Monday, April 29, 2024

केदारनाथ पहिरो : ज्यान गुमाएका युवाको परिवार शोकमा

श्रावण २०, २०८०

कालीकोट — भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी ज्यान गुमाएका कालीकोटको खाडाचक्रका ३ युवकको परिवार शोकाकुल बनेको छ । गत वैशाखमा नयाँ वर्ष मनाएर केदारनाथ गएका खाडाचक्र १ र २ मान्म गाउँका ३ युवकको पहिरोमा ज्यान गएको हो ।

भारतको केदारनाथमा पहिरोमा परी ज्यान गुमाएका कालीकोटको खाडाचक्र २ मेग्रका ३२ वर्षीय टेक विककी शोकाकूल पत्नीसहित आफन्तहरू ।

केदारनाथ पैदलमार्गको पहिलो विन्दु गौरीकुण्डको एक होटलमा सुतिरहेको अवस्थामा १८ गते राति गएको पहिरोमा परी कालीकोटको खाडाचक्र १ मान्म कोइरेल गाउँका ३९ वर्षीय प्रकाश ताम्राकार, खाडाचक्र २ मान्म धैनेडीका ३२ वर्षीय टेक विश्वकर्मा र ३८ वर्षीय देवी विश्वकर्माको मृत्यु भएको खाडाचक्र १ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । ‘ज्याला मजदुरी गरेर परिवार पाल्ने ३ जना युवकको मृत्यु भएको खबर आएपछि परिवार शोकमा छ,’ उनले भने, ‘परिवारमा रुवाबासी छ । भारत गएर लास बुझ्न सक्ने पनि घरमा कोही छैनन् ।’

कालीकोटका तीनै जना युवाहरू केदारनाथमा काम गर्नका लागि जिल्ला प्रशासनबाट सिफारिस लिएर गत वैशाख ३ गते घरबाट गएका थिए ।

भारतको कमाइले परिवार पाल्दै आएका टेक विश्वकर्माको परिवारमा ६ वर्षकी छोरी मनिषा र ४ वर्षका छोरा आयुष भएको पत्नी भद्दा विकले कान्तिपुरलाई बताइन् । ‘कमाइ भएपछि दसैंसम्म फर्किन्छु भनेका थिए,’ उनले ३ दिनअघि पतिसँग मोबाइलमा कुरा गरेको सुनाउँदै भनिन्, ‘दुःखद खबर आयो । मेरो त संसारै अँध्यारो भयो ।’

खेतबारीको कमाइले ३ महिना पनि खान नपुग्ने उनको परिवार भारतको ज्यालामजदुरीले धानेको थियो । उनको घरमा ७८ वर्षका वृद्ध बुबा धन्सुरे र आमा थुर्पी छन् । तर हिँडडुल गर्न सक्दैनन् । दुवै दमका बिमारीले थला परेका छन् ।

एक वर्षसम्म भारतको टिहीमा ज्याला मजदुरी गर्दा कमाइ राम्रो नभएपछि केदारनाथमा कण्डी (मान्छे बोक्ने काम) को काम खोज्दै केदारनाथ पुगेको देवी विकको परिवारको पनि बिचल्ली छ । भारतको कमाइ पतिले पठाइदिएर दुई नाबालक छोराको लालनपालन गर्दै आएकी उनकी ३० वर्षीया पत्नी झुमा विक मृत्युको खबर सुनेपछि होसमा नभएको स्थानीय भवानी आवासीय विद्यालय मेग्रका प्रधानाध्यापक नर विश्वकर्माले बताए ।

त्यस्तै, कोइरेल गाउँका प्रकाश पनि वैशाखमै घरबाट केदारनाथ गएका थिए । पहिरो गएको दिन देवी केदारनाथको चुचुरोबाट भारी बोकेर तल गौरीकुण्ड झरेको स्थानीय नन्दे कामीले बताएका छन् । उनी पहिरो गएको ठाउँभन्दा ३ सय मिटर पर बास बसेका थिए । केदारनाथ पहिरोमा ज्यान गुमाएकामध्ये हालसम्म ९ जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको नन्देले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले केदारनाथ पहिरोमा हालसम्म तीन जना नेपालीसहित एक भारतीयको शव भेटिएको जनाएका छन् । बेपत्ताहरूको खोजी भइरहेको बताइएको छ ।

प्रकाशित : श्रावण २०, २०८० १३:५२

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार