Friday, March 29, 2024

वाग्मतीमा प्रदेशसभा बैठक शुक्रबार

माघ ९, २०७७

मकवानपुर — राजनीतिक दलहरूको दबाबपछि वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार प्रदेशसभाको बैठक बोलाएका छन् ।

अविश्वासको प्रस्ताव ‘फेस’ गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार भए पनि कानुनविद् र दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भन्दै सभामुख श्रेष्ठले बैठक बोलाउन आनाकानी गरिरहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएसँगै सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरूको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । ‘अब अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश हुन्छ,’ कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले भने ।

अविश्वासको प्रस्तावका प्रस्तावक शालिकराम जमकट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको आलोचना गरेका थिए । मुख्यमन्त्री पौडेल निकट सांसद दीपक निरौलाले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताए ।

प्रकाशित : माघ ९, २०७७ ०६:४४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार