Thursday, May 9, 2024

कांग्रेसमा युवा र बुढाको लडाइँ छ : सहमहामन्त्री आङ्देम्बे

श्रावण २०, २०८०

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीमा पुस्तान्तरण र रुपान्तरणका एजेन्डामा युवा र बुढा पुस्ताबीच लडाइँ चलिरहेको बताएका छन् । उनले पार्टीमा युवा र बुढा पुस्ताका बीचमा रहेको एउटा पुस्ता गुमनाम रहेको र आफू त्यही पुस्ताको नेता भएको समेत बताए ।

काठमाडौं क्षेत्र नं. ९ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले भने, ‘अहिले नेपाली कांग्रेसमा पुस्ता–पुस्ताबीचको लडाइँ चलिरहेको छ । बाबु पुस्ताले नेतृत्व गरिरहेको छ । अर्को एउटा पुस्ता ७० नाघिसकेको पुस्ता छ, जो नेतृत्वमा आउन लडिरहेको छ, अर्को पुस्ता ५५ भन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ र हस्तक्षेपकारी भूमिका देखाउन खोजिरहेको छ । तर यो बीचमा अर्को एउटा गुमनाम पुस्ता पनि छ, ५५ देखि ७० वर्षको । अहिलेलाई नेपाली कांग्रेसमा यो पुस्ता निर्णायक छ ।’

उनले पार्टीमा अहिले गुमनाम रहेको पुस्ता कमजोर नरहेको समेत दाबी गरे । ‘म पनि त्यही गुमनाम पुस्ताको एउटा सदस्य हुँ जस्तो लाग्छ । तर यो गुमनाम पुस्ता अहिलेलाई कांग्रेसको निर्णायक शक्ति हो । युवा र बुढा भनेर घरिघरि भइरहने लडाइँमा फ्युजन गरेर कांग्रेसमा नयाँ रक्तसञ्चार गर्न सक्ने यो गुमनाम पुस्ता नै हो,’ उनले भने ।

उनले हतार गरेर नेतृत्वमा पुग्न नसकिने बताए । ‘हतारिएर कुनै पनि चिज प्राप्ति हुन सक्दैन । हामीले सकारात्मक हस्तक्षेपको वातावरण बनाएर क्रमश: हामी अघाडि जानुपर्ने हुन्छ,’ उनले भने ।

सहमहामन्त्री आङ्देम्बेले अब कांग्रेसमा नेताको खल्तीको मान्छेले मात्रै सदस्यता पाउने अवस्थाको अन्त्य हुने बताए । ‘हामीले सदस्यतालाई व्यवस्थित बनाएर अघि बढ्ने योजना बनाएका छौँ । अब पार्टीमा आफूलाई चुनाव जित्न सजिलो होस् भनेर नेताले खल्तीका मान्छेलाई बोकेर ल्याउने र सदस्यता दिने परम्पराको अन्त्य हुन्छ,’ उनले भने, ‘हामीले विदेशमा रहेका शुभचिन्तकहरूलाई समेत नेपाली कांग्रेसमा गोलबद्ध गरेर अघि बढ्ने प्रस्ट योजना बनाएका छौं ।’

उनले कांग्रेस सबै खालका भ्रष्टाचार काण्डको विपक्षमा रहेको बताए । ‘चाहे त्यो ललिता निवास प्रकरणमा होस् वा नक्कली भुटानी शरणार्थी प्रकरणमा होस्, सबै कुराको सत्यतथ्य छानबिन हुनुपर्छ,’ उनले भने, ‘कांग्रेस सबै खाले भ्रष्टाचारको निर्मूल पार्न तयार छ ।’

प्रकाशित : श्रावण २०, २०८० १५:४६

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार