‘जयन्त जन्त होइन, रवाफ देखाउन गएका रहेछन्’

265

सिम्रौनगढ, बारा — ना १ झ १६४४ नम्बरको गाडीमा ८/१० जना युवा सहयोगी लिएर वैशाख ३१ गते राति जयन्त कुसवाहा घरबाट ठाँटबाँटसहित छिमेकीको जन्त निस्के । राति १० बजेको थियो । ४१ वर्षीय जयन्त सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख रीमा देवीका पति हुन् । उपप्रमुख रीमाले सुविधामा पाएको सरकारी गाडी लिएर उनी त्यस रात जन्त गएका थिए । सिम्रौनगढ–७ का जयन्त आफैँ गाडी चलाएर वडा नम्बर २ नयका टोलमा जन्त गएका थिए ।

सिम्रौनगढ उद्योग वाणिज्य संघ तथा खजानी मावि व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका जयन्त जनता समाजवादी पार्टी (जसपा)का स्थानीय नेता हुन् । उनको गाडीले त्यही विवाहमा गइरहेको अर्को ०१–एवाई–९३६८ नम्बरको भारतीय कारलाई पछाडिबाट ठक्कर दियो । कारमा सामान्य क्षति भए पनि जयन्त त्यसको मतलबै नगरी जन्त पुगे । कार चालक दीपेन्द्र दासले उक्त कारका सञ्चालक लवकुश कुसवाहालाई खबर गरेपछि लवकुश विवाहमा रमिरहेका जयन्तलाई सोध्न पुगे । सुरुमा ती दुवैजनाबीच चर्काचर्की पर्‍यो । भनाभन बढ्दै गएपछि जयन्तले लवकुशमाथि हात छाडे । प्रतिरक्षामा लवकुशले पनि जयन्तमाथि हात हाले । लवकुशको हातमा रहेको साँचोले घोचेर जयन्तको गालामा घाउ लाग्यो । अनि जयन्त र उनको जत्था लवकुशमाथि जाइलागे ।

गाउँलेले लवकुशलाई जोगाउन भगाइदिए । उनी भागेर रातभर चौरीमा लुकेर ज्यान जोगाए । तर जयन्त समर्थक ती युवाहरुबाट लवकुशको कार भने जोगिएन । उनीहरुले कारमा आगो लगाइदिए । जलेको कारलाई गाउँबाट पर लगेर पल्टाइदिए । यत्तिमै ती जत्था चुप लागेनन् । लवकुशको घरमै पुगेर उनका बाबु धर्मदेव, भतिज प्रिन्सराज र आमालाई समेत कुटपिट गरे । यी सबै घटना भएका स्थान लगभग २ किमिकै आसपास पर्छन् । लवकुशले भने, ‘गाउँलेहरु नभएको भए मलाई मारिदिन्थे । म भागेर जोगिएँ पनि मेरो गाडी भने जोगिएन ।’

प्रहरीले गाडी जलेको ठाउँमा पुगेर घटना मुचुल्का गरेको छ । ‘पीडितबाट उजुरी आएको छ,’ सिम्रौनगढ ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक सुवेदीले भने, ‘उजुरीअनुसार छानबिन गर्दैछौं ।’ आफ्नो गाडीले ठक्कर दिए पनि लवकुशले आफूसित दुर्व्यवहार गरेपछि आफ्ना सहयोगीले आक्रोश पोखेको मात्र जयन्तले बताए । उनले भने, ‘लवकुशले मलाई कुटेपछि मेरा सहयोगीहरुले गाडीको सिसा फुटाएका हुन् । गाडी जलाएको भने मलाई थाहा भएन ।’ तर गाडी पूर्णरुपमा जलेको घटनास्थलबाट फर्केका एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले भने, ‘जयन्त जन्त गएका होइन रहेछन्, दादागिरी शैलीमा गाउँमा रवाफ देखाउन गएका रहेछन् ।’

प्रदेश नम्बर २ का सभामुख सरोज यादव निकटस्थ जयन्त सभामुखकै गाउँमा जन्त गएका थिए । बेहुला सन्दीप कुसवाहाको वडाका अध्यक्ष खुशीलाल महतोले आफ्नै घरअगाडि जयन्तसहितका युवाहरुले कारको सिसा फुटाएका कुरा छिमेकीलाई उदृत गर्दै सुनाए । सामाजिक रुपले जिम्मेवार व्यक्तिको अगाडि घटना हुँदा प्रोत्साहित गर्नुभन्दा रोक्नु पर्थ्यो,’ उनले भने, ‘क्षति धेरै भएको छ । कसैको पनि सम्पतिमा आगो लगाउनु उचित होइन ।’

करिब दुई वर्षअघि पनि अर्को एक घटनामा जयन्त पक्राउ परेका थिए । त्यसबेला पनि उनले श्रीमतीले प्रयोग गर्ने नगरपालिकाको उही गाडी प्रयोग गरेका थिए । त्यसबेला उनी एक महिलालाई ललाईफकाई जबर्जस्ती गर्न खोजेको आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बारामा ७ दिन हिरासतमा रही २५ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका थिए । प्रहरीले महिलालाई अभद्र व्यवहार गरेको आरोपमा निजगढबाट उनलाई पक्राउ गरेको थियो ।

निजगढ–९, गुरुङ होटलको कोठा नम्बर ५ बाट उनलाई पक्राउ गरिएको थियो । घटनास्थल सिम्रौनगढबाट ४२ किमि उत्तरमा पर्छ । ३२ वर्षीया एक विवाहित महिलाले आफूलाई गलत नियतले पटक-पटक फोन गरी जयन्तले होटलमा बोलाउने गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पीडित महिला पति र प्रहरीलाई जानकारी गराई होटलमा गएकी थिइन् । महिलाकै सूचनाको आधारमा प्रहरीले जयन्तलाई पक्राउ गरेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७८ २२:४४