Wednesday, April 17, 2024

अवैध सम्बन्ध लुकाउन काकीको हत्या

पुस ३, २०७७

लमजुङ — एक महिलाको हत्याको अभियोगमा दुई युवक पक्राउ परेका छन् । सुन्दरबजार–४ दुराडाँडा चारघरेकी ३५ वर्षीया धनमाया भुजेलको हत्याको ३६ घण्टाभित्रै प्रहरीले सुन्दरबजार–३ स्वाँराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई पक्राउ गरेको हो । सागर धनमायाका भतिजा र विकास भान्जा हुन् ।

अभियुक्तहरुलाई शुक्रबार सार्वजनिक गर्दै लमजुङ प्रहरी ।

डीएसपी गंगाबहादुर थापाका अनुसार घटना गत बुधबार बिहानको हो । ‘मृतक धनमायाका पति ध्रुवले भ्यासेक्टोमी गरेका रहेछन् । गाउँलेले धनमाया गर्भवती रहेको सुनाएपछि अवैध सम्बन्धको पोल खुल्ने डरले सागरले धनमायाको हत्या गरेको बुझियो,’ डीएसपी थापाले अभियुक्त सार्वजनिक गर्दै शुक्रबार प्रहरी कार्यालयमा भने ।

पहिलो पत्नीसँगको सम्बन्धविच्छेदपछि ध्रुवले धनमायासँग दोस्रो विवाह गरेका थिए । ध्रुवकी जेठीतर्फका दुई सन्तान हजुरबाआमासँग बस्छन् । ध्रुव र धनमाया अरूले छाडेको घरमा बस्थे । ध्रुव गाउँकै एक गाई फार्ममा काम गर्छन् । उनी सबैरै फार्ममा जान्थे ।

काकीसँगको आफ्नो अनैतिक सम्बन्ध गाउँलेले थाहा पाउन थालेपछि सागरले एक महिनादेखि धनमायाको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ । डीएसपी थापाका अनुसार घटनाको एक साताअघि मात्रै अभियुक्त सागरले विकासलाई धनमायाको हत्या गर्ने भन्दै सहयोग मागेको खुलेको छ ।

धनमायाका पति ध्रुव बिहान सबेरै काममा जाने गरेकोमा हत्याको दिन गए/नगएकोबारे सागरले धनमायालाई फोन गरेर सोधेका थिए । विकासलाई लिएर सागर धनमायाको घरमा पुगे । घरमा एक्लै रहेको अवस्थामा धनमायाले लगाएको सल लिएर सागरले घाँटी कसे । गुहार माग्न थालेपछि बाहिर रहेका विकासलाई ढुंगा ल्याउन भने । जाँतोको माथिल्लो भाग उचालेर दुवैले धनमायालाई हाने । घटना लुकाउन बोरामा बेरेर सेप्टिक ट्यांकीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर ल्याइएको थियो । सशस्त्र प्रहरीमा भर्ना हुनका लागि मेडिकल गर्ने तयारीमा रहेका सागरलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । विकासलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै जनालाई शुक्रबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ३, २०७७ २०:०२

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार