Tuesday, March 19, 2024

मकर संक्रान्तिमा स्नानको धार्मिक तथा वैज्ञानिक महत्व

ज्योतिषी सुरेशचन्द्र रिजाल

हरेक वर्ष सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति भन्ने गरिएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले पनि आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । सूर्यले एक वर्षमा महत्त्वपूर्ण दुइटा रेखा पार गर्नुपर्ने छ, जसमध्ये मिथुन राशिलाई छोडेर कर्कट राशि अर्थात् कर्करेखामा प्रवेश गर्ने दिन र धनु राशिलाई छोडेर मकर राशि अर्थात् मकर रेखामा प्रवेश गर्ने दिन । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले दुईवटै विन्दुलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । कर्कट रेखामा प्रवेश गरेपछि दक्षिणायण सुरु हुन्छ भने मकर रेखामा प्रवेश गरेपछि उत्तराण सुरु हुन्छ ।

शास्त्रीय नियमअनुसार दक्षिणायण देवताहरुको रात्रि अर्थात् नकारात्मकताको प्रतिकक तथा उत्तरायण देवताहरुको दिन अर्थात् सकारात्मक प्रतिकारुपमा व्याख्या गरिएको छ । त्यसकारण यस दिन जप, तप, दान, स्नान, श्रद्धा, तर्पण तथा भोजन आदि धार्मिक क्रियाकलापको विशेष महत्व रहेको छ । यस्तो अवस्थामा दिइएको दान अक्षय लामो समयसम्म रहिरहने शास्त्रमा व्याख्या गरिएको छ । आजका दिन शुद्ध घ्यू तथा मक्बल दान गरेमा मोक्ष प्राप्ति हुने पनि जनविश्वास रहिआएको छ ।

मकर संक्रान्तिबाट अग्नि तत्व सुरु हुन्छ भने कर्कट संक्रान्तिबाट जलतत्व सुरु हुन्छ । अग्नि तत्व सुरु हुने हुँदा हाम्रो शरीरमा कुनै पनि प्रकारका समस्या नपरोस् सधैंभरि जलतत्व र अग्नितत्व सन्तुलनमा रहिरह्योस भन्नका लागि आजको दिन गंगा, नदी तलाउमा स्नान गर्नुपर्ने धार्मिक जनविश्वास सदियौंदेखि रहिआएको छ । पुराणहरुमा व्याख्या गरिएअनुसार देवलोकबाट पनि देवताहरु मकर स्नान गर्न पृथ्वीमा आउने उल्लेख गरिएको छ । विशेष देवघाटमा देवताहरुको स्नान गर्ने मुख्य स्थान भएकाले उक्त स्थानलाई देवघट्ट देवताहरु भेट हुने स्थान भनेर व्याख्या गरिएको छ । यसका अतिरिक्त देशैभरिका धार्मिक स्थानहरुमा भक्तहरु स्नान गर्ने भक्तहरुको उल्लेख्य रुपमा उपस्थिति हुने गर्दछ ।

वेदमा सूर्य उपासनाको सर्वोपरि मानिएको छ र उत्तरायण प्रारम्भ भएपछि विशेष मांगलिक कार्यहरु प्रारम्भ गर्न सकिन्छ । विबाह, ब्रतबन्ध, गृहप्रवेश, देवप्रतिष्ठा, मुन्डनकार्य आदि विशिष्ट यज्ञहरु पनि गर्न मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । यस वर्षको मकर संक्रान्तिका वाहन बाघ, उपवाहन घोडा रहेको छ । शनिबार सङ्क्रान्ति पर्नुलाई शास्त्रमा नकारात्मक संकेतका रुपमा व्याख्या गरिएको छ । विशेष राजनीतिमा मतभेद, आर्थिक अवस्था कमजोर बन्नेछ । जनतामा नैराश्यताको भावना उत्पन्न हुने छ । बाहिरी शक्तिको चलखेल उल्लेख्य रुपमा रहने छ । छिमेकीसँगको सम्बन्घमा नकारात्मक भावना पैदा हुने जस्ता फलहरु भोग्नुपर्ने छ ।

(लेखक रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार