Thursday, May 9, 2024

भारतीय सहयोगमा शिक्षा र खानेपानी परियोजना निर्माण हुने

श्रावण १९, २०८०

काठमाडौँ — भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा (शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक) परियोजनाहरूको समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी परियोजनाको अनुमानित लागत १७ करोड रहेको दूतावासले जनाएको छ ।

शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।

यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने दूतावासले जनाएको छ ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको दूतावासले जनाएको छ । यसमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

प्रकाशित : श्रावण १९, २०८० २०:१७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार