Thursday, March 28, 2024

प्रतिनिधिसभा विघटन संविधानविपरीत : पूर्वराष्ट्रपति यादव

‘मलाई हिजोको घटनाले मर्माहत र दु:खी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’

पुस ६, २०७७

काठमाडौँ — पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत रहेको बताएका छन् । मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दु:खी र मर्माहत बनेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सोमबार सम्बोधन गर्दै उनले भने, ‘मलाई हिजोको घटनाले मर्माहत र दु:खी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’ आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदनलाई पूर्वराष्ट्रपति यादवले संविधानविपरीत चालिएको स्टेप भएको बताए ।

संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको उनले जनाए । ‘एउटा होइन, दुई वटा संविधानबाट जनताले धेरै खुन पसिना बगाएर संविधान, धर्मनिरपेक्षता, संघीयता आएको हो,’ उनले भने, ‘यो संविधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता हो ।’ ७७ वर्षको बलिदान र संघर्षको उपलब्धि गुम्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिए ।

उनले संविधानमा नै नभएको स्टेप चाल्दा राष्ट्रपति जस्तो संस्थाले जनतालाई अभिभावकत्व दिन नसकेको गुनासो गरे । ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्न गरेको छैन, हिजोको घटनाले मर्माहत भएको छु, अब बोल्छु,’ उनले थपें, ‘राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन ।’ राष्ट्रपतिको पदमा बस्ने व्यक्ति उत्तरदायित्व पूरा गर्न चुकेको उनले औंल्याए । असंवैधानिक संसद् भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको उनले बताए । ‘अहिलेका सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान मैले जनताका लागि अर्पण गरेको हुँ,’ उनले भने, ‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ ।’

जनताको सर्वोच्च निकाय संसद् भंग हुँदा आफूजस्तै ३ करोड जनता मर्माहत भएको उनले जनाए । पूर्वराष्ट्रपति यादवले सम्बोधनको अन्त्यमा भने, ‘आशा र विश्वास गर्छु । यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस, पुग्नै पर्छ । मेरो विनम्र अनुरोध पनि गर्छु ।’ दीक्षान्त समारोहमा लिखित मन्तव्य दिएका उनले सम्बोधनको अन्त्यमा प्रतिनिधिसभाको असंवैधानिक विघटनको विषयमा प्रंसग निकाल्दै बोलेका थिए ।

सभामा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री ओली भने उपस्थिति थिएनन् । सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार नै राजीनामा दिएका थिए । उनीहरुको अनुपस्थितिमा उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा समारोह भएको थियो । नेकपा निकट विद्यार्थी संगठनले नै प्रर्दशन र विरोध गर्ने भएपछि कुलपति ओली समारोहमा सहभागी नभएको प्राध्यापकहरुले बताए । उनले भर्चुअल सम्बोधन गरेका थिए । समारोहमा ५६ हजार ७ सय १३ विद्यार्थी दीक्षित भएका छन् ।

प्रकाशित : पुस ६, २०७७ १४:०४

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार