समेत आउन थालेको छ,’ सेमिमाले भनिन्, ‘तालिम, गोष्ठी र सेमिनारहरूमा खादा र रिबन काटेर तयार पारिएका ब्याचको साटो सिलाम साक्मा प्रयोग गर्न थालिएकाले व्यापार बढिरहेको हो ।’

पहिले घुङरिङ (बाँस प्रजातिको बुट्यान) बाट मौलिक सिलाम साक्मा बनाइन्थ्यो । यसमा कालोबाहेक अन्य रङको धागो प्रयोग गरिन्छ । मुन्धुम दर्शनका जानकार हर्क केरुङले सौर्यमण्डलमा रहेका बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र वरुण गरी आठ वटा ग्रहको प्रतीकका रूपमा सिलाम साक्मा बुन्न आठ वटा रङ प्रयोग गरिने बताए ।

धागो र धागोकै फूलसहित मात्रै नभएर अहिले छेउछेउमा क्रिस्टल, रुद्राक्ष र बोधिचित्तका दाना राखेर पनि सिलाम साक्मा बनाउन थालेको फिदिमकी इन्द्रमाया जबेगूले बताइन् । यस्ता सिलाम साक्मा १ सय डलरसम्ममा हङकङमा बिक्री भइरहेको उनले सुनाइन् । काठमाडौं बस्ने पाँचथरको फिदिम–५ की युन्छो तुम्बापोलाई अहिले सिलाम साक्मा बनाउन भ्याइनभ्याइ छ । गत महिना ४ सय २० रुपैयाँ लगानी गरेर तीन लाछी धागो प्रयोग गरी तयार पारेका एक सय वटा सिलाम साक्मा जापान पठाएको उनले सुनाइन् । तुम्बापोका अनुसार हङकङबाट पनि उत्तिकै अर्डर आइरहेको छ । ‘एक सय सिलाम साक्मा बनाउन ४ हजार रुपैयाँ खर्च भएको थियो,’ उनले भनिन्, ‘प्रतिगोटा सय रुपैयाँका दरले बेच्दा पनि नाफा मात्रै ६ हजार भएको छ ।’

प्रकाशित : श्रावण ३१, २०८० ०७:५२

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार