Saturday, April 20, 2024

बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक

पुस ५, २०७७

काठमाडौँ — सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्थायी कमिटी बैठक सञ्चालनका लागि आइतबार दिउँसो बालुवाटार पुगेका छन् । 

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सवार गाडी आइतबार पार्टीको स्थायी कमिटी बैठकका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवास प्रवेश गर्दै ।

सरकारले संसद् विघटनको सिफारिस गरेपछि सचिवालयका नेताहरूसँग आफ्नो निवास खुमलटारमा छलफल गरेर दाहाल पार्टीको पूर्वनिर्धारित स्थायी कमिटी बैठकका लागि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

त्यही बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक हुने भएको छ । बैठकका लागि नेकपाका अन्य नेता पनि बालुवाटार पुग्दै छन् ।

नेकपामा आन्तरिक विवाद चर्किरहेकै बेला ओली पार्टीका कार्यकारी अध्यक्ष दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगेका थिए । उक्त छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । उनी शुक्रबार पेरिसडाँडाको दाहाल-नेपाल पक्षको भेलामा सहभागी थिएनन् ।

दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । अध्यक्ष दाहाल र माधव नेपालले शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेला गरी संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको थियो। कोटेश्वर भेलापछि दाहालले साँझ प्रधानमन्त्री ओलीलाई भेटेका थिए । छलफल स्थायी कमिटीको निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भए पनि कुनै ठोस सहमति भने भएको थिएन । ओलीले दुवै अध्यक्षका दस्तावेज फिर्ता लिएर साझा सहमतिको दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव गरिरहेका थिए ।

प्रकाशित : पुस ५, २०७७ १३:१०

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार