Saturday, April 20, 2024

नेकपा नेता तथा पूर्वराजदूत कमानसिंह लामाको निधन

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल

मंसिर २५, २०७७ रासस

काठमाडौँ — नेकपाका नेता कमानसिंह लामाको बिहीबार ६९ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचारार्थ थिए ।  

विसं २००८ फागुन ९ गते जन्मिएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा संघका केन्द्रीय संस्थापक सदस्य भएका थिए । विसं २०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । लामाका श्रीमती, एक छोरा र चार छोरी छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन् ।

शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेकाे स्मरण गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।’

अध्यक्ष दाहालले नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।

सरकारका मन्त्री तथा नेकपाका केन्द्रीय एवं जिल्लाका नेताकार्यकर्ताले वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका नेता लामाप्रति विभिन्न माध्यममार्फत शोक व्यक्त गरेका छन् ।

प्रकाशित : मंसिर २५, २०७७ १२:२१

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार