Thursday, March 28, 2024

कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २३ पुस

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिए ।

स्वास्थ्य मन्त्री बिरोध खतिवडाका अनुसार कोभिडविरुद्धको खोप लगाउने कामलाई थप तिब्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए ।
नागरिकको जीवनरक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

मन्त्री खतिवडाका अनुसार बैठकमा स्मार्ट लकडाउनबारे समेत छलफल भएको थियो । तर अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको थियो ।

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए ।

आजको बैठकमा कोभिडको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार