Tuesday, June 25, 2024

सीटीईभीटीको प्रवेश परीक्षा स्थगित

श्रावण १९, २०८०

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शनिबार र बुधबारलाई तोकिएको प्रवेश परीक्षा स्थगित गरेको छ । स्थगित परीक्षा भदौ पहिलो साता सञ्चालन गरिने परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जनाए ।

चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच विवाद हुँदा प्रवेश परीक्षा स्थगित गरिएको हो । शिक्षामन्त्री अशोककुमार राई र शिक्षासचिव सुरेश अधिकारीले आयोग र सीटीईभीटी समन्वय गरी अघि बढ्नुपर्ने निर्देशन दिएपछि प्रवेश परीक्षापछि सारिएको सीटीईभीटीले जनाएको छ । शिक्षा मन्त्रालयमा प्रवेश परीक्षा सञ्चालनका विषयमा बुधबार र बिहीबार बैठक भएको थियो । आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी उपस्थिति बैठकमा आपसमा समन्वय गरेर अघि बढ्ने अनौपचारिक सहमति भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सीटीईभीटीले चिकित्सा ऐनविपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षणसंस्थालाई सम्बन्धन दिने, सिट निर्धारण र भर्ना आह्वान गरेपछि दुई निकायबीच द्वन्द्व सुरु भएको थियो । ऐनमा चिकित्सा शिक्षाको नियमन आयोगले गर्ने उल्लेख छ । सीटीईभीटीले ऐन मिचेपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत निर्णय सच्याउन अल्टिमेटम दिएका थिए । सीटीईभीटीको अवैध निर्णय सुधार नभए साउन अन्तिम सातादेखि सत्याग्रह थाल्ने उनले चेतावनी दिएका छन् । ‘चिकित्सा आयोगको सहमतिमा मात्रै सीटीईभीटीले सम्बन्धन, भर्ना, सिट निर्धारण, शुल्कलगायत विषयमा निर्णय लिने कुरा भएको छ,’ बैठकमा सहभागी एक सहसचिवले भने, ‘१५ दिनभित्र समन्वय र सहमति गरी भदौ पहिलो साता सीटीईभीटीको प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’

सीटीईभीटीले स्थगित परीक्षा भदौ २ र ६ गते सञ्चालन गर्ने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सूचना जारी गरी प्राविधिक कारणले प्रवेश परीक्षा स्थगित गरेर पुनः अर्को मिति तोकिएको जनाएको छ । सीटीईभीटीकाअर्न्तगतका ४९ वटा कलेजलाई चिकित्सा शिक्षा ऐनविपरीत सम्बन्धन दिइएको थियो । ती कलेजमा आफैंले सिट निर्धारण गरेर भर्ना आह्वान गरिएको हो । त्यसबाहेक गतवर्ष अयोगबाट सिट निर्धारण गरिएका १ सय ४९ कलेजमा पनि यसपालि सीटीईभीटीले आफूखुसी भर्ना आह्वान गरेको थियो ।

प्रकाशित : श्रावण १९, २०८० १९:०२

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार