Friday, May 3, 2024

माओवादीमा बूढापाका नेता

अधिकांश नेताले पुस्तान्तरणको आवाज उठाएपछि आगामी विधान सम्मेलनबाट विधि तय गर्ने केन्द्रीय समितिको निर्णय

श्रावण २४, २०८०
काठमाडौँ — सशस्त्र द्वन्द्वका बेला र शान्ति प्रक्रियामा आइसकेपछि चुनावमार्फत पहिलो पार्टी बन्दै गर्दा युवा नेताहरूको बाहुल्य रहेको माओवादीमा अहिले ६० वर्ष उमेर पार गरेका नेताहरू धेरै देखिन्छन् । पार्टीका २१ पदाधिकारीमध्ये १७ जनाको उमेर ६० वर्ष नाघिसकेको छ । ७० वर्ष उमेर नाघेका नेताहरू तीन जना छन् । अध्यक्ष पुष्पकमल दाहाल नै ६९ वर्षका भएका छन् । 

तत्कालीन मशालका महामन्त्री मोहन वैद्यलाई विस्थापन गरी नेतृत्व लिँदा दाहाल ३४ वर्षका थिए । त्यसयता दाहालले निरन्तर पार्टीको नेतृत्व गरिरहेका छन् । एकै जनाले लामो समय पार्टी नेतृत्व गरेको विषयमा माओवादीमा नेताहरूले बेला–बेला प्रश्न उठाउँदै पुस्तान्तरणको आवाज उठाउने गरेका छन् । यस पटकको केन्द्रीय समिति बैठकमा भने अलि चर्कै गरी पुस्तान्तरणको आवाज सुनियो । माओवादीको केन्द्रीय समिति बैठकमा नेताहरूले कार्यकारी पदमा रहनेको उमेर हद तोक्नुपर्ने मागसमेत उठेको थियो । तर अध्यक्ष दाहालले तीन महिनापछि हुने विधान सम्मेलनले पुस्तान्तरणका विषयमा विधि तय गर्ने भन्दै पन्छाएका छन् । अध्यक्ष दाहाल स्वास्थ्यले साथ दिए अझै एक दशक नेतृत्वमा रहने चाहना व्यक्त गर्छन् ।

दाहालले छाडिहालेको अवस्थामा पनि नेतृत्व लगभग उही उमेरका नेतामा सर्ने तर अर्को पुस्तामा नपुग्ने देखिन्छ । अध्यक्षपछिको वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव सबैको उमेर ६० वर्षमाथि छ । उपमहासचिवमा भने पाँच जनामध्ये वर्षमान पुन (५२ वर्ष) र शक्ति बस्नेत (५४ वर्ष) मात्र कम उमेरका छन् । यस्तै १० सचिवमा ६० वर्षमुनिका लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य (५९ वर्ष) र देवेन्द्र पौडेल (५९ वर्ष) मात्र छन् । पदाधिकारीमा सबैभन्दा पाका नेता दीनानाथ शर्मा हुन्, उनी ७७ वर्षका छन् ।

युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरिरहेका उपमहासचिव शर्माले पनि ६० वर्ष नाघिसकेका छन् । माओवादीको पदाधिकारीमा नरहे पनि सभामुख भइसकेकी ओनसरी घर्ती ४६ वर्षकी भएकी छन् । माओवादीबाट निर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको उमेर ६७ वर्ष छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ५४ वर्षमा छिन् ।

६३ वर्षका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ युवाका लागि ठाउँ खाली गरिहाल्ने पक्षमा छैनन् । पटक–पटक मन्त्री, सांसद र पार्टीको महत्त्वपूर्ण जिम्मेवारी लिइसकेका अरू पदाधिकारी पनि विश्राम लिइहाल्ने मुडमा छैनन् । उपाध्यक्ष कृष्णबहादुर महरा (६४ वर्ष) र अग्निप्रसाद सापकोटा (६६ वर्ष) भने गत वर्षको आम निर्वाचनमा ‘स्वेच्छा’ ले उम्मेदवार बनेनन् ।

माओवादी सांसद एवं केन्द्रीय सदस्य माधव सापकोटा (४१ वर्ष) राजनीतिक, वैचारिक योग्यता, क्षमता र दक्षताका साथै उमेर समूहका हिसाबले पुस्तान्तरणको बहस उठेको बताउँछन् । ‘अध्यक्ष प्रचण्डले ०४५ सालमा पार्टीको नेतृत्व लिँदा दुई पुस्तालाई क्रस गर्नुभएको थियो । उहाँमा राजनीतिक, वैचारिक योग्यता थियो,’ उनले भने, ‘हाल पार्टीमा पुस्तान्तरणको बहस पनि त्यही आधारमा उठेको हो । अहिलेको युगको आवश्यकता र गतिलाई सम्बोधन गर्न सक्ने युवा नेतृत्व चाहिएको हो ।’

पार्टी सचिवद्वय लीलामणि पोखरेल र डिलाराम आचार्यले भने उमेरले युवा हुँदैमा राजनीतिमा पुस्तान्तरण हुन नसक्ने बताए । ‘योग्यता र क्षमताले प्रतिस्पर्धा गरेर मात्र पुस्तान्तरण हुन सक्छ,’ पोखरेलले भने, ‘विचारले समृद्ध क्षमता भएको युवापुस्ताले मात्र राजनीति हाँक्न सक्छ ।’ आचार्यले हाल माओवादी नेतृत्वमा भएका सबै नेता इकाइ (सेल) समितिमा काम गरेर यो तहमा पुगेको बताए । ‘उमेरका हिसाबले मात्र पार्टी नेतृत्व ताक्नु दिवा सपना हुन्छ । मुख्य गरी पार्टी निर्माणका लागि गरेको योगदानका आधारमा मात्र पुस्तान्तरण हुन सक्छ,’ उनले भने ।

स्थायी समिति सदस्य अञ्जना विशंखले वैचारिक रूपमा बलियो भए पनि पाको उमेरसम्म पदमा रहिरहनु वैज्ञानिक नभएको बताइन् । ‘कुनै पनि व्यक्ति उमेरको हिसाबले सधैं सक्रिय रहन नसक्ने प्राकृतिक कारण छन् । व्यक्तिको उमेरका आफ्नै सीमा छन्,’ उनले भनिन्, ‘राजनीतिक र वैचारिक रूपले बलियो भएको युवामा नेतृत्व हस्तान्तरण हुनुपर्छ । हजुरआमा/हजुरबुवा हावी भए पार्टी रूपान्तरण सहज हुँदैन, जति युवा हुँदा सम्भव छ ।’

कुन पदाधिकारीलाई के जिम्मेवारी ?

माओवादीको शनिबार सकिएको केन्द्रीय समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको छ । पुष्पकमल दाहाल सरकार र पार्टी नेतृत्वको जिम्मेवारी छन् । उपप्रधान तथा गृहमन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सुशासनका काममा मुख्य केन्द्रित भएका छन् । उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकता र समाजवादी मोर्चा, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटाले सूचना प्रविधि र पार्टी प्रवक्ता, पम्फा भुसालले जनवर्गीय संगठनको जिम्मेवारी पाएका छन् । महासचिव देव गुरुङले संगठन, उपमहासचिवहरू वर्षमान पुनले विशेष राज्य इञ्चार्ज, उपमहासचिव जनार्दन शर्माले वाग्मती प्रदेश इञ्चार्ज, मात्रिका यादवले कर्णाली प्रदेश इञ्चार्ज, गिरिराजमणि पोखरेलले सम्पर्क समन्वय प्रमुख सम्हालेका छन् । यस्तै, सचिवहरू डिलाराम आचार्यले सुदूरपश्चिम प्रदेश, लीलामणि पोखरेलले मधेश, चक्रपाणि खनालले कोशी, राम कार्कीले प्रवास, दीनानाथ शर्माले पेसागत, गणेश शाहले विज्ञान प्रविधि विभाग र हितमान शाक्यले लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रकाशित : श्रावण २४, २०८० १०:२९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार