प्रदेश १ मा सातायता ८५ संक्रमितको मृत्यु

333

विराटनगर — प्रदेश १ मा सातायता ८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस प्रदेशमा कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दो क्रममा छ । शुक्रबार १२, बिहीबार १५, बुधबार १७, मंगलबार १५, सोमबार ११, आइतबार ११ र शनिबार ४ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि यस प्रदेशमा बिहीबारसम्ममा १६२ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले बताए । कोरोनाको दोस्रो लहर सुरु भएपछि चैत २ गते पहिलो पटक झापामा एक जना संक्रमितको मृत्यु भएको र वैशाख ३१ गतेसम्ममा संक्रमणले मृत्यु हुनेको संख्या १६२ पुगेको हो ।

दोस्रो लहर सुरु भएपछि मोरङमा सबैभन्दा बढी ५५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश विराटनगरका छन् । झापामा ३३, सुनसरीमा ३०, इलाममा ५, उदयपुर र धनकुटामा ३/३ ताप्लेजुङमा २, तेह्रथुममा १ र यस प्रदेश बाहिरका ३० जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणले ओखलढुंगा, सोलुखुम्बु, भोजपुर र खोटाङमा मृत्यु भएको छैन । पहिलो चरणमा संखुवासभा र पाँचथरमा १–१ जनाको मृत्यु भएको डा. निरौलाले बताए ।

कोरोनाको पहिलो लहरमा प्रदेश १ मा ४६६ जनाको मृत्यु भएको थियो । जसमा यस प्रदेश बाहिरका ३० जना रहेको निरौलाले बताए । हालसम्ममा मोरङमा १६१, सुनसरीमा १७५, झापामा १५७, धनकुटामा १५, उदयपुरमा ११, इलाममा १२, तेह्रथुममा ५, ताप्लेजुङमा ४ र संखुवासभा र पाँचथरमा १/१ र प्रदेश बाहिरका ३० गरी कुल ६२८ जनाको कोरोना संक्रमणले मृत्यु भएको उनले बताए ।

यस प्रदेशमा हालसम्ममा ४२ हजार ६ सय ७ जना संक्रमित भएकामध्ये बिहीबारसम्ममा सक्रिय संक्रमितको संख्या ११ हजार २ सय ६९ रहेको र बाँकी निको भइसकेको निरौलाले सुनाए ।

प्रकाशित : जेष्ठ १, २०७८ ०८:५३