अहिले हामीबाहेकको नेतृत्वको सरकारको कल्पना गरेका छैनौं : प्रदीप ज्ञवाली

323

काठमाडौँ — नेकपा एमाले प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जनता समाजवादी पार्टी(जसपा) ले साथ दिए आफूहरूले बहुमतको सरकार दावी गर्ने बताएका छन् । त्यसका लागि जसपाका नेताहरुसँग छलफल भईरहेको उनले बताए ।

‘केपी ओलीकै नेतृत्वमा सरकारको दावीका लागि जसपाका नेताहरुसँग छलफल चलिरहेको छ । उहाँहरुका केही एजेण्डा छन्,’ शुक्रबार बिहान कान्तिपुरसँगको छोटो कुराकानीमा ज्ञवालीले भने, ‘उहाँहरुले पहिले पनि सत्ताभन्दा हाम्रा मागहरु मुख्य हुन भन्ने गर्नुभएको थियो । तिनै विषयमा बढी कुराकानी भईरहेको छ ।’

जसपाको एउटा पक्षले महन्थ ठाकुरको नेृत्वमा सरकार बनाउने प्रस्ताव अगाडि सार्ने बताईरहँदा एमाले प्रवक्ता ज्ञवालीले भने त्यो दिशामा छलफल नभएको बताए । ‘अहिले हामी बाहेकको नेतृत्वको सरकारको कल्पना गरेका छैनौं । त्यो दिशामा जाँदैनौं,’ ज्ञवालीले भने ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । तर, राष्ट्रपतिले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७८ १०:१४