Wednesday, May 15, 2024

मोदी थर प्रकरण : सर्वोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक‚ सांसद पद पुनर्बहाली

काठमाडौँ — भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत आग्रह गरेको छ । सर्वोच्च अदालतका एक वरिष्ठ अधिवक्तालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ‚ ‘यो कुनै एक व्यक्तिको मात्र विषय होइन; जति पनि व्यक्तिले राहुल गान्धीलाई संसद्‌मा पुर्‍याए‚ उनीहरूको अधिकार हननको विषयसमेत हो ।’

यसअघि भारतको गुजरात उच्च अदालतले मानहानी मुद्दामा कांग्रेस नेता गान्धीको पुनरावेदन खारेज गरिदिएको थियो । सुरतको एक अदालतबाट दोषी ठहर भएका गान्धीले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

राहुल गान्धीको पुनरावेदनमा गत मे २ मै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकको इजलासले सुनुवाइ सके पनि फैसला सुरक्षित राखेको थियो ।

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका थिए । सुरत अदालतले पनि उनको पुनरावेदन खारेज गरे पनि जमानत भने दिएको थियो ।

गान्धीलाई सुनाइएको सजाय सुप्रिम कोर्टबाटै रोकिएकाले अब उनको सांसद पद पुनर्बहाली भएको छ ।

भारतमा २ वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ । सन् २०१९ को चुनावी सभामा ‘सबै चोरको थर मोदी नै किन हुन्छ ?’ भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको हो ।

प्रकाशित : श्रावण १९, २०८० १५:५१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार