Friday, May 3, 2024

सुन तस्करीका विषयमा प्रतिनिधिसभामा गृहमन्त्रीले जवाफ दिने

श्रावण २३, २०८०

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठक सञ्चालन हुने भएको छ । सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार भने बैठक सञ्चालन गर्न दिने जनाएको छ ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा सम्बोधन गर्ने भएका छन् । यसअघि छानबिन समिति नबनेसम्म संसद् सञ्चालन गर्न नदिने अडानमा रहेको एमाले मंगलबार गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो ।

संसद‌्‌मा अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार ३ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दिने बताए । ‘हामीले पुरानै मागहरू राख्यौं । तर कुनै सहमति भएन, प्रधानमन्त्रीजीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सहमत हुनुभएन,’ उनले भने, ‘तर धेरै दिनसम्म संसद् अवरुद्ध गर्ने कुराले भ्रम फैलिएको छ । सरकार र सत्तापक्षले प्रमुख प्रतिपक्षीलाई गलाउने, थकाउने, निचोड केही नदिएर जनताका बीचमा भ्रम फैलाउने प्रयास गरिरहेको छ । त्यसैले आजको बैठक चल्छ । बैठकमा गृहमन्त्रीजीले सम्बोधन गर्नुहुन्छ । सांसदहरूले आफ्नो कुरा राख्नुहुन्छ । त्यसपछिको अवस्था हेरेर हामी अघि बढ्छौं ।’

उनले देशभरि बाढी पहिरोले क्षति पुर्‍याएको र जनजीविकाका अन्य सवालहरू समेत संसद्‌मा उठाउन आवश्यक रहेको बताए ।मंगलबार ३ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसअघि सभामुख देवराज घिमिरेले बैठक सञ्चालनकै विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई बोलाएका छन् ।

प्रकाशित : श्रावण २३, २०८० १४:२६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार