Friday, April 19, 2024

शपथको व्यहोराबाट हटाइयो ‘प्रतिज्ञा गर्दछु’, औपचारिक पोशाक अनिवार्य

राष्ट्रपतिद्वारा ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेश’ जारी

काठमाडौँ — सार्वजनिक पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा अबदेखि शपथ लिने र सपथ गराउने व्यक्तिले अनिवार्य रुपमा ‘औपचारिक पोशाक’ लगाउनु पर्ने भएको छ ।

यस्तै शपथ लिँदाको व्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्दछु’ शब्दलाई पनि हटाइएको छ । शपथ ग्रहण मातृभाषामा पनि गर्न पाइने छ । तर, शपथ लिनुअगावै त्यसको जानकारी शपथ गराउने निकायमा गराउनु पर्ने छ । शपथ ग्रहणका बेला उच्चारण गरिने अन्य केही वाक्य पनि हेरफेर गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिदा ‘प्रतिज्ञा’ भन्ने वाक्य छुटाएका थिए । दोहोर्‍याएर राष्ट्रपति भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ उच्चारण गर्न लगाएपनि ओलीले ‘त्यो पर्दैन’ भनेर पन्छिएका थिए । जुन विषय सामाजिक सञ्जालमा ‘त्यो पर्दैन’ उल्लेख गरेर ‘ट्रोल’ बनेको छ ।

त्यसपछि शपथ ग्रहण नै विवादमा तानिएको थियो । कतिपयले प्रधानमन्त्रीले राष्ट्रपतिबाट पुन: शपथ लिनुपर्ने पनि सुझाव दिएका थिए । तर, त्यसको एक सातापछि बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले गरेको त्रुटिलाई नै जायज ठहर्‍याउने गरी शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको थियो । मन्त्रिपरिषद्को सिफारिसबमोजिम जारी ‘शपथ सम्बन्धी अध्यादेश–२०७८’ जारी भएपछि यसअघि ग्रहण गरिएका शपथको व्यहोरा यसै बमोजिम भएका मानिने उल्लेख छ ।

राष्ट्रपतिबाट बिहीबार नै शपथसम्बन्धी अध्यादेश प्रमाणीकरण भए पनि शुबmबार मात्रै राजपत्रमा प्रकाशित भएको छ । जारी अध्यादेश अनुसार शपथ लिँदा र गराउदा नेपाली भाषाका अलावा मातृ भाषामा पनि लिन पाइनेछ । शपथ लिन र गराउन औपचारिक पोशाक अनिवार्य गरिएको छ । तर, संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाकमा पनि शपथ लिन सकिने उल्लेख छ । अध्यादेशमा औपचारिक पोशाकको परिभाषा भने गरिएको छैन ।

तर, यसअघि वैशाख १ गते विभूषण वितरण समारोहमा उपस्थित हुनका लागि गृह मन्त्रालयले जारी गरेको सूचनामा ‘औपचारिक पोशाक’लाई पुरुषको हकमा लवेदा/सुरुवाल र महिलालाई सारी/चोलो भनेर व्याख्या गरिएको छ । शपथसम्बन्धी अध्यादेशमा उल्लेखित औपचारिक पोशाक भनेर पुरुषका लागि लवेदा/सुरुवाल, टोपी र महिलाका लागि सारी/चोलोलाई नै भनिएको एक मन्त्रीले जानकारी दिए । ‘औपचारिक पोशाक भनेको पुरुषका लागि लवेदा/सुरुवाल र टोपी तथा महिलाको आम सारी चोलो नै हो, यसमा कोही अलमलिनु पर्दैन,’ ती मन्त्रीले भने, ‘तर, नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएका कारण संस्कृति, परम्परा वा पहिचान झल्किने पोशाकलाई पनि शपथ ग्रहणका बेला लगाउन पाइने छ ।’

यसअघिको शपथको व्यहोरामा ‘सम्बन्धित पदको कामकाज प्रचलित कानुनको अधीनमा रही’ भन्ने थियो । नयाँ अध्यादेशमा ‘अधीनमा रही’ भने शव्द हटाएर ‘प्रचलित कानुनको पालना गरी’ भन्ने वाक्य थपिएको छ । त्यस्तै ‘मुलुक र जनताको सोझो चिताई’ भन्ने वाक्य हटाएर ‘मुलुक र जनताको भलो चिताई’ भन्ने थपिएको छ ।

शपथसम्बन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेशको पूर्ण पाठ

 

प्रकाशित : जेष्ठ ७, २०७८ २१:११

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार