Thursday, April 18, 2024

सरकारले गरेका राम्रा कामहरुलाई लिएर नयाँ चुनावमा जाऔँ : ओली

‘दाहालले पार्टी एकतामा सिन्को भाँचेनन्, सरकारलाई एकपछि अर्को गरी असहयोग गरे’

पुस ६, २०७७

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूसमर्थित सांसदहरुलाई सम्बोधन गर्दै विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको बताए ।

स्रोत : प्रधानमन्त्रीको सचिवालय

त्यस्तै ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप लगाएका छन् । ‘तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन् । सरकारको काममा पनि एकपछि अर्को गर्दै अड्चन ल्याएर काम गर्नै दिएनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी सांसद निरुदेवी पालले कान्तिपुरलाई बताइन् ।

ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान भेलामा सहभागी सांसदहरुलाई आग्रह गरेको पनि पालले जानकारी दिइन् ।

उनले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेस्र्याएर पाइला छेक्ने प्रयास भएको बताए । ‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु पर्‍यो’ प्रधानमन्त्री ओलीले भने, ‘जस्तोसुकै दुश्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन पनि दिए । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘कसले काम गर्‍यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र गर्‍यो, जनतालाई बुझाउनुपर्छ ।’

त्यस्तै भेलालाई सम्बोधन गर्दै उद्योगमन्त्री लेखराज भट्टले ओलीको नेतृत्वमा अब उदाहरणीय विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने बताएका थिए । भेलालाई पार्टीका महासचिव विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको भेलामा गृहमन्त्री रामबहादुर थापा, सांसदहरु रघुवीर महासेठ, कृष्णप्रसाद दाहाललगायत भने अनुपस्थित रहेका थिए । गृहमन्त्री रामबहादुर थापा भने भेलामा सहभागी भएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

प्रकाशित : पुस ६, २०७७ १२:२५

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार