Thursday, May 2, 2024

असम्बन्धित कर्मचारीलाई विदेश पठाउँदै स्वास्थ्यमन्त्री

नीति निर्माताको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य बिमा बोर्ड र स्वास्थ्यसँग सम्बन्धित १६ जनालाई पठाउन कोइकाले पत्राचार गरेकामा बोर्डसँग सरोकारै नराख्ने स्टोर, लेखा, निजी उपसचिवलगायत कर्मचारीमात्रै १४ जना

श्रावण २४, २०८०

काठमाडौँ — स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा बोर्डलाई बाइपास गरी कोरियाद्वारा नेपालको स्वास्थ्य बिमा प्रणालीको सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागेको १० दिने तालिममा आफूखुसी कर्मचारी पठाउन सिफारिस गरेका छन् ।

कोरिया अन्तर्राष्ट्रिय कर्पोरेसन एजेन्सी (कोइका) ले असार ४ मा नीति निर्माताको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य बिमा बोर्ड र स्वास्थ्यसँग सम्बन्धित कार्यालयमा कार्यरत उच्च तह (सहसचिवस्तर) का १३ जना र अन्य मन्त्रालयका ३ जना गरेर १६ जनालाई तालिममा पठाउन पत्राचार गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयले असार १५ गते सचिवस्तरीय निर्णय गरी स्वास्थ्य बिमा बोर्डका वरिष्ठ अहेब भगवान रेग्मीबाहेक बाँकी १४ जना बिमा बोर्डसँग सरोकार नराख्ने स्टोर, लेखा, निजी उपसचिवलगायतका कर्मचारी पठाउने निर्णय गरेको छ । सिफारिस गरिएकामा मन्त्रीका निजी उपसचिव विक्रम श्रेष्ठ, उपसचिवद्वय बाबुराम घिमिरे र कृष्ण थापा, स्टोर शाखाका नासु लिलाम विक, स्वास्थ्य विभागका लेखा अधिकृत मानबहादुर बुढा, अहेब गोपालप्रसाद पाण्डे, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मेडिकल रेकर्डर अफिसर भीमप्रसाद पौडेल, भेरी अस्पतालका नर्सिङ अफिसर मेनिका शाही छन् । त्यस्तै ओखलढुंगा स्वास्थ्य चौकीका पब्लिक हेल्थ अफिसर अहमद मन्सुरी, ट्रमा सेन्टरका जनस्वास्थ्य निरीक्षक इन्दिरा पाण्डे ढकाल, नारायणी अस्पतालका नर्सिङ सुपरभाइजर रिंकु कुमारी, वीर अस्पतालका सिनियर अहेब नवराज श्रेष्ठ, डडेलधुरा अस्पतालका सिनियर अहेब टंकप्रसाद पन्त, भरतपुर अस्पतालका सिनियर अहेब लीलाबहादुर पौडेल छन् ।

कोइकाले २०२२ मा अनलाइनबाट स्वास्थ्य बिमा बोर्डका २० जनालाई तालिम दिएको थियो । यसैगरी २०२३ र २०२४ मा कोरियामा तालिमको व्यवस्था गरेको थियो । कोइकाले पठाएको पत्रअनुसार तालिममा नेपालको स्वास्थ बिमामा देखिएका विद्यमान समस्या, चुनौती पहिचान गरी समस्या समाधानको विषयमा छलफल र बिमामा कोरियाले हासिल गरेको अनुभव आदानप्रदान गर्ने लक्ष्य राखेको छ । तामिल भदौ १७ देखि २६ गतेसम्म चल्नेछ ।

स्वास्थ्य बिमा बोर्डका विज्ञ सदस्य सुरेश तिवारीका अनुसार कोइकाले बिमितलाई दिने बेनेफिट प्याकेज, दाबी भुक्तानी, गुणस्तर नियन्त्रण, अस्पतालहरूसँगको सम्झौताबारे पनि तालिम दिन लागेको हो । ‘तर, अहिले छनोट भएका व्यक्तिहरू न यसबारेमा जानकार छन् न त तत्काल बुझ्न सक्ने क्षमता नै राख्छन्,’ उनले भने, ‘त्यहाँ नेपालको बिमा प्रणालीको बारेमा प्रस्तुति दिनुपर्छ । यसले अन्तर्राष्ट्रिय बेज्जत हुनेबाहेक अरू केही देखिएको छैन ।’ उनका अनुसार गत वर्ष नेपाल भ्रमणमा आएका कोइका अधिकारीहरूसँग बोर्डले तालिमको आग्रह गरेको थियो । ‘बोर्डसँग छलफल नै नगरी आफूखुसी कर्मचारी पठाउन मन्त्रालयको निर्णय तत्काल सच्याउन आग्रह गर्छु,’ उनले भने । कोइकाले अर्थ मन्त्रालयमा पत्र पठाउँदा स्वास्थ्य बिमा बोर्डलाई बोधार्थ दिएको थियो । त्यसपछि अर्थले स्वास्थ्य मन्त्रालयलाई पत्र पठायो । लगत्तै बिमा बोर्डले छलफलका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । तर, मन्त्रालयले बोर्डले पठाएको पत्रको बेवास्ता गरेको जनाइएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले सुगमका एकै ठाउँका कर्मचारी वर्षमा दुई/तीन पटकसम्म विदेश भ्रमणमा जाने प्रवृत्ति हटाउन खोजेको बताए । ‘हुम्लामा १२ वर्षसम्म पनि एकै ठाउँमा बसेको कर्मचारी फेला पर्‍यो । दुर्गमका लागि पनि अवसर दिनुपर्छ,’ उनले भने, ‘यसैलाई मिलाउन खोजिरहेको छु ।’ बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले मन्त्री बस्नेतले गर्न खोजेको केही सुधारको प्रयास राम्रो भए पनि कोरियाको तालिमको सन्दर्भमा सान्दर्भिक निर्णय नभएको बताए । ‘यो गलत ठाउँमा गलत निर्णय भयो,’ उनले भने ।

प्रकाशित : श्रावण २४, २०८० ०७:५६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार