Monday, April 29, 2024

छोराभन्दा आमा दुई वर्ष मात्र जेठी, दलित महिला भत्ताबाट वञ्चित

श्रावण २४, २०८०

बझाङ — जलादेवी दमाईंका दौंतरीले सामाजिक सुरक्षा भत्ता पाउन थालेको धेरै भयो । थलारा गाउँपालिका–३ कुचकी उनको भने अझै टुंगो छैन । विपन्न आर्थिक अवस्थाकी निरक्षर जलादेवीले पनि भत्ता कार्ड बनाई माग्न जान्ने बुझ्नेलाई नगुहारेकी होइनन् तर उनको नागरिकता हेर्नेले उमेर पुगेको छैन भन्दै फर्काइदिन्थे ।

केही दिनअघि जब उनको गाउँमा राष्ट्रिय परिचयपत्र बनाउने टोली आयो । तब मात्रै उनले आफूले ज्येष्ठ नागरिक भत्ता नपाउनुको कारण थाहा पाइन् । टोलीका कर्मचारीले भने, ‘तपाईं त आफ्नो छोराभन्दा दुई वर्ष मात्रै जेठी हुनुहुँदो रहेछ ।’ कर्मचारीले यस्तो कसरी भयो भन्नेबारे बताएपछि उनी झसंग भइन् ।

नागरिकतामा गलत उमेर राखिएका कारण उनी सामाजिक भत्ता पाउनबाट वञ्चित भएकी रहिछन् । सरकारी परिचयपत्र टोलीले गलत उमेर राखेर राष्ट्रिय परिचयपत्र नबनाउनुस् भनेपछि तत्काललाई उनी त्यसबाट पनि वञ्चित भएकी छन् । ‘मेरो घरमा कागत हेर्न जान्ने (पढ्न जान्ने) कोही छैनन् । जान्ने मान्छे भएको भए यस्तो हुने थिएन,’ जलादेवीले भनिन्, ‘मैरै उमेरका अरूले तीन चार वर्षदेखि वृद्ध भत्ता लिँदै छन् । मेरो किन भएन भन्दा त उमेरै कम लेखिदिएको रहेछ । दुई वर्षमै छोरा पाएको भनेर लेखिदिएको रहेछ ।’

कर्मचारीको गल्तीले जलादेवीको जन्ममिति गलत लेखियो नै, यो जन्ममितिलाई आधार मान्दा उनी जेठो छोराभन्दा २ वर्ष मात्र जेठी देखिइन् ।

२०६३ चैत २४ मा जारी भएको उनको नागरिकतामा जन्ममिति २०३८ माघ ३ लेखिएको छ । जबकि उनले आफू २२ वर्षकी हुँदा जेठो छोरो जन्माएकी हुन् । जेठो छोरा बिर्खु दमाईंको जन्ममितिमा २०४० जेठ ३ उल्लेख छ । बिर्खुको नागरिकता २०५९ चैत १९ मा जारी भएको हो ।

गाउँमा टोली आएका बेला नागरिकता बनाएकी जलादेवीले त्यतिबेलै आफूलाई ५० वर्षकी भएको तर यकिन जन्ममिति थाहा नभएको बताएकी थिइन् । ‘मैले ५० वर्ष भइसकें, जन्मेको दिन, बार थाहा छैन भनेकी हुँ । नागरिकतामा त यस्तो पो लेखिदिएछन्,’ उनले भनिन्, ‘घरमा कोही पढेको मान्छे भैदिया भए यस्तो हुने थिएन । मेरो त बर्बादै बनाइदिएछन् ।’

सरकारले दलित समुदायका ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भत्तास्वरूप मासिक ४ हजार दिँदै आएको छ । भत्ता आए आफ्नो उपचार गर्न र छोराबुहारी र नातिनातिना गरी १० जनाको परिवारलाई पाल्न सहज हुने जलादेवीको ठम्याइ छ । हचुवाका भरमा आफ्नो उमेर फरक पारिदिनेप्रति आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘मेरो उमेर बिगारेर पायाको सुविधा पनि खान नदिन्या कस्ता बेइमान कर्मचारी रहेछन् ।’ उनले पाएको नागरिकता तत्कालीन टोली प्रमुख विजयराज बडूले जारी गरेको देखिन्छ ।

उनका श्रीमान् डम्मु दमाईभन्दा आफू चार–पाँच वर्ष जेठी भएको बताउँदै उनले आफू ६३ वर्ष भएको बताइन् । उनको श्रीमान् डम्मु नेपालीको नागरिकतामा जन्ममिति २०२२ कात्तिक १० उल्लेख छ । ‘विवाहका लागि माग्न जाँदा पाँच वर्ष जेठी हो, गर्छौ कि नाइँ भनेर छलफल भएको कुरा याद छ । जन्मेको दिन, बार थाहा नपाउँदा आज यस्तो भयो,’ उनले भनिन्, ‘नागरिकता सच्याउनका लागि चैनपुर जाऊँ भने गाडी भाडा पनि छैन ।’ उनको घरबाट सदरमुकाम चैनपुर पुग्न आधा घण्टा पैदल हिँडेर २७ किलोमिटर दूरी मोटर बाटो यात्रा गर्नुपर्छ । उनले नागरिकता सच्याउन मिल्ने/नमिल्नेबारे आफूलाई केही थाहा नभएको भन्दै सहयोगको याचना गरेकी छन् ।

नागरिकतामा उमेर फरक भएको यस्तो घटनामा आवश्यक प्रमाणको अध्ययन गरेर मिति सच्याउन सकिने भए पनि जलादेवीको सन्दर्भमा के गर्न सकिन्छ भन्नेबारे हेर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । ‘प्रक्रियामा केही समय लागे पनि यस्तो घटनामा प्रशासन कार्यालयको रेकर्ड हेरेर नागरिकता सच्याउन सकिन्छ,’ पाण्डेले भने, ‘तर उहाँहरू पहिला निवेदनसहित कार्यालयमा आउनुपर्‍यो । त्यसपछि के भएको रहेछ बुझ्छौं । नियमले मिल्ने सहयोग गर्न हामी तयार छौं ।’

प्रकाशित : श्रावण २४, २०८० १०:५०

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार