राष्ट्रपतिको ‘खोप–कूटनीति’: अझै आएन पत्रको जवाफ

461

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिँदै चार मुलुकका उच्च तहका व्यक्तिहरूलाई पत्राचार गरे पनि दुई साताको अवधि हुन लाग्दासमेत जवाफ आएको छैन ।

कोरोना भाइरसका कारण नेपाली जनता समस्या परेको भन्दै राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकाका राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई खोप खरिदका लागि सहजीकरण गरिदिन पत्राचार गरेकी थिइन् ।

जेठ १६ गतेसम्म नेपालको परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकका विदेश मन्त्रालयमा राष्ट्रपति भण्डारीको अनुरोधको पत्र बुझाइएको थियो । सम्बन्धित मुलुकबाट पत्र ग्रहण गर्दै नेपालको संकटलाई लिएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि भएका छन् तर खोप सहयोगको विषयमा कुनै पनि मुलुकले अहिलेसम्म प्रस्ट रूपमा नेपाललाई जवाफ पठाइसकेको छैन ।

‘सम्बन्धित मुलुकले सम्माननीय राष्ट्रपतिज्यूले पठाएको पत्र पाइसकेको जानकारी हामीलाई प्राप्त भइसकेको छ तर लिखित रूपमा उहाँले गरेको पत्राचारको जवाफ भने आउन बाँकी छ,’ राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टीका ढकालले कान्तिपुरसँग भने । उनले कूटनीतिक माध्यममार्फत हुने यस्तो पत्राचारमा केही समय लाग्न सक्ने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयसँग अन्य मुलुकका कूटनीतिक अधिकारीहरू सम्पर्कमै रहेको बताए ।

राष्ट्रपति भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन रुसी राष्ट्रपति पुटिनलाई जेठ १४ गते पत्र पठाएकी थिइन् । उक्त पत्र रुसी सरकारलाई मस्कोस्थित नेपाली दूतावासले जेठ १६ गते रुसी विदेश मन्त्रालयमा हस्तान्तरण गरेको थियो । राष्ट्रपति भण्डारीले जेठ १६ गते नै परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित बेलायती दूतावासमार्फत बेलायती महारानी एलिजाबेथ द्वितीयलाई पनि खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गर्दै पत्र पठाएकी थिइन् ।

कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नका लागि खोपको अनिवार्य आवश्यकता रहेको पृष्ठभूमिमा राष्ट्रपति भण्डारीले सुरुआतमा जेठ १२ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गरेकी थिइन् । उनले कोविन्दसँग यसअघि नै नेपालले खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध गराउन तथा थप खोप सहयोगका लागि सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । बेलायतकी महारानी र भारतका राष्ट्रपति आलंकारिक हुन् ।

राष्ट्रपति भण्डारीले जेठ १३ गते नै अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र पठाएर नेपाललाई खोप सहयोगका लागि अनुरोध गरेकी थिइन् । दुई दिनपछि उक्त पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले परराष्ट्र मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गरेका थिए । अमेरिकाले एसियाली देशहरूलाई गर्ने सहयोगको सूचीमा नेपाललाई पनि पारेको घोषणा गरेको छ तर नेपालको तर्फबाट गरिएको छुट्टै आग्रहको बारेमा भने जवाफ दिएको छैन । ‘उनीहरूले केही न केही जवाफ त पठाइहाल्छन् तर उनीहरूको पनि आफ्नो प्रक्रिया हुन्छ,’ परराष्ट्र मन्त्रालयका पूर्वसचिव मदन भट्टराईले भने, ‘राष्ट्रपतिज्यूले गर्नुभएको पत्राचारको जवाफ परराष्ट्र मन्त्रालयमार्फत नै आउने हो । विदेशमा पनि यसको काम विदेश मन्त्रालयबाटै हुन्छ । त्यही रुटअनुसार हुनेछ ।’

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राष्ट्रपतिको पत्राचारमा अहिलेसम्म कुनै पनि मुलुकबाट जवाफ नआएको जानकारी दिइन् । खोप कूटनीतिलाई अघि बढाउने क्रममा राष्ट्रपति भण्डारीले जेठ १३ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । उनले सीसँगको टेलिफोन संवादमा उक्त आग्रह गरेका हुन् । सीले भने संवादकै दौरान नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त पनि गरेका थिए । सीले दिने प्रतिबद्धता गरेको खोप काठमाडौंमा आइपुगिसकेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०८:०४