Friday, March 1, 2024

को बन्ला देउवाको उत्तराधिकारी ?

नयाँ पुस्ताका नेता गगन थापाले विकल्प खोजेपछि देशको पुरानो दल कांग्रेसमा उत्तराधिकारीको बहस तर न देउवा आफू कार्यकारी छँदै उत्तराधिकारी तयार गर्ने पक्षमा देखिन्छन् न उनको विकल्प खोज्न बहुसंख्यक नेता–कार्यकर्ता तयार छन्

श्रावण २५, २०८०

काठमाडौँ — ८० वर्षीय शेरबहादुर देउवाको नेतृत्व असान्दर्भिक भएको भन्दै महामन्त्री गगन थापाले विकल्प खोजेसँगै संसद्को ठूलो दल कांग्रेसमा उत्तराधिकारीको बहस सुरु भएको छ । २० महिनाअघि सम्पन्न १४ औं महाधिवेशनमा देउवासँगै प्रतिस्पर्धा गरेका नेता शेखर कोइरालाले नेतृत्व परिवर्तनको विषयमा मौनता साधिरहेका बेला महामन्त्री थापाले एक कदम अघि बढेर ‘एक्ला चलो रे’ भावमा संसदीय दलको नेता परिवर्तनलाई ‘मिसन’ बनाएका छन् ।

थापालाई कोइरालाले कति साथ दिन्छन् वा दिँदैनन् प्रस्ट छैन तर ०४८ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको ‘क्याबिनेट’ मा गृहमन्त्री भएदेखि कुनै न कुनै भूमिकामा नेपाली राजनीतिको केन्द्रमा रहेका देउवाको विकल्प खोज्न पार्टीका बहुसंख्यक नेता–कार्यकर्ता तयार छैनन् । उनीहरूले देउवाको विकल्प खोज्नेभन्दा उत्तराधिकारी खोज्ने बहसतिर पार्टीको आन्तरिक शक्ति संघर्षलाई मोड्न चाहेका छन् र त्यसको केन्द्रमा छन्– शेखर कोइराला ।

०७९ पुस ६ को संसदीय दलको चुनावपछि शेखर कोइराला र गगन थापा एक/अर्काप्रति सशंकित छन् । संसदीय दलको नेतामा शेखर आफैं चुनाव लड्न चाहेका थिए तर अन्तिम घडीमा गगनलाई साथ दिए । ‘त्यस घटनाबाट शेखर गगनप्रति पूर्ण विश्वस्त छैनन्, शेखर दाइको चाहना एक पटक पार्टी सभापति बन्नेछ, केही दिनअघि १५ औं महाधिवेशनमा अरू के गर्छन् थाहा छैन तर म पार्टीको सभापति हुँ भनेर कान्तिपुर टीभीसँगको अन्तर्वार्तामै घोषणा गर्नुभयो, अहिल्यै उम्मेदवारी घोषणा गर्नुपछिको कारण पनि गगनप्रतिको अविश्वास हो,’ शेखरनिकट एक केन्द्रीय सदस्यले भने, ‘सभापतिजीलाई पनि शेखर र गगन एकै ठाउँमा संगठित हुँदा कुनै पनि बेला दलको नेतामा असुरक्षा बढ्न सक्छ भन्ने थियो । दलको निर्वाचनले नै सभापति र शेखर दाइबीच हार्दिकता बढाएको देखिन्छ । सभापतिलाई असहयोग गरेर अप्ठ्यारो पार्ने नीति शेखर दाइले छाड्नुभएको छ ।’

देउवाले उत्तराधिकारीमा कोइरालालाई अघि सार्न सक्ने संकेतको बुझाइ अहिले कांग्रेसका दुवै खेमामा छ । स्वयं कोइरालाले भने यसको खण्डन गरिरहेका छन् । ‘तपाईंहरू शेरबहादुर देउवासँग मिल्यो भनेर लेखिरहनुभएको छ, केमा मिल्यो ? किन मिल्यो ? यसको कारण मैले बुझेको छैन,’ बिहीबार कांग्रेसनिकट प्रेस युनियनको कार्यक्रममा कोइरालाले भनेका थिए, ‘पहिले शेखर सभापति देउवालाई भेट्न जाँदैनथ्यो पनि लेख्नुभएको छ । पहिला शेरबहादुरजीले बोलाउनु हुँदैनथ्यो, म जाँदिन थिएँ । अहिले बोलाएपछि गएको हुँ । नबोलाएको ठाउँमा जाने मेरो बानी छैन ।’

उत्तराधिकारीको बहस सुरु भए पनि देउवा अघिल्लो पुस्ताका नेताहरूले जस्तो आफू कार्यकारी छँदै उत्तराधिकारी तयार गर्ने पक्षमा देखिँदैनन् । बीपी कोइरालाले आफू कार्यकारी पदमा छँदै कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति दिएका थिए । आफूपछि पार्टीको जिम्मा उनले नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई सुम्पेका थिए । त्यसैगरी गिरिजाप्रसाद कोइरालाले आफू कार्यकारीमा छँदै उत्तराधिकारी तयार पार्न सुशील कोइरालालाई कार्यवाहक सभापति बनाएका थिए ।

२०५९ सालमा देउवाले पार्टी विभाजन गरे । त्यसपछि भएको एघारौं महाधिवेशनबाट उपसभापति बनेका सुशीललाई पार्टी एकीकरणसँगै कोइरालाले कार्यवाहक सुम्पेका थिए । करिब सात वर्ष सुशीलले कार्यकारी अधिकारसहित कार्यवाहक चलाए । सुशीलपछि पार्टी नेतृत्व सम्हालेका देउवाले पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि दुई वर्ष बित्न लाग्दा आफ्नो उत्तराधिकारी को हो भन्ने भेउसम्म दिएका छैनन् । संस्थापनपक्षीय एक नेताका अनुसार देउवा पार्टीको सभापतिबाट अलग भए पनि शक्तिको केन्द्रबाट भने अलग हुन चाहेका छैनन् । आफूमा शक्ति केन्द्रित गर्ने र पत्नी आरजु देउवा राणालाई स्थापित गर्ने रणनीतिका साथ उनी अघि बढिरहेको देखिन्छ ।

सहमहामन्त्री भीष्मराज आङ्देम्बे पार्टी सभापति र शेखर कोइरालाबीच विश्वासको वातावरण बढेको सन्देश साउन २ देखि १० गतेसम्म भएको केन्द्रीय कार्यसमितिको बैठकले नै दिएको बताउँछन् । उत्तराधिकारीकै रूपमा अघि सार्न खोजिरहेको विषयमा भने आफू जानकार नभएको उनले बताए । दुई नेताबीच सम्बन्ध सुधार भए पनि सभापतिले तोकिदिएकै आधारमा मात्रै उत्तराधिकारी हुन नसक्ने उनी बताउँछन् ।

‘दुई नेताबीच भित्री तहमा के कुरा भएको छ, थाहा छैन तर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको जस्तो अवस्था अहिले छैन,’ उनी भन्छन्, ‘एउटै उमेर समूहले पार्टीलाई ड्राइभ गर्न सक्दैन । नेतृत्वमा ‘फ्युजन’ को खोजी भइरहेको छ । समयको यो चुनौतीलाई देउवा र कोइरालाले गम्भीर रूपमा लिनुभएको देखिन्छ ।’ शेखर पक्षका केन्द्रीय सदस्य हृदयराम थानी देउवाको उत्तराधिकारी शेखर नै बन्न सक्ने अनुमान लगाउँछन् । संसदीय दल नेताको चुनावपछि दुई नेता (देउवा र शेखर) बीचको घनिष्ठता र संस्थापनपक्षीय नेताहरूले कोइरालासँग बढाइरहेको हिमचिमले समेत त्यस्तो संकेत गरेको उनी ठान्छन् । ‘१५ औं महाधिवेशनमा पार्टी सभापतिमा शेखर कोइराला बलियो उम्मेदवार हुन् भन्ने संस्थापन पक्षका नेताहरूको बुझाइ देखिन्छ, अर्कोतर्फ शेखर दाइ पनि शेरबहादुरलाई नचिढ्याउने र आफ्नो टिमलाई सँगै अघि बढाउने रणनीतिमा हुनुहुन्छ,’ थानी भन्छन् ।

संस्थापन पक्षमा देउवाको उत्तराधिकारीका रूपमा उपसभापति पूर्णबहादुर खड्का स्वाभाविक दाबेदार हुन् तर उनलाई अघि सार्न देउवा पत्नी आरजु बाधक बन्न सक्ने विश्लेषण हुन थालेको छ । यसपछिका केही राजनीतिक पृष्ठभूमि छन् । खड्का कांग्रेस–माओवादी गठबन्धनका प्रमुख सूत्रधार भएर पनि पार्टीले पाएका मन्त्रालय उनले रोज्न पाएनन् । पार्टीबाट सरकारको नेतृत्व गर्ने मन्त्रीले सिद्धान्ततः भागबन्डामा परेका मध्येबाट रोजेको मन्त्रालय पाउनुपर्ने मान्यतामा उनी अन्तिम समयसम्म पनि अडिग थिए । उनको पहिलो रोजाइ अर्थ मन्त्रालय थियो । त्यो नपाउने निश्चित भएपछि सहरी विकास मन्त्रालय लिन चाहेका थिए तर दुवै मन्त्रालय नपाएपछि रक्षामा चित्त बुझाएको कांग्रेस नेताहरू सुनाउँछन् ।

देउवा प्रधानमन्त्री छँदा गलत कदमलाई सार्वजनिक रूपमै औंल्याएर सच्याउन दबाब दिने गरेको घटनाले पनि खड्काप्रति आरजु अनुदार बनेको बुझाइ कांग्रेस वृत्तमा छ । पुस १० मा देउवालाई प्रधानमन्त्री बनाउन आरजुले अडान लिइरहँदा खड्काले कांग्रेस–माओवादी गठबन्धन टुट्न नदिन पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने लाइन लिएका थिए । देउवा र आरजु तयार नभएपछि दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगेका थिए । यी सबै घटनाक्रमले खड्काप्रति देउवा दम्पतीको भरोसा छैन र खड्का पनि विश्वस्त नरहेको नेताहरू बताउँछन् ।

त्यसो त नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोजनमा पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण थुनामा रहेकाले देउवाको ‘कोर समूह’ भित्र खड्काको शक्ति क्षीण बनेको छ । १४ औं महाधिवेशनमा देउवासँगै सभापतिको प्रत्याशी बनेका पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह पनि सके आफ्नो पक्षमा माहोल बनाउने, नभए आफ्नो समकालीनलाई सभापति बनाउने कोसिसमा जान सक्ने नेताहरू बताउँछन् ।

संस्थापनपक्षीय केन्द्रीय सदस्य श्याम घिमिरे नेतृत्वका लागि आकांक्षीमध्ये गगन थापाबाहेक उपसभापति खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह सबैले देउवाको साथ र समर्थन खोजिरहेको बताउँछन् । १४ औं महाधिवेशनमा पाँच जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि भएको दोस्रो चरणको चुनावमा सिंह र निधि दुवै देउवातर्फ लागेका थिए । ‘गगन थापाको विषयमा के हो मलाई थाहा भएन तर शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालासँग पार्टी सभापति खुला भएको पाउँछु, सबैलाई विकल्प खुला गरेको जस्तो लाग्छ,’ घिमिरे भन्छन्, ‘यिनै पाँच जनामध्ये कुनै एकलाई पिक गर्न सक्नु हुन्छ । जसलाई पिकअप गरे पनि नयाँ गुट खडा हुन्छ । परम्परागत गुटहरू रहँदैनन् ।’

थानी भने सभापति पद छाडेपछि पनि राजनीतिको मूल केन्द्रमा रहने चाहना पूरा गर्न देउवाका लागि शेखर कोइराला नै उत्तम विकल्प बन्ने दाबी गर्छन् । ‘समयमै अधिवेशन भए पनि साढे दुई वर्ष अझै बाँकी छ, त्यहाँसम्म धेरै खेल हुन सक्छन् तर असम्भव केही छैन,’ उनले भने, ‘जित्न सक्ने, क्रियाशील र सार्वजनिक इमेजसमेत भएको हिसाबले शेखरलाई नै अघि बढाउन सक्ने सम्भावना म देख्दै छु ।’

सहमहामन्त्री आङ्देम्बेका अनुसार कांग्रेसमा उमेर समूहका हिसाबले चार पुस्ताका नेताहरू संगठनमा जोडिएका छन् । पहिलो पुस्ताका देउवाले अहिले पार्टीको नेतृत्व लिइरहेका छन् । दोस्रो पुस्ताका नेताहरूले ७० वर्षको उमेर पार गरेका छन्, जो नेतृत्वमा आउन लडिरहेका छन् । अर्को पुस्ता ५५ वर्षभन्दा तलको छ, जसले बदलिँदो समयअनुसार नेतृत्व लिन हस्तक्षेपकारी भूमिका खेलिरहेको उनको बुझाइ छ । ५५ देखि ७० वर्षसम्मको अर्को पुस्ता छ, जो कांग्रेसभित्र गुमनाम रहेको आङ्देम्बे बताउँछन् । उनको दाबीलाई मान्ने हो भने आगामी १५ औं महाधिवेशनमा त्यही गुमनाम पुस्ता निर्णायक शक्ति बन्नेछ । त्यही शक्तिले नै देउवाको उत्तराधिकारी छनोट गर्नेछ ।

‘यो पुस्ताले पञ्चायती व्यवस्थाका अप्ठ्यारा दिनहरू भोगेको छ, बहुदलपछिको अवस्थालाई देखेको छ,’ आङ्देम्बे भन्छन्, ‘अहिले ओझेलमा परेजस्तो, भित्र र बाहिर गर्न नसकेजस्तो देखिए पनि यो पुस्ता निर्णायक छ, बूढा र युवाबीचको अन्योललाई चिरेर कांग्रेसमा युवा र पुरानो पुस्ताबीचबाट नेतृत्वको विकास गर्न यसले सकारात्मक हस्तक्षेप गर्न सक्छ ।’

प्रकाशित : श्रावण २५, २०८० ०६:४३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार