तलेजुबाट चोरिएका तोरन–मूर्ति फ्रान्समा लिलामीमा

328

काठमाडौँ — करिब ४० वर्षअघि पाटनको विश्वसम्पदा क्षेत्रको तलेजु मन्दिरबाट हराएका १२ तोरन–मूर्तिमध्ये ५ वटा हिन्दू प्रतीकका विशिष्ट मूर्तिहरु फ्रान्सको राजधानी पेरिसमा रहेको ‘बोनह्याम्ज’ कला बिक्री केन्द्रमा लिलामीमा राखेको पाइएको छ ।

पाटन दरबारको तलेजु मन्दिरको मूल ढोकामाथि तोरनमा रहेका तामामा सुनको जलप लगाइएका प्रतिकात्मक महालक्ष्मी, नृत्यनाथ, चामुन्डा, भैरव र पञ्चमुखी हनुमानका यी मूर्तिलाई प्रतिसम्पदाको बढीमा ५ हजार युरो मूल्य तोकिएको छ । १० दिनका लागि खुलाइएको सम्पदा बिक्री जेठ २७ सम्म जारी रहने ‘बोनह्याम्ज’को बिक्री अनलाइनले बताएको छ ।

सम्पदाविद् रवीद्र पुरीका अनुसार, एउटा विशिष्ट कला–सम्पदाले भरिएको प्राचीन मन्दिरको मूल ढोकामाथि रहने तोरनमा त्यस मन्दिरभित्र रहेका मूर्ति–सम्पदाको प्रतिकात्मक आकृति राख्ने चलन हुन्छ । त्यही चलनमा तलेजु मन्दिरको तोरनमा राखिएका १२ वटा मूर्ति सन् ७० को दशकमै चोरी भएका थिए । अहिले तलेजुमा चोरिएका मूर्तिहरुको प्रतिलिपि आकृति तोरनमा राखिएको छ ।

यी प्राचीन सम्पदा १२ औं शताब्दीयताको रहेको ऐतिहासिक अभिलेखहरुमा उल्लेख छ । यी सम्पदाबारेमा भारतीय इतिहासविद् बीएन बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया(आर्किटेक्चर अफ नेपाल), जर्मन अध्येता सिकको ‘गड्स आर लिभिङ द कन्ट्री : आर्ट थेफ्ट फ्रम नेपाल’ आदिमा समेत उल्लेख गरिएको सम्पदाविद् पुरीले जानकारी दिए ।

सम्पदा अभियन्ता सञ्जय अधिकारीले यी प्राचीन सम्पदाको बिक्री हुन लागेको सूचना पाएर पुरातत्व विभाग, युनेस्कोसहितका सम्बद्ध निकायमा यसबारेमा आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेका छन् । तर, चोरिएका यी सम्पदाको पेरिसस्थित बिक्री केन्द्रमा लिलामी चलिरहेकोबारे पेरिसस्थित नेपाली दूतावास भने बेखबर छ ।

‘विश्वभरकै कलासम्पदाको राजधानी मानिने’ पेरिसमा चोरिएको नेपाली सम्पदाको लिलामी भइरहेकोबारे कला–सम्पदाका जानकार तथा सम्पदाको ‘उत्पत्तिको थलो’का पक्षमा बहस गर्दै आइरहेका विज्ञहरुले पनि आवाज उठाउन थालेका छन् । अमेरिकाको न्युयोर्कमा रहेकी आर्ट–क्राइमकी प्राध्यापक एरिन एल.थोम्सनले पेरिसमा नेपाली सम्पदाको लिलामी भइरहेको बारे सामाजिक सञ्जालमा आवाज चर्काउँदै लिलामी केन्द्र ‘बोनह्याम्ज’ले बिनासर्त र तर्क चोरिएको सम्पदा नेपाल (उत्पत्तिको मुलुक)लाई फर्काउनुपर्ने बताएकी छिन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ ००:०९