Saturday, May 4, 2024

भुटानी शरणार्थीको घर फर्किने हुटहुटी

तेस्रो देश जान नचाहेका र जान नसकेका सबैलाई स–सम्मान स्वदेश फर्किने वातावरणका लागि भुटानी राजाले स्वीकृति दिनुपर्ने शरणार्थीको माग
भुटानको आधिकारिक कागजपत्र सिरानीमा च्यापेर बसेका धेरै शरणार्थीको घर फर्किने धोको छ । कहींकतैबाट माग सम्बोधन नहुँदा भने उनीहरू चरम निराशाको भुमरीमा छन् ।

श्रावण ३०, २०८०
झापा — बेलडाँगी शिविरको थोत्रो छाप्रोमा एक्लै बस्छन्, ५६ वर्षीय पदमलाल पुवार । सुरुदेखि नै तेस्रो देश पुनर्वासको विपक्षमा रहे पनि परिवारका अन्य सदस्य उनको निर्णयमा अडिएनन् । सन् २०१० मै उनको ८ जनाको परिवार तेस्रो देशको पुनर्वासमा गएयता उनी भुटान फर्किने हुटहुटी बोकेर एक्लै बसिरहेका छन् ।

पहिला पथरी–शनिश्चरे शिविरमा रहेका उनलाई त्यहाँ एक्लो भएपछि बेलडाँगी सारिएको छ । हरेक बिहान एकपटक उनी आफूजस्तै शरणार्थीका छाप्रा चहार्छन् र सोध्छन्, ‘हामी भुटान कहिले फर्किने ?’ उनको सवाल सुनेपछि छिमेकी शरणार्थी रविलाल अधिकारीको जवाफ हुन्छ, ‘नेपालले हामीलाई फर्काउन पहल गर्‍यो भने चाँडै फर्किनु पर्छ ।’ अधिकारीको जवाफ सुनेपछि पुवार मन्द मुस्काउँदै आफ्नो छाप्रोमा फर्किन्छन् । अहिले उनको दैनिकी नै यही बनेको छ ।

तेस्रो देश पुनर्वासप्रति औधि रिसाएका उनी पुनर्वासको सुरुआती चरणमा शरणार्थी बोक्न शिविर आउने अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को गाडी देख्नेबित्तिकै ढुंगा हान्न खोज्थे । आफ्नो यो आक्रोश दुःखको लामो बाटो हिँडेपछि पनि निकास ननिस्किँदा निर्माण भएको उनको तर्क थियो । सन् १९९२ मा भुटानबाट लखेटिँदा उनी २० वर्षको लक्काजवान थिए । परिवारसहित लखेटिएर नेपाल आएका उनी अहिले बुढ्यौली वयमा निराशा बोकेर बाँच्दै छन् । परिवारका सदस्यले तेस्रो देशको विकल्प रोज्दा उनले भने भुटान फर्किने अडान छाडेनन् । अन्ततः अहिले उनी भुटान फर्किने सपना गाँठो पारेर बाँचेका छन् । ‘यिनले भुटान लैजाने भनेर पाँचवटा झोलामा पोका–पन्तुरा तयार पारेर राखेका छन्,’ अधिकारीले सुनाए, ‘अहिले उनको एकमात्रै चिन्ता कसरी यी सामान भुटान पुर्‍याउने भन्ने छ ।’

झापा बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर ।

तेस्रो देश पुनर्वासपछि झापाको दमक–बेलडाँगी र मोरङको पथरी–शनिश्चरे शिविरमा अहिले करिब ६ हजार ५ सय हाराहारीमा शरणार्थी छन् । तीमध्ये करिब ५ हजार शरणार्थीको मनमा पुवार र अधिकारीको जस्तै भुटान फर्किने इच्छाको धिपधिपे दियो बलिरहेको छ । ‘जसमध्ये ५ हजार बढीको मनसाय भुटान फर्किनेछ,’ बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव टेकबहादुर राईले भने । उनका अनुसार बेलडाँगीमा १ हजार ६ सय ९४ छाप्रा छन् । परिचयपत्र भएका २ हजार १२ छन् । शरणार्थी परिचय खुल्न नसकेका १ सय ८८ (एएसआर), विभिन्न कारणले दर्तामा छुटेका (सीए) ४ सय र दर्ता हुन नपाएका भुटानी ३ सय हाराहारी छन् ।

बेलडाँगीमा मात्रै दर्ता भएका र नभएका गरी ५ हजार ५ सय हाराहारीमा शरणार्थी रहेका छन् । ‘स्वदेश फिर्ती, विलय र पुनर्वासमध्ये स्वदेश फिर्तीमा जान चाहने बढी छन्,’ व्यवस्थापन समितिका सचिव राईले भने, ‘अब स्वदेश फिर्ती र नेपालमै विलय गराउने विकल्प बाँकी छ । यहाँ रहेका शरणार्थीमध्ये भुटान नै फर्किन चाहने बढी छन् ।’

मनमाया राई

८० वर्षकी मनमाया राई पनि झुप्रोमा एक्लै बस्छिन् । अशक्त रहेकी उनी जेनतेन जिन्दगी चलाइरहेकी छन् । ‘परिवारले छाडेर गइगए’, राईले भन्छिन्, ‘भुटान फिरेर मात्रै मर्ने सपना छ ।’

दलबहादुर कार्की आफू १ सय ५ वर्षको भएको दाबी गर्छन् । तर, कागजी आधारमा उनी ९० वर्षका मात्रै छन् । वृद्ध कार्कीको जोस तन्नेरीझैँ छ । भुटान फर्किएरै मर्ने सपना साँचेको बताउने उनी शिविरको झुप्रोबाट उम्किने समयको पर्खाइमा छन् । भुटानमा ५ एकड जमिनका मालिक, १० जना छोराछोरीका अभिभावक उनी अहिले यहाँको शरणार्थी शिविरमा एक्लो जीवन बाँच्न बाध्य छन् । ‘भुटानमा मेरो त्यत्रो जमिन अलपत्र छ,’ जमिनदार शैलीमा उनी बोले, ‘३० वर्षदेखि यहाँ एकसुतो जमिनमा जिन्दगी गुजार्नु परिरहेको छ ।’

कार्कीले भुटानको जमिनको भाउ बढेर ३० लाख प्रतिएकड पुगेको खबर पाएका छन् । ‘भुटान फर्किन पाइएन भने मेरो जमिनको क्षतिपूर्ति नेपाल सरकारले दिनुपर्छ,’ कार्की रिसको झोंकमा बोल्छन्, ‘कि त मलाई मेरो देश पठाइदिनु परो, नत्र जमिनको दाम दिनु परो ।’ यत्रो समयसम्म शरणार्थीलाई स्वदेश फर्काउन नेपालले पहल नगरेको आक्रोश पनि उनी पोख्छन् । भन्छन्, ‘हामीलाई फर्काउन नेपालले किन नचाहेको हो ?’

दलबहादुर कार्की

हात्तीसार बजार (गेलेफु) का कार्की परिवार भुटानी प्रशासकको हत्या आरोपमा लखेटिएका हुन् । सन् ८० को दशकको अन्त्यतिर भुटानमा जनआन्दोलन उत्कर्षमा थियो । त्यही क्रममा एक जना जनप्रतिनिधिको हत्या गरे आन्दोलनकारीले । लेवा डुक्पा (नगरपालिकाको मेयरसरह) को हत्यापछि उनको शव कार्कीको घर नजिकै भेटियो । त्यसपछि भुटानी शासकले घर नजिकै शव भेटिएको प्रमाणलाई आधार बनाएर कार्की परिवारमाथि धरपकड र आक्रमण सुरु गर्‍यो । ‘आन्दोलनकारीले मारेका थिए, म घानमा परेँ,’ उनले थपे, ‘त्यसपछि रातारात भुटान छाड्नुपर्‍यो ।’

बेलडाँगी शिविरकै ८८ वर्षीय पद्मलाल तिम्सिना पनि जन्मभूमि फर्किने आसमा छन् । तेस्रो देश जाने लोभमा उनी परेनन् । चाहेको भए सुरुआती चरणमै अमेरिका या अस्ट्रेलिया पुगिसक्थे । जन्मभूमिबाहेक कतै नजाने अड्डी कसेर शिविरको छाप्रामा बसिरहेका उनी भन्छन्, ‘हामीलाई जन्मभूमि फर्काइदिनु भनेर नेपाल सरकार र भुटानी राजालाई बारम्बार अनुरोध गर्‍यौं तर अझैसम्म हाम्रो मागको सुनुवाइ भएन ।’

सन् १९९२ मा मेची तरेर आउँदा पद्मलाल ५४ वर्षका थिए । श्रीमती ५० हाराहारीकी थिइन् । छोराछोरी स–सानै थिए । शिविरमै हुर्किएका तीन छोरी र एक छोरा अहिले अस्ट्रेलिया र अमेरिकामा छन् । ‘जहाँ जन्मिएको हो, त्यहीँ जाने भनेर बसेको, बस्यै भइयो,’ तिम्सिनाले सुनाए, ‘छोराछोरीले पनि धेरै पटक विदेश जाऊँ भने तर मनै मान्दैन ।’

भुटान सरकारले दिएको कागज देखाउँदै ५४ वर्षीय कृष्णवीर तामाङ ।

भुटानी शासकले लखेटे पनि कानुनी रूपमा शरणार्थीहरू भुटानी नै हुन् । तर, स्वदेश फर्किन नपाउँदा उनीहरू वर्षौंदेखि अनागरिकको जीवन गुजार्दै छन् । बेलडाँगीका ५४ वर्षीय कृष्णवीर तामाङ भुटानको ठेगाना बताउँछन्, ‘भुटानको सर्वाङ्ग जिल्ला, गाउँ दोभान ब्लक, हाउस नम्बर केजी ०६, खाम नम्बर ३१० ।’ भुटानको नागरिकता मात्रै हैन, सन् १९३८ तिरै बा–हजुरबाले जमिनको तिरो तिरेको रसिद र अन्य भुटानी कागजपत्र पनि उनले सम्हालेर राखेका छन् ।

‘मेरो कागजपत्रका आधारमा म भुटानको एफ १ (फाइल १) नागरिक हुँ । त्यही आधारमा म भुटान फर्किन पाउनुपर्छ,’ तामाङले भने, ‘२० वर्षको उमेरमा आको आज दारीजुँगा फुलिसके । ३२ वर्षदेखि शिविरमै छु । म भुटानको नागरिक हो भनेर धेरै पटक भनिसकेँ । तर, कसैले पनि भुटान फिर्तीका लागि सहयोग गरेनन् ।’

तामाङको झैं भुटानको आधिकारिक कागजपत्र सिरानीमा च्यापेर बसेका धेरै शरणार्थीको घर फर्किने धोको छ । कहींकतैबाट माग सम्बोधन नहुँदा भने उनीहरू चरम निराशाको भुमरीमा परेका छन् । ‘लामो समयसम्म गुन्द्रुकझैं शिविरमा खाँदियाँ,’ तामाङले भने, ‘अब त सिन्कीझैं अमिल्लिसक्यौं ।’ आफूहरू अहिले देश हराएका नागरिक सरह भएको उनले बताए । तामाङका अनुसार शिविरमा रहेका शरणार्थी युवाहरू मानसिक समस्यामा छन् ।

राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन राजासमक्ष निवेदन दिएको भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बताए । प्रजातन्त्र र मानव अधिकार आन्दोलनका क्रममा जेल परेका नेपालीभाषी भुटानीको बिनासर्त रिहाइका लागि राजालाई बिन्ती गरेको पौडेलले सुनाए । ‘जुलाई ३० मा राजालाई पत्र पठाएको भए पनि अहिलेसम्म प्रत्युत्तर आएको छैन,’ उनले भने, ‘तेस्रो देश जान नचाहेका र जान नसकेकाहरू सबैलाई स–सम्मान स्वदेश फर्किने वातावरणका लागि राजाले स्वीकृति दिनुपर्छ ।’

शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले सन् २००६ देखि २०१६ सम्म करिब १० वर्ष तेस्रो देश पुनर्वास कार्यक्रम सञ्चालन गरेको थियो । जसबापत अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, नर्वे, न्युजिल्यान्डलगायतका ८ देशमा करिब १ लाख १३ हजार ५ सय जना शरणार्थीलाई पुनर्वास गरिएको थियो । सन् २०१६ डिसेम्बर ३१ देखि पुनर्वास कार्यक्रम स्थगन गरिएको थियो ।

‘पुनर्वास कार्यक्रम रोकिएसँगै दातृ निकायले पनि सहयोगका कार्यक्रम क्रमशः कम गर्दै लगे,’ बेलडाँगी शिविर व्यवस्थापन समितिका पूर्वसचिव डीबी सुब्बाले भने, ‘विश्व खाद्य कार्यक्रम, लुथरन विश्व फेडरेसनजस्ता दातृ निकायले २०१८ पछि सहयोगलाई पूर्ण रूपमा टुंग्याए ।’ संस्थाहरूले छाडेपछि शिविरमा बाँकी रहेका शरणार्थीहरूले थप समस्या झेलिरहनुपरेको सुब्बाले बताए ।

‘दानापानी आफैं जुटाएर बाँच्नुपर्ने अवस्था छ,’ उनले भने, ‘हामी अहिले शरणार्थीमाथि शरणार्थी बनेका छौं ।’ उनका अनुसार विगतमा शरणार्थीका लागि तीन विकल्प थिए, स्वदेश फिर्ती, नेपालमै विलय र तेस्रो देश पुनर्वास । ‘धेरैले तेस्रो विकल्प रोजे,’ बेलडाँगीका पूर्वक्याम्प सचिव सुब्बाले सुनाए, ‘पहिलो र दोस्रो विकल्पबारे भने अझै अन्योलको अवस्था छ ।’ शिविरमा बाँकी रहेकामध्ये धेरै भुटान फर्किन चाहेको र केही नेपालमै बस्न खोजेको उनले सुनाए ।

लामो समयदेखिको अन्योलले शरणार्थीहरू निराश बन्दै गएका छन् । ‘हाम्रो समस्याको समाधान स्वदेश फिर्तीबाहेक अरु कुनै देख्दिनँ म चै,’ सुब्बाको मत छ, ‘अझै कति समय लाग्छ, त्यो त थाहा छैन तर स्वदेश फिर्तीबाट मात्रै हामीले न्याय पाउन सक्छौं ।’ शरणार्थी समस्या समाधन स्वदेश फिर्तीबिना सम्भव नरहेको उनी बताउँछन् । आफ्नो देश फर्किन पाउनुपर्छ भन्ने शरणार्थीका मागलाई पन्छाएर नेपाल सरकारले यतै विलय गर्छु भन्न पाउने अधिकार पनि नरहेको सुब्बाले सुनाए । ‘हचुवाका भरमा निर्णय गर्न पनि मिल्दैन,’ उनले भने, ‘यतै राख्ने निर्णयले त हामीलाई ठूलो अन्याय हुन्छ ।’

तेस्रो देश पुनर्वास त्यागेर बसेका शरणार्थी अगुवाहरूले समस्या समाधानको बाटो राजनीतिक रूपमै पहिल्याउनुपर्ने धारणा राख्छन् । भुटानी शरणार्थी प्र्रतिनिधि स्वदेशी फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले थपे, ‘शिविरमा बाँकी रहेका शरणार्थीहरूलाई ससम्मान स्वदेश फिर्तीका लागि नेपाल, भारत र भुटानबीच वार्ता जरुरी छ, वार्तामा भुटानी फर्किनेहरूको प्रतिनिधिहरू पनि सहभागी गराइनुपर्छ ।’

पथरी–शनिश्चिरे शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईका बुबा शिविर छाडेर अमेरिका उडे । चम्पासिंह गएनन् । भुटानको सम्झनाले उनलाई तेस्रो देश जान रोक्यो । ‘पहिला भुटानी थिए, अहिले अनागरिक भएर बसेको छु,’ उनले भने, ‘अधिकारविहीन भएर बस्दाको पीडाले साह्रै पोल्दो रहेछ ।’ उनका अनुसार स्वदेश फिर्तीका लागि भुटानी राजा र नेपाल सरकारलाई कैयौं पटक पत्राचार गरे पनि सुनुवाइ भएको छैन । पुरानो पुस्ता भुटानै फर्किनेमा छन् तर युवापुस्ता भुटान जान मानिरहेका छैनन्, यतै विलय गर्न पर्छ भनिरहेका छन् । ‘हाम्रो चाहना भनेको भुटान फर्किने नै हो । तर, भुटान सरकारले नस्विकार्ने संकेत छ,’ उनले भने, ‘तसर्थ, यतै विलय गराउँदा पनि शरणार्थीहरू खुसी नै हुन सक्छन् ।’

बेलडाँडीमा बस्ने भुटानी कवि दिल भुटानी प्रश्न गर्छन्, ‘शरणार्थीलाई देश फर्काउने कुरामा नेपाल अहिलेसम्म किन चुपचाप छ ? मानवअधिकार पक्षधर देश नेपालले अहिलेसम्म हाम्रा लागि किन बोल्दैन ?’ भुटानी भएकाले स–सम्मान देश फर्कन पाउनुपर्ने मत उनको पनि छ । अमेरिकालगायत तेस्रो देशको सपना त्यागी भुटान फर्किने सुर कसेर बसेका कवि भुटानी कवितामार्फत आफ्नो पीडा यसरी सुनाउँछन् :

कति दिन

कति वर्ष

कति युग

कति शताब्दी

कति पुस्ता राख्ने विचार गरेका छौ !

हाम्रा पखेटा काटेर

आकाश पोखिएर

भविष्य भिजिरहेका बेला

यो भिजेको मेरो पखेटा कसरी अवलोकन गराऊँ तिमीलाई !

प्रकाशित : श्रावण ३०, २०८० ११:४५

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार