Friday, March 1, 2024

हनुमानढोकामा तैनाथ पृथ्वीनारायणका सेना

काठमाडौं–संस्कृतिको अभिन्न अंग शार्दूल–फौजलाई नेपाल एकीकरण र नेपाल–अंग्रेज युद्धमा परिचालन गरिएको थियो । काठमाडौं विजयपश्चात् त्यही फौजलाई हनुमानढोका ल्याइयो ।

श्रावण २०, २०८०

काठमाडौं उपत्यकाका मुख्य जात्राहरूमा कालो पोसाकमा सजिएका झाँकी देखिन्छन् । ती अघिअघि बाजा बजाउँदै हिँडेका हुन्छन् र पछाडि भरुवा बन्दुक बोकेर मार्चपास गरिरहेका । यो झाँकी नेपाली सेनाको हो । यही सेनाले बढाइँ गरेपछि जात्रा सुरु हुन्छ यहाँ । जात्रा अन्त्य पनि यही सेनाले बढाइँ गरेपछि मात्रै हुन्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा काठमाडौं विजय गरेदेखि सुरु भएको यो परम्परा अझै जारी छ । इन्द्रजात्राका बेला विसं १८२५ असोज १३ मा काठमाडौं विजय गरेको थियो गोर्खाली फौजले । लिच्छविकालमा कोलिग्राम भनी चिनिएको माथिल्लो टोल र दक्षिण कोलिग्राम नामले चिनिने तल्लो टोलमा अघिल्लो दिन र भोलिपल्ट कुमारीको रथ तान्ने परम्परा छ । दक्षिण कोलिग्रामको जैसिदेवल, कोहिटी भीमसेनस्थान हुँदै कुमारीको रथ तान्ने तिथि परेको दिन थियो त्यो । रथ तानेर कोहिटी पुर्‍याइएको थियो ।

कुमारीको रथमा कान्तिपुरका राजा जयप्रकाश मल्ल आफैं थिए, जात्राको अवलोकन गरिरहेका । त्यही बेला कान्तिपुर सहरको नरदेवी, भीमसेनस्थान र टुँडिखेल गरी तीनतिरबाट आक्रमण गर्‍यो गोर्खाली सेनाले । कान्तिपुरको किल्ला फोरेर गोर्खाली सेना भित्र पसे । इतिहासकार गौतमबज्र बज्राचार्यका अनुसार, कान्तिपुरका राजा जयप्रकाश भागेर पाटन पुगे । कान्तिपुर विजय गरेपछि पृथ्वीनारायण शाहले रथयात्रा चलाउन दिए । ‘पृथ्वीनारायण शाहले कुमारीको दर्शन गरे,’ बज्राचार्यले ‘हनुमानढोका राजदरबार’ मा लेखेका छन्, ‘नेपालको इतिहासमा गोर्खालीको विजय युगान्तकारी घटना थियो ।’

काठमाडौं विजय गरेकै दिन पृथ्वीनारायण शाहले वसन्तपुर डबलीमा सुनको सिंहासनमा बसेर आफूलाई काठमाडौंको राजा घोषणा गरेका थिए । त्यही बेलादेखि डबलीमा राजप्रतिनिधिको स्वरूप मानेर खड्ग राख्ने परम्परा सुरु भयो । इन्द्रजात्रालाई विजय उत्सवको रूपमा मनाए पृथ्वीनारायणले । पृथ्वीनारायणपछिका राजाले पनि इन्द्रजात्रालाई विजय उत्सवै मान्न थाले । ‘राणाको समयमा पनि प्रधानमन्त्रीदेखि सारा सैनिक कर्मचारी यस जात्रामा सहभागी हुन्थे,’ बज्राचार्य लेख्छन्, ‘उच्च ओहोदाका व्यक्ति हात्ती र घोडामा चढेर नगर परिक्रमा गर्थे । केही दशकअघिसम्म पनि यो प्रथा रहिआएको थियो ।’ राजतन्त्र हुन्जेल कुमारीको रथयात्रा हेर्न राजा, राजपरिवारको सदस्य पनि वसन्तपुर आउँथे । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि यो परम्परामा राष्ट्रपतिले निरन्तराता दिँदै आएका छन् ।

पृथ्वीनारायण शाहले जुन ठाउँमा युद्ध जिते, त्यो ठाउँको स्थानीय संस्कृतिलाई स्वीकार गर्ने रणनीति लिए । त्यहाँका देवीदेवता, धार्मिक र सांस्कृतिक मान्यताको रक्षा गर्ने नीति लिए । सैनिक इतिहासमा विद्यावारिधि गरेका पूर्वजर्नेल प्रेमसिंह बस्न्यातका अनुसार, धार्मिक र सांस्कृतिक मान्यताको रक्षा गर्ने स्वभावले नै पृथ्वीनारायणले जनताको मन जितेका थिए ।

अहिले उपत्यकाको संस्कृतिको अंग बनेको शार्दूल–फौज उतिबेला नेपाल एकीकरणमा परिचालन गरिएको थियो, यो प्रसंग छ– ‘खाँडो’ पुस्तकमा । यही फौजले नेपाल–अंग्रेज युद्ध पनि लडेको थियो । शार्दूलजंग गुल्मको अभिलेखअनुसार, यही शार्दूल फौजलाई काठमाडौं विजयपश्चात् हनुमानढोकामै तैनाथ गरियो । पछि गीर्वाणयुद्धविक्रम शाहले विसं १८५६ मा शार्दूलजंग कम्पनी बनाए । त्यही कम्पनीे पछि शार्दूलजंग गुल्मका रूपमा विकास भयो । गुल्ममा अहिले दुई सय सैनिक कार्यरत छन् । यो गुल्मका सैनिकले सांस्कृतिक झाँकीका लागि बाजागाजा सिकेकै हुनुपर्छ ।

सेनाका अरू पल्टनबाट पनि यहाँ सरुवा भएर आउँछन् । गुल्मपति एक वर्ष मात्रै यहाँ रहने व्यवस्था छ । क्याप्टेन दुई/तीन वर्षसम्म रहन सक्छन् । अधिकृतभन्दा तल्लो तहका भने जति वर्ष पनि बस्न पाउँछन् । गुल्म क्याप्टेन रमेशबहादुर खत्री भन्छन्, ‘यहाँ आउने, जाने त भइराख्छ तर दक्षता हासिल गरेपछि प्रायजसो यहीँ बस्छन् ।’

झाँकी प्रस्तुत गर्न वानदार समूह हुन्छ । समूहले ढोल, तमर, झ्यालीको र बासुरीको धुनमा संगीत गुन्जाउँछ । यो बाजाको पछि भरुवा बन्दुक बोकेका सेनाले मार्चपास गर्छन् । क्याप्टेन खत्रीका अनुसार, वानदार समूहले बजाउने बाजा पनि नेपाल एकीकरणकै क्रममा बजाइएको हो । ‘वानदार दर्जीको अगुवाइमा बजाइएको भएर समूहको नामै वानदार रह्यो,’ खत्रीले भने ।

सांस्कृतिक सेनाले बढाइँ गरेपछि मात्रै काठमाडौंका जात्राहरू सुरु हुन्छन्, अन्त्य पनि उनीहरूको बढाइँपछि नै हुन्छ ।

एउटा जात्रामा ३० देखि ६० जनासम्मको टुकडी सहभागी हुन्छ । ठूला जात्रामा ठूलै संख्यामा र साना जात्रामा सानो संख्यामा सहभागी हुन्छन् । केही जात्रामा अधिकृत पनि सहभागी हुनुपर्छ । इन्द्रजात्रा, रातो मत्स्येन्द्रनाथको जात्रा, फूलपाती गरी तीनवटा जात्रामा गुल्मपतिसहित अधिकृत सहभागी हुन्छन् । गुल्ममा मेजर, क्याप्टेन, जमदार, हुद्दा अमलदार, प्युठ, सिपाही र वानदारजस्ता समूह हुन्छन् । दौरा–सुरुवाल, जामा, पटुका, सेतो छालाको पेटारो, मेडल, खुकुरी, ढाल, तरबार र कालो छालाको एककाने जुत्ता, पहेंलो मोजा र शिरमा चाँदतोडा पहिरिएका हुन्छन् । हरेक दुई वर्षमा जँगी अड्डाले पोसाक व्यवस्था गर्छ ।

अधिकृतले लगाउने पोसाक सेतो रंगको हुन्छ, त्योभन्दा तल्लो दर्जाकाले लगाउने पोसाक कालो । पोसाक उस्तै देखिए पनि चिह्न फरक हुन्छन् । सबैको शिरमा चाँदतोडा हुन्छ । चाँडतोडा भने दर्जाअनुसार फरक हुन्छ । सुनको जलप लगाइएको चाँदी बेरिएको चाँदतोडा हुन्छ अधिकृतले लगाउनेमा । अगाडि सुनको जलप लगाइएको सिंह हुन्छ । शार्दूलको अर्थ हुन्छ– सिंह । चाँदतोडामा यही सिंह हुन्छ । ‘सेनाको यस्तो पोसाक यही गुल्ममा मात्र छ,’ गुल्मपति पूर्ण प्रजापतिले भने, ‘यो गुल्मले नै नेपालको सांस्कृतिक विरासत धानेको छ ।’

विसं १६१६ मा स्थापना भएको थियो नेपाली सेना । लमजुङे राजा यशोब्रह्मका छोरा द्रव्य शाहले लिगलिगकोट विजय गरेपछि यो सेना गठन भएको हो । लेखक बस्न्यातका अनुसार, सेनाको पहिलो सेनाधिपति द्रव्य शाह नै हुन् । द्रव्यले आफ्नो राज्यमा सेना खडा गरेपछि भगीरथ पन्तलाई पहिलो सेनापति बनाएका थिए । सेनाको गठन भएदेखि नै संस्कृति संरक्षणलाई उसले प्राथमिकता दिंदै आएको छ । प्रजापति भन्छन्, ‘शार्दूलजंग गुल्म अरू युनिटभन्दा बिलकुलै फरक हो । यो सांस्कृतिक पल्टन हो ।’

काठमाडौंको इन्द्रजात्रा, सेतो मत्स्येन्द्रनाथ, पचली भैरव, कँडेल भगवतीको फूलपाती भित्र्याउने जात्रा, देगु तलेजु महाराज प्रचार पूजा, गंगामाई जात्रा, ललितपुरको रातो मत्स्येन्द्रनाथ लगायत ३० मुख्य जात्राको अंग हो यो सेना । ‘सेनाको वार्षिक क्यालेन्डरमै समेटिएका हुन्छन् यी जात्रा पर्व,’ प्रजापतिले भने, ‘यो क्यालेन्डर अनुसार जात्रा सञ्चालन गर्न सेना तयार भएर बसेको हुन्छ ।’ सेनाको यो क्यालेन्डर हेडक्वाटरबाटै स्वीकृति भएर आउँछ । जात्रा पर्वमा सहभागी हुने मात्रै होइन, त्यसअघिका तयारीका चरणमा पनि सहभागी हुन्छन् । सबै जात्रा तिथिअनुसार हुन्छ । ‘जात्राको मिति आइसक्दा पनि व्यवस्थापकबाट चिठी आएन भने सेनाले चासो लिन्छ । के भएको छ भनेर सोध्छ । झकझकाउने काम समेत गर्छ,’ क्याप्टेन खत्रीले भने ।

जात्रामा सहभागी हुने भएकाले यो सेना स्थानीयवासीसँग पनि जोडिएको हुन्छ । सेनालाई स्थानीयवासीसँग भावनात्मक रूपमा जोडेको झोंछेका गणपतिलाल श्रेष्ठ बताउँछन् । ‘सेना सहभागी भएर हाम्रा जात्रा पर्वलाई राष्ट्रिय मान्यता दिएको छ,’ श्रेष्ठ भन्छन्, ‘सेनाको झाँकी र मार्चपासले हाम्रो जात्रामा थप रौनक थपिदिएको हुन्छ ।’ जात्रा पर्व मात्र नभएर वसन्तपुर वरपर दैवी विपत्ति पर्दासमेत यो सेना खटिने गरेको छ । ‘आगलागी, भुइँचालोजस्ता विपत्तिमा यो सेनाको सहयोग अविस्मरणीय छ,’ श्रेष्ठ भन्छन् । यो सेनाले सांस्कृतिक गतिविधिबाहेक हनुमानढोका दरबारको संरक्षण, संग्रहालयको हेरचाह, मल्लकालीन राष्ट्रिय ढुकुटीको संरक्षणको जिम्मेवारी पनि पाएको छ ।

काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न जात्रा नेवारी संस्कृतिसँग जोडिएका छन् । अन्य जातिको भन्दा नेवारै गुल्म प्रमुख भए संस्कृति बुझ्न सजिलो हुन्थ्यो भनेर काठमाडौं महानगरपालकाका तत्कालीन उपप्रमुख हरिप्रभाव खड्गीले प्रधानसेनापतिसँग आग्रह गरिन् । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो पटक नेवार समुदायबाट श्रवण प्रजापतिलाई पठाए । उनीपछि विकास शाक्य, असीम श्रेष्ठ, शिव भँडेल गुल्मपति भए । ‘गैरनेवार गुल्मपति हुँदा यहाँको संस्कृति बुझ्नै समय लाग्थ्यो,’ गणपति भन्छन्, ‘नेवारै आएपछि संस्कृति बुझाइराख्नुपरेन ।’

नेवार गुल्मपति भएपछि यहाँ केही परिवर्तन पनि भए । पहिला वानदार समूहले मात्रै झाँकी प्रस्तुत गर्थ्यो । विकास शाक्य गुल्मपति हुँदा उनले नेवार समुदायमा प्रचलित परम्परागत धिमेबाजाको प्रशिक्षण दिने व्यवस्था गरे । दुई–तीन वर्षअघिदेखि सेनाले धिमेबाजा पनि बजाउँछ । धिमेबाजा समूह नै छ सेनाभित्र । यो टुकडीका लागि कालो भादगाउँले टोपी, कालो दौरासुरुवाल, सेतो पटुका, क्यानभास जुत्ता र पहेलो मोजा तोकिएको छ । यो वर्षदेखि नेवारी समुदायमा ऋतुअनुसार बजाइने धुन पनि सिकाउन सुरु भएको छ । ऋतुअनुसार, महिनाअनुसार, समयअनुसार बजाइने बेग्ला–बेग्लै धुन हुन्छन् । दसैंमा मालश्री, फागुनमा होली, पाहाचह्रेमा घाटु, असारमा सिनाज्याः, साउनमा गुँला, भदौमा यँला र हरेक बिहान व्याँचुली धुन !

मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको राजधानी नै हो– वसन्तपुर । लिच्छविकालीन काष्ठमण्डपदेखि शाहकालीन दरबारसमेत छन् यहाँ । त्रैलोक्यमोहन, कविन्द्रपुर, भगवती, ठूलो घण्टा, प्रस्तरको विष्णुमूर्ति, शिवपार्वती, जगन्नाथ, इन्द्रपुर, प्रतापध्वज, तलेजु, देगुतलेजु, महाविष्णु, महेन्द्रश्वर, आगमछेंजस्ता प्राचीन मठ मन्दिर छन् । दरबारभित्र इतिहास झल्काउने नासलचोक, मोहनचोक, सुन्दरचोक, वसन्तपुर चोक, दाखचोक, लामचोक, त्रिशूलचोक, न्हुच्छेचोक जस्ता अनेक चोक छन् ।

दुमाजु जात्रा, नुवाकोट भगवती जात्रा, कुमारको खट जात्रा, कुमारी रथयात्रा, गाईजात्रा, चागुनारायणको जात्रा, इन्द्रध्वजोत्सव, इन्द्रजात्रा, पचलीभैरव जात्रा, गुहेश्वरीको जात्रा, वसन्तश्रवण, फागूलगायत अनेकन सांस्कृतिक क्रियाकलाप हुन्छन् यी क्षेत्रमा । यस्तो ऐतिहासिक र सांस्कृतिक वैभव भएको ठाउँमा सरुवा भएर आउने सैनिकले पनि फरक अनुभूति गर्छन् । ‘महसुस गर्न सके यी सम्पदाबाट धेरै ज्ञान लिन सकिन्छ,’ खत्री भन्छन्, ‘महत्त्वपूर्ण सांस्कृतिक वैभव जोगाउने सैनिक हुँ भन्दा गर्व लाग्छ ।’

प्रकाशित : श्रावण २०, २०८० १०:५४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार