७६ (५) को सरकारका लागि सबैको नजर महन्थतिर

297

ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावमा माओवादी सहमत भइसकेको र सम्भवतः कांग्रेसले पनि मान्ने दाबी जसपा नेता मोहम्मद इस्तियाक राईको छ ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अनुरोध’मा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ५ बजेसम्मको समय दिएर नयाँ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेसँगै राजनीतिक सरगर्मी बढेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले ‘अनुरोध’ पत्र शितल निवास पठाएका थिए ।

जसको लगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न एक दिनको समय दिएर आह्वान गरिन् ।

राजनीतिक घटनाक्रममा आएको यो परिवर्तनपछि संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार निर्माणमा निर्णायक देखिएको छ । सरकारको नेतृत्वको प्रस्ताव जसपालाई आउनसक्ने राजनीतिक विश्लेषकहरूले बताइरहेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भन्दै राजनीतिक दल र संविधानका ज्ञाताहरूले भनिरहेका बेला जसरी पनि ओलीलाई सरकारबाट बाहिर्‍याउनका लागि जसपालाई संसद्का दोस्रो ठूलो दल कांग्रेस र तेस्रो ठूलो दल माओवादीले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहेको जसापका नेताहरू बताइरहेका छन् । त्यसरी प्रस्ताव आए ठाकुर सरकारको नेतृत्व गर्न तयार होलान् कि नहोलान् भन्नेमा भने जसपाकै नेताहरूबीच अलमल छ ।

त्यसो त प्रधानमन्त्री ओलीले बालुवाटारबाट राष्ट्रपति भण्डारीका नाममा अनुरोध पत्र लेखेपछि बिहीबार साँझ जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग लामो छलफल गरेका थिए । जसपाका नेताहरूलाई मनाउनकै लागि ओलीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न अध्यादेश पनि राष्ट्रपति कार्यालय पठाएका छन् । जसपा नेताहरू आफूअनुकूल चलेमा राष्ट्रपतिले त्यो अध्यादेश जारी गर्ने तयारी रहेको एमाले र जसपाका नेताहरूले बताएका छन् । उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनका क्रममा रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिएका छन् ।

ठाकुरले एकपछि अर्को माग पूरा गर्दै गएका ओलीलाई साथ देलान् कि कांग्रेस-माओवादीबाट प्रधानमन्त्रीको प्रस्ताव आए मुलुकको नेतृत्व गर्लान् भन्नेमा जसपाका नेताहरू अलमलमा छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् । तर उनको बोलीमा ठाकुरले मानिसकेको भाव भने छैन । ‘ठाकुरजी आफैं अरू कसैको पछि नलागी अडिन सक्नुपर्‍यो । सम्भावना छ,’ उनले भनेका छन् । प्रधानमन्त्रीको प्रस्ताव आएमा के गर्ने भन्नेबारे यादव र ठाकुर आज छलफल गर्ने तय पनि भएको छ ।

त्यसो त जेठ ४ गते पार्टीभित्रको विवाद समाधान गर्न ठाकुर र यादवबीच ८ बुँदे समझदारी भएको थियो । जसमा सरकारबारे पनि एक बुँदा थियो । जसमा लेखिएको थियो, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’

यो बुँदालाई ओली सरकारमा सहभागी नहुने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए अघि बढ्ने अर्थमा जसपाका नेताहरूले अर्थ्याएका छन् ।

जसापाका सांसद मोमहम्मद इस्तियाक राईले अध्यक्षद्वयबीचको उक्त सहमतिअनुसार नै अघि बढ्नुपर्ने बताए । ‘अध्यक्ष ठाकुरलाई अगाडि बढाउने सहमति भइसकेको छ,’ उनले भने ।

ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावमा माओवादी सहमत भइसकेको र सम्भवतः कांग्रेसले पनि मान्ने दाबी राईको छ । ठाकुरले नै मान्ने नमान्नेबारे अध्यक्षद्वय भेटपछि निर्क्यौल हुने उनको भनाइ थियो ।

जसपामा ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले भने ३२ सिट भएको पार्टीले सरकार सञ्चालनकै लागि अग्रसर हुन नहुने बताए । ठाकुरलाई प्रधानमन्त्रीमा अघि सार्दाको अवस्था के हुन्छ ? भन्ने प्रश्नमा कर्णले भने, ‘अरु दलले त्यस्तो भनिसकेका छन् र ? राजनीति त्यसरी कच्चा गर्ने होइन । ३२ जना सदस्य लिएर, १२४ जना सांसद भएकाको त यो हाल छ !’ जसपा ‘जनताको म्यान्डेड’ अनुसार चलिरहेको कर्णको भनाइ थियो ।

ठाकुर पक्षका एक सांसदले भने प्रधानमन्त्रीको प्रस्ताव आएमा आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने अधिकांश सांसदको राय रहेको बताए । आज बोलाइएको संसदीय दलको बैठकमा पार्टी एकढिक्का गरेर लैजान र मुलुक सञ्चालन गर्ने अवसर आएको बेला आफैं अघि बढ्न भनेर सांसदहरूले कुरा राख्ने उनको भनाइ थियो ।

‘कताबाट प्रधानमन्त्रीको प्रस्ताव आउने भन्ने त होला नै तर प्रस्ताव आयो भने मान्नुपर्छ भनेर हामी सांसदहरू भन्छौं,’ ठाकुर निकट ती सांसदको भनाइ थियो, ‘प्रधानमन्त्रीको प्रस्ताव आयो भने कसले भन्छ र म जान्न भनेर ? मलाई यो प्रश्न उहाँलाई हुन्छ ।’

प्रधानमन्त्री ओलीले पछिल्लो समय जसपाको ठाकुर र महतो पक्षलाई रोक्नका लागि एकपछि अर्को माग पूरा गरिदिएकाले ठाकुर अप्ठ्यारोमा परेको ती सांसदको भनाइ थियो ।

सम्बन्धित समाचारः

  • ठाकुर र यादवबीच समझदारी- राष्ट्रिय सरकार वा आफ्नै नेतृत्वमा सरकार बन्ने भए जसपा अघि बढ्ने
  • जसपाले बोलायो संसदीय दलको बैठक

प्रकाशित : जेष्ठ ७, २०७८ ०९:५६