Thursday, April 18, 2024

सरकारी कार्यालयमा सेवाग्राहीको चाप, सिन्धुपाल्चोक प्रशासनमा आलोपालो प्रणाली लागू हुने

चौतारा, २८ पुस

कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहँदा जिल्ला प्रशासन कार्याय सिन्धुपाल्चोकले आलोपालो प्रणाली लागू गरेको छ । दैनिक रुपमा संक्रमितको संख्या बढिरहँदा नयाँ भेरियन्ट ओमिक्रोनको त्रास समेत बढेको छ ।

देशभर दैनिक रुपमा संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित देखा परेका छन् । काठमाडौंसँग सीमा जोडिएको जिल्लामा उपत्यकाबाट आवतजावत बढी हुने हुँदा जिल्लामा संक्रमणको त्रास बढिनै रहेको पाइएको छ । संक्रमितको संख्या बढ्दै जाँदा सरकारले विद्यालयहरु बन्द गरेको भए पनि जिल्लामा भने सेवाग्राहीको चाप बढिरहेको छ ।

जिल्ला प्रशासन, मालपोत, निर्वाचन लगायतका कार्यालयहरुमा ब्यापक भीड बढिरहेको छ । आगामी निर्वाचनका लागि आफ्ना पक्षमा मतदाता संख्या बढाउने उदेश्यले राजनीतिक दलका स्थानीय नेताहरुले सेवाग्राहीलाई सदरमुकाम उतारेका छन् । प्रत्येक दलै पिच्छेका नेताहरुले गाउँगाउँबाट गाडी रिजर्भ गरेको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र साथै फोटोहितको मतदाता नामावलीमा नाम दर्ता गराउन ल्याउने गरेका छन् ।

स्थानीय प्रशासनमा सेवाग्राहीको भीड लागेसँगै जिल्ला प्रशासनले कोरोना भाइरस संक्रमण रोकथाम र मानिसहरुको उपस्थितिलाई कम गराउँन आलोपालो प्रणाली लागू गरेको छ । उक्त आलोपालो प्रणाली माघ २ गतेबाट लागू हुने छ ।

१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा प्रशासनले आइतबार, सोमबार र मंगलबार हेलम्बु, पाँचपोखरी थाङपाल, मेलम्ची, ईन्द्रावती, चौतारा सांगाचोकगढी र जुगल गाँउपालिकाका नागरीकलाई सेवा दिने जनाएको छ ।

बुधबार, बिहीबार र शुक्रबार बलेफी ,सुनकोशी, लिंसखुपाखर, त्रिपुरासुन्दरी ,बाह्रविसे र भोटेकोसिका नागरिकलाई सेवा लिन प्रशासनमा आउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सेवा लिन आउँदा खोप कार्ड भने अनिवार्य गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार