Monday, April 29, 2024

फैलिँदै तिलोत्तमा जोडिँदै बुटवल-भैरहवा

बुटवल–भैरहवा सडक कनेक्टिभिटीले उद्योगीलाई राहत, लुम्बिनी प्रदेशकै आर्थिक विकासको सम्भावना र अवसरलाई पनि यसले जोड्दै

श्रावण २८, २०८०

रूपन्देही — नाउ नदी किनार र अग्लो चुरेको फेदीमा रहेको बुटवल फैलिने क्रम जारी छ । भारतीय सीमासँग जोडिएको भैरहवाको पनि बुटवलतर्फ विस्तार तीव्र छ । बुटवल र आसपासमा जनघनत्व वृद्धि भइरहेको छ । उत्तरतर्फ चुरेको हरियालीले शीतलता प्रदान गर्छ ।

दक्षिणतर्फ निर्माण भइरहेका चिटिक्क र ठूला सडक, त्यही छेउमा ठडिएका कंक्रिटका भवनको तातोले बेलाबेला हपक्क बनाउँछ । दिन प्रतिदिन बस्ती बाक्लिँदै छन् । सहरीकरण तीव्र छ । लुम्बिनी प्रदेशकै आर्थिक र व्यापारिक केन्द्र बुटवल र भैरहवामात्र रहेन । रूपन्देही जिल्ला नै पूर्वाधार विकास र आर्थिक गतिविधिको केन्द्र बन्दै छ ।

चुरेको फेंद गोलपार्कदेखि सीमावर्ती बेलहियासम्म निर्माण भएको बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्गले दुवै सहरको चमकधमक थपेको छ । २०१८ सालमा गाडी चल्न सुरु हुँदा बुटवलको गोलपार्कदेखि भैरहवाको बेलहियासम्मको २७ किलोमिटर सडक कच्ची र साँघुरो थियो । ठूलठूला खाल्डाखुल्डीले बस बाटोमै अड्किन्थ्यो । यात्रु झरेर बस धकेल्दै गुडाउनुपर्थ्यो । गोलपार्कबाट बिहान ९ बजे छुटेको गाडी सुनौली नाकामा पुग्दा बेलुका ६ बज्थ्यो । त्यतिबेला ‘नेपाल यातायात’ लेखेर जापानिज बस चल्थे । ती बस दुई/तीन वर्षजति चले । त्यसपछि वीरगन्जतिरबाट आएका पन्जाबी सरदारले एनपीएमएस (नेपाल पब्लिक मोटर सर्भिस) लेखेर झन्डै ५ वर्ष बस चलाए । त्यसपछि बुटवलकै व्यवसायीले ०२७ सालतिरबाट ‘लुम्बिनी बस’ लेखेर यातायात सुविधा दिएको भैरहवाका पुराना व्यापारी एवं उद्योगी ७६ वर्षीय रामशंकर कान्दुले बताए । सबै बस होचा हुन्थे । भित्र काठका बेन्च राखिएको हुन्थ्यो । त्यति बेलाका लुम्बिनी बसका धनी बुटवल अमरपथका मृगेन्द्र शेरचनका अनुसार एउटा बसले २१ जना यात्रु बोकेर गोलपार्कबाट सुनौली नाका पुग्न दिनभर लाग्थ्यो । ‘गोलपार्कबाट छुटेको बस ड्राइभर टोल, कटैया, ठुटीपीपलका स्टेसनमा रोकिँदै सुनौली बोर्डरमा पुग्थ्यो,’ उनले भने, ‘गोल्ठे ढुंगा बिछ्याएर माटोले सम्याएको सडक भएकाले बस उफ्रिँदा मान्छेका टाउका ठोक्किँदै बडो मुस्किलले सुनौली पुगिन्थ्यो ।’ एक मोहर बस भाडामा गोलपार्कदेखि सुनौली पुर्‍याउने गरेको उनले सुनाए ।

साँघुरो सडक छेउमा बस्ती नै थिएन । सडकको किनारसम्म नै धान फल्थ्यो । सडकको धेरै दूरी जंगलले ढाकिएको थियो । ‘बुटवल र भैरहवा धेरै टाढाका गाउँ मानिन्थे,’ उनले भने, ‘अहिले त घरैघरले ढाकिएर एउटै जस्तो भइसक्यो, त्यतिबेलाको सम्झना अहिले सपनाजस्तै लाग्छ ।’ उनको सम्झनामा सुनौलीदेखि बुटवल ओहोरदोहोर गर्ने बस ०२५ सालसम्म १८/१९ वटा पुगेका थिए ।

त्यही साँघुरो र गोल्ठे ढुंगालाई माटोमा मिसाएर बनाइएको बाटोलाई ०२३ सालमा ‘एसपीआर’ (सुनौली–पोखरा राजमार्ग) नामकरण गरेर विस्तार सुरु गरियो । ०२६ देखि ०२९ सालमा सुनौलीदेखि बुटवलसम्मको सडक कालोपत्र भएपछि बल्ल धेरै बस चल्न थालेका हुन् । ०२९ सालपछि त्यही सडक सिद्धार्थ राजमार्गमा परिणत भयो । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर एवं सूचना अधिकारी महेश्वर लम्सालले सडकको पूरै इतिहास कार्यालयमै नरहेको बताए । ‘तपार्इंले खोजेपछि हामीलाई पनि बल्ल इतिहासको आवश्यकता महसुस भयो, अब खोज्छौं,’ उनले भने, ‘आव २०६८/०६९ मा ६ लेन निर्माणको काम सुरु भएर धेरै खण्ड ०७७ मा सम्पन्न भएको हो । एक खण्ड अझै निर्माण जारी नै छ ।’ २७ किलोमिटर खण्डमध्ये बुटवलको चौराह–बेलहियासम्मको २४ किलोमिटर तीन वर्षअघि नै निर्माण सकिएको थियो । चौराहदेखि चिडियाखोलासम्मको ३ किलोमिटर सडक निर्माणाधीन रहेको र चालु वर्षमा सम्पन्न हुने उनले बताए । बुटवल–बेलहिया सडक विस्तारमा झन्डै ८ अर्ब खर्च भएको उनले बताए । निर्माण सम्पन्न भएको सडक किनार हरियालीसहित सफा र झिलीमिलीपूर्ण छ । तिलोत्तमा नगरपालिकाले सडकभरि फ्री वाईफाई जडान गरिदिएपछि यात्रा गर्नेलाई थप सहज बनाएको छ ।

भैरहवाका व्यवसायी कान्दुका अनुसार ६० वर्षअघिसम्म भैरहवा र बुटवल दुवै गाउँ थिए । पहाडको फेंदमा रहेको बुटवल र भारतको बोर्डरमा रहेको भैरहवाको दूरी २७ किलोमिटर थियो । ‘भैरहवाबाट बस चढेर बुटवल पुग्न पूरै एक दिन लाग्थ्यो,’ उनले भने, ‘अहिले त १५ मिनेटमै पुगिन्छ, पहिला र अहिलेको अवस्था तुलना गर्दा जिरोबाट हजार प्वाइन्टसम्म विकास भएजस्तो लाग्छ ।’ उतिबेला भैरहवामै एक घरबाट हिँडेर अर्को घर पुग्न १५ मिनेट लाग्थ्यो, अहिले त्यही १५ मिनेटमा एक सहरबाट अर्को सहरमा पुग्ने अवस्था आएको उनले बताए । दुवै सहर आर्थिक क्षेत्रको रूपमा विकास भएर जोडिएका छन् । सडक किनारमा उद्योग खुल्ने क्रम बढ्दो छ ।

बुटवल बेलहिया सडकले २७ किलोमिटर दूरीका दुई सहर मात्र जोडेको छैन, यसले लुम्बिनी प्रदेशकै आर्थिक विकासको सम्भावना र अवसरलाई पनि त्यसरी नै जोडेको छ । सडक निर्माणपछिका पछिल्ला ५ वर्षमा रूपन्देहीका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा मात्र सानाठूला गरी ६ हजार ७ सय १३ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अधिकृत नेत्रप्रसाद भुसालले बताए । त्यसमा पनि धेरै उद्योग तिलोत्तमा नगरपालिकामा थपिएका छन् । रूपन्देहीमा मात्र ११ हजार ३० उद्योग दर्ता छन् । ‘थपिएका उद्योगले कम्तीमा १ लाखलाई रोजगार सिर्जना गरेको अनुमान छ,’ उनले भने, ‘त्यसैको प्रभावस्वरूप तिलोत्तमाको जनघनत्व हरेक वर्ष बढ्दो छ ।’ ६ लेन सडक निर्माणपछि पर्यटन, व्यापार र उद्योगहरूको एकीकृत विकास भइरहेको छ ।

सडक निर्माणपछि रोजगार केन्द्रित साना उद्योग खुल्ने क्रम बढ्दो छ । व्यावसायिक कृषिमा युवा पुस्ता जागेको छ । व्यापार बढेको छ । ६ लेन सडकबाट तीन/चार किलोमिटर पूर्व र पश्चिम क्षेत्रका खेत कृषि उत्पादनले हरियाली छन् । तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा नेपालकै ठूलो गाई फार्म खुलेको छ । स्थानीय व्यवसायी शशी पौडेलले डेढ अर्ब लागतमा खोलेको फार्ममा अहिले २ सय ५० गाई छन् । सुरुमा ५ सय गाई पालेर मेसिनबाट दुध दुहुने गरी सञ्चालनमा आएको यो फर्ममा अहिले दैनिक १ हजार ५ सय लिटर दुध उत्पादन हुन्छ । फार्ममा मात्र दैनिक १३ जनाले रोजगारी पाएका छन् । पौडेलका २९ वर्षे छोरा शिशिर बेलायतमा बिजनेस म्यानेजमेन्ट अध्ययन सकेर फार्मसँगै उद्योग खोल्ने गरी स्वदेश फर्केका छन् । भौतिक संरचनाबाहेक झन्डै १० करोड लगानी गरेर किसानका लागि पानी तान्ने पम्प नेपालमै उत्पादन सुरु गरेको उनले बताए । ‘नेपाली किसानलाई उपयोगी हुने गरी नेपालमै एसेम्बलिङ गरेर पानी तान्ने पम्प उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘स्थानीयलाई रोजगारी दिने र पम्पको लागत घटाउने उद्योगको प्रमुख उद्देश्य हो ।’ अहिले पनि नेपालमा किसानलाई आवश्यक सबै कृषि औजार भारतबाटै आउने र त्यसको मूल्य महँगो पर्ने भएकाले आफूले नेपालमै पहिलो चरणमा पम्पको एसेम्बलिङ सुरु गरेको उनले बताए । उनको उद्योगमा अहिले १४ जना नेपाली र ६ जना भारतीयले रोजगारी पाएका छन् । ‘बुटवल भैरहवाको पूर्वाधार विकासपछि नेपालमै केही गरौं भन्ने हुटहुटीले विदेशबाट यहाँ ल्यायो ।’ उनले भने । तिलोत्तमामा मात्र उनी जस्ता कृषि र कृषिजन्य उत्पादनमा लागेका युवाको संख्या १ हजारभन्दा बढी रहेको नगरपालिकाका कृषि विकास शाखा प्रमुख दोमलाल भुसालले बताए ।

सिद्धार्थ राजमार्गबाट तीन किलोमिटरपूर्व तिलोत्तमा–१७ मुडियारीमा खुलेको अस्ट्रिच फर्मले पशुपन्छी र च्याउ उत्पादनमा झन्डै ४ अर्ब बढी लगानी गरेको छ । ४ सय ५६ जनाले नियमित रोजगारी पाइरहेका छन् । अस्ट्रिच विदेश निर्यात भइरहेको छ । दैनिक ६ टनसम्म च्याउ उत्पादन हुन्छ । च्याउ स्वदेशमै खपत भइरहेको सञ्चालक सीपी शर्माले बताए । ‘सडक कनेक्टिभिटीले उद्योगीलाई केही राहत दिएको छ,’ उनले भने, ‘तर, कृषियोग्य जमिन खण्डीकरण पनि उत्तिकै बढ्दो छ ।’ राज्यले नेपाली कृषिजन्य उत्पादनलाई निर्यात गर्ने गरी सही नीति अवलम्बन गर्न नसक्दा आयातित कृषि उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको उनले बताए । दैनिक ६ टन च्याउ उत्पादन गर्दा पनि विदेश निर्यात गर्न कठिनाइ भइरहेको उनको गुनासो छ ।

दुई ठूला सहर जोड्दै बनेको ६ लेन सडकसँगै परासी, भैरहवा, लुम्बिनी र बुटवल जोड्ने गरी सहायक सडक पनि निर्माण भएका छन् । औद्योगिक क्षेत्रका रूपमा विकास भएको भैरहवासँग जोड्ने गरी परासीदेखि भैरहवासम्मको झन्डै २९ किलोमिटर खण्डमा ४० बढी उद्योग रहेको रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए । ‘ती उद्योगमा ४० अर्ब बढी लगानी छ, २ हजार बढीले रोजगारी पाएका छन्,’ उनले भने, ‘यो विकास भनेको सडक निर्माणले नै सम्भव भएको हो ।’ परासीको भलुहीदेखि भैरहवासम्मको औद्योगिक करिडोरमा बहुराष्ट्रिय कम्पनीका उद्योग पनि स्थापना भएको उनले बताए ।

पूर्वाधार, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा समेत तीव्र गतिमा अघि बढेको रूपन्देहीमा पछिल्लो १० वर्षमा दीर्घकालीन आर्थिक विकासका ठूला आयोजना पनि निर्माण भएका छन् । भैरहवामा ७ अर्ब बढी लागतमा अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल दुई वर्षअघि निर्माण सम्पन्न भएर अहिले सञ्चालनमा आएको छ । पर्यटन र औद्योगिक क्षेत्रको विकासमा सहयोग पुग्ने गरी २१ किलोमिटर लामो बेलबास–बेथरी सडक निर्माण पनि तीव्र छ । चार वर्षअघि सुरु भएको यो सडक आगामी वर्ष निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होमबहादुर एसीले बताए । झन्डै २ अर्ब लागतको यो सडक हरियाली र वातावरणमैत्री छ । ‘चार लेनको यो सडकको बीचमा पानीको नहर रहनेछ,’ डिभिजन प्रमुख एसीले भने, ‘त्यसको दुवै किनारमा रूख रोपेर वातावरणमैत्री बनाइनेछ ।’ सडक निर्माणसँगै यस क्षेत्रमा पनि साना तथा मझौला उद्योग खुल्ने क्रम बढेको उनले बताए । यो सडक बुटवल–भैरहवाको ६ लेनपछि बुटवल र लुम्बिनी जोड्ने गरी निर्माण भएको अर्को ठूलो सडक हो । १ अर्ब बढी लागतमा बुद्धको मावली गाउँ देवदहबाट शिवपुर, मणिग्राम, तिनाउ, मोतीपुर, फर्साटिकर, मानमटेरिया, सूर्यपूरा हुँदै लुम्बिनी जोड्ने ४२ किलोमिटर सडक निर्माण भइरहेको छ । २ अर्ब बढीको लागतमा बुटवलमा अन्तर्राष्ट्रिय मापदण्डको सम्मेलन केन्द्र र प्रदर्शनी स्थल बनेका छन् । यी दुवै भवन गत वर्ष निर्माण सम्पन्न भएर सञ्चालनमा छन् ।

०००

राजमार्गको ६ लेन सडक र त्यसलाई जोड्ने गरी निर्माण भएका साना सडकले उद्योगी, व्यवसायी र नागरिकका लागि पनि सडक पहुँच बढाएको छ । सडक निर्माणसँगै तिलोत्तमा र सिद्धार्थ नगरमा ६ वटा औषधि उद्योग खुलेका छन् । दुई ठूला अस्पताल खुलेका छन् । सरकारी तहबाट मेडिकल कलेज खोल्ने गरी चार वर्षअघि शंकरनगरमै कार्यालय खुलेको छ । कार्यालयले अहिले मेडिकल कलेजको जग्गा र डीपीआर बनाउने काम गरिरहेको छ । बुटवलमै रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पनि तिलोत्तमाको नयाँमिलमा सेवा विस्तार गर्दै छ । नेपाल औषधि व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष सुरज भट्टराईका अनुसार तिलोत्तमा र सिद्धार्थनगरमा पछिल्लो ७ वर्षमा ग्रेस फर्मास्युटिकल्स, बायोगेन रेमिडिक्स, कोरल फर्मास्युटिकल्ससहित ६ उद्योग खुलेका छन् । क्रिमसन र सिद्धार्थनगर सिटी अस्पताल सञ्चालनमा छन् । नयाँमिलमा मुटु अस्पताल खुल्दै छ । तिलोत्तमाको पत्थरडाँडामा झन्डै एक दर्जन डाक्टरकै लगानीमा क्यान्सर अस्पताल पनि खुल्ने प्रक्रियामा रहेको उनले बताए । ‘तिलोत्तमा र सिद्धार्थनगरभित्र खुलेका उद्योगमा मात्र ४ अर्ब बढी लगानी छ, १ हजार बढीले रोजगारी पाएका छन्,’ उनले भने, ‘औषधि उद्योगले नेपालको पश्चिम महेन्द्रनगरदेखि काठमाडौंसम्म औषधि निर्यात गर्न सडकले सहज भएको छ ।’

शिक्षा क्षेत्रमा पनि तिलोत्तमामा आकर्षण बढ्दो छ । तिलोत्तमा–१४ मा ब्रिटिस व्यवसायीहरूको व्यवस्थापनमा ५ वर्षअघि नमस्ते एकेडेमी खुलेको थियो । त्यस्तै प्रकृतिको लुम्बिनी शिक्षालय पनि २ वर्षअघि खुलेको छ । राममणि क्याम्पस तिलोत्तमामै छ । पछिल्लो ५ वर्षको अवधिमा तिलोत्तमामा निजी क्षेत्रका ठूला शैक्षिक संस्था खुल्ने क्रम बढेको तिलोत्तमा नगरपालिकाका शिक्षा विकास प्रमुख गंगाराम आचार्यले बताए । ‘अन्तर्राष्ट्रिय भाषा अध्यापन गराउने गरी निजी क्षेत्रबाट विद्यालय खुल्ने क्रम बढेको छ,’ उनले भने, ‘त्यसले तिलोत्तमा शैक्षिक क्षेत्रको आकर्षणमा परेको देखिन्छ ।’ १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा २ सय किलोमिटर बढी सहायक सडक कालोपत्र छन् । नगरपालिकाको ६० प्रतिशत जनसंख्या १५ मिनेटमै स्वास्थ्य र सडक सुविधाको पहुँचमा पुग्ने गरी सहरीकरण भइरहेको नगर प्रमुख रामकृष्ण खाणले बताए । ‘तिलोत्तमा नयाँ सहर मात्र होइन, उद्योग र व्यवसायको विकासका लागि भर्जिन ल्यान्ड पनि हो,’ उनले भने, ‘त्यहीअनुसार सडक, उद्योग, व्यापारमा अघि बढेको छ ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुका अनुसार पहाडी जिल्लासँग बुटवलको व्यापारिक साइनो ००७ सालदेखि सुरु भएको हो । ‘बटौलीका व्यापारी भैरहवा पुगेर चामल र कपडा खरिद गरेर ल्याउँथे,’ उनले भने, ‘त्यही सामान पहाडबाट घिउ, दालचिनीका पात, अदुवा बिक्री गर्न आएका पहाडी व्यापारीलाई बिक्री गर्थे ।’ त्यही खरिदबिक्रीको व्यापार विस्तार हुँदै गएपछि बटौली बुटवल बन्यो र फैलिँदै गएर भैरहवासँग जोडिएको उनले बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार रूपन्देही देशकै जनसंख्या वृद्धिदर हुने जिल्लामा तेस्रो छ । काठमाडौं र मोरङपछि रूपन्देही परेको हो । रूपन्देहीको जनसंख्या ११ लाख २१ हजार ९ सय ५७ पुगेको छ । जुन २०६८ को भन्दा २ लाख ४१ हजार ७ सय ६१ ले बढी हो ।

लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये सबैभन्दा बढी बसाइँ सरेर आउने स्थानीय तहमा तिलोत्तमा नगरपालिका छ । पछिल्लो १० वर्षमा यहाँ ४९ हजार ५ सय ८ जनाले बसाइँ सरेका छन् । तिलोत्तमाको अहिलेको जनसंख्या १ लाख ४९ हजार ६ सय ५७ छ । यहाँको जनसंख्याको वार्षिक वृद्धिदर ३.८५ प्रतिशत रहेको छ । तिलोत्तमापछि बाँकेको कोहलपुर र तेस्रोमा रूपन्देहीकै बुटवल उपमहानगरपालिका रहेको छ । कोहलपुरको वार्षिक वृद्धिदर ३.३६ प्रतिशत र बुटवलको ३.२७ प्रतिशत छ । बुटवल उपमहानगरको अहिलेको जनसंख्या १ लाख ९५ हजार ५४ छ । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले सडक विस्तारसँगै शिक्षा, स्वास्थ्यमा भएको भौतिक पूर्वाधार विकासले बुटवल र यस आसपासका सहरमा जनघनत्व बढ्दै गएको बताइन् । ‘मान्छेले सेवा र सुविधाको खोजी गर्न थाले,’ उनले भनिन्, ‘पहिलो आवश्यकता भनेकै शिक्षा र स्वास्थ्य हो । विकास भएको स्थान रोजाइमा पर्नु स्वाभाविक छ ।’

प्रकाशित : श्रावण २८, २०८० १०:५६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार