Tuesday, July 27, 2021

चीनको असहयोगले उत्तरी नाका अझै असहज

चीनसँगको आयात व्यापार जलमार्गबाट, भिसा कुर्दै व्यवसायी, २७ किमिको ढुवानी भाडा साढे ३ लाख

काठमाडौँ — रसुवागढी र तातोपानी नाकाको स्थलमार्ग दिन प्रतिदिन असहज बन्दै गएपछि व्यवसायीहरू जलमार्ग भएर व्यापार गर्न बाध्य भएका छन् । चीनले कोरोनाको प्रभाव देखाएर ल्हासा गोदाम र स्थलमार्गहरूमा थन्किएको नेपालीको सामान आयातमा लगाएको प्रतिबन्ध अझै फुकुवा नगर्दा नेपाली व्यवसायीहरू भारतको बाटो भएर दक्षिणी नाका प्रयोग गर्न बाध्य भएका हुन् ।

रसुवागढी नाका

सामान आयातमा असहज भएको मात्र होइन, लामो समयदेखि व्यापार गर्दै आएका नेपालीलाई कोरोनाका कारण अझै चीन फर्कने अनुमति दिइएको छैन । यसबाट उनीहरूले बजारमा मागअनुसारको सामान अर्डर गर्नसमेत पाएका छैनन् ।

सामान आयातमा असहज भएको मात्र होइन, लामो समयदेखि व्यापार गर्दै आएका नेपालीलाई कोरोनाका कारण अझै चीन फर्कने अनुमति दिइएको छैन । यसबाट उनीहरूले बजारमा मागअनुसारको सामान अर्डर गर्नसमेत पाएका छैनन् ।

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष राजनकुमार जमकट्टेल व्यापारीहरू सामान अर्डरका लागि चीन जान नपाएको बताउँछन् । ‘हामीले व्यापारीलाई जाने व्यवस्था मिलाउन नेपालस्थित चिनियाँ दूतावासलाई अनुरोध गर्दै आएका छौं,’ कट्टेलले भने । उनका अनुसार चीनले अहिले आफ्नो मुलुकको वर्किङ अनुमति भएका, चिनियाँ नागरिकसँग विवाह गरेका वा कुनै प्रतिष्ठित कम्पनीको लिखित अनुरोधमा मात्र नेपालीलाई भिसा दिने गरेको छ । त्यसका लागि पनि एक महिनाअघि निवेदन दिनुपर्छ ।

पछिल्लो समय नेपाली व्यवसायीहरूले आफैं चीन गएर अर्डर गर्ने र सामान छुटाउने गर्दै आएका थिए । चीन जान सहज प्रवेश नपाएपछि पोहोर अर्डर गरेका सामान यो वर्ष पनि भित्र्याउन पाएका छैनन् । यसबाट व्यवसायीले करोडौं नोक्सानी बेहोर्नुपरेको मात्र छैन, सामान ढिला आउँदा बिक्री नहुने समस्या पनि भोग्नुपरेको छ । चीनबाट सामान आयात गरेर नेपाली बजारमा व्यवसायीलाई ठूलो मार परेको कट्टेल बताउँछन् ।

चीनको मुख्य व्यापारिक स्थल ग्वान्जाउ, इउलगायतका व्यापारिक थालोबाट स्थलमार्ग भएर डेढ सातामा भित्रने सामान जलमार्गबाट ल्याउँदा ३५ देखि ४० दिन लाग्ने गरेको छ । मौसमअनुसारको सामान समयमै भित्र्याएर बजार पुर्‍याउन झन्डै तीन महिनाअघि नै अर्डर गर्नुपर्ने अवस्था छ । यो परिस्थितिले व्यवसायीले सामान बिक्री हुनु अगाडि नै लामो समयसम्म करोडौं रुपैयाँ लगानी गरिरहनुपर्ने भएको छ ।

खरिद गरेको सामान ल्यान नपाउँदा अर्बौं रुपैयाँ नोक्सानी बेहोर्नुपरेको भन्दै गत असोजमा व्यवसायीको दबाबमा सरकारले चीनसँग गरेको पटक–पटकको अनुरोधपछि स्थलमार्गबाट हुने आयात व्यापारमा सहजता हुने अपेक्षा गरिएको थियो । तर त्यसपछि पनि चिनियाँ अधिकारीहरूले दैनिक ५–६ कन्टेनर मात्रै सामान नेपाल पठाउने नीतिलाई निरन्तरता दिएपछि व्यवसायी आजित छन् । सरकारी तहबाटै गरिएको अनुरोधका कारण सीमा केरुङ र खासामा थन्केको सामान धेरैजसो भित्रिएको छ । तर चीनको ठूला सहरमा गोदाम गरिएको सामान ल्याउने तत्परता भने अझै देखाइएको छैन । स्थलमार्गको झन्झट कहिल्यै नसुध्रने भएपछि व्यवसायीले उत्तरी नाकाबाट गरिँदै आएको आयात दक्षिणतिर सारेका हुन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल उत्तरी नाका असहज बनेपछि चीनबाट गरिने आयात व्यापारका लागि जलमार्ग निर्भर हुनुपरेको बताउँछन् । स्थलमार्गका तुलनामा जलमार्गबाट सामान ल्याउन समय धेरै लाग्ने गरेको छ । ‘पोहोरकै सामान ल्याउन नपाएकाले व्यवसायीहरू तातोपानी र रसुवागढीमा भर पर्न छाडेका छन्,’ अध्यक्ष पौडेलले भने । अहिले पनि एक वर्षअघि खरिद गरिएका सामान अझै ल्हासाको गोदाममा थन्किएको उनले बताए ।

नेपाली व्यवसायीले सामान छिटो भित्र्याउन सकिने भन्दै लामो समयदेखि स्थलमार्गलाई नै प्राथमिकता दिँदै आएका थिए । तर चीनले भूकम्प, बाढीपहिरो र कोभिड देखाउँदै आयात व्यापारमा अवरोध गरेको छ । उत्तरी नाकाको भर नभएपछि गर्मीका तयारी पोसाक दक्षिणी नाकाबाटै ल्याउन अर्डर सुरु गरेको व्यवसायी बताउँछन् । चीनले भूकम्पपछि तातोपानी नाका चार वर्ष पूरै बन्द गरेको थियो । २०७२ मा खासा क्षेत्रमा सडक नबनेको भन्दै भूकम्पपछि २०७६ जेठसम्म नाकालाई पूर्ण रूपमा बन्द गरियो । त्यसको विकल्पमा २०७२ मंसिरदेखि रसुवागढी नाकालाई प्राथमिकता दिएर सञ्चालन गरियो । तर उक्त नाकाबाट पनि अहिले सहज रूपमा व्यापार हुन सकेको छैन ।

तातोपानी र रसुवाबाट दैनिक ४–५ कन्टेनर सामान आयात हुने गरेको छ । सिल्क ट्रान्सपोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पा उत्तरी नाकाप्रतिको विश्वास कम भएकाले व्यापारीहरू दक्षिणतिर लागेको अनुमान गर्छन् । उत्तरतिर पनि अब बिस्तारै सहज हुँदै गएको उनले बताए । स्याउलगायतका वस्तु तातोपानीबाट आउन थालेकाले अब पुराना सामान लगभग सकिएको भनाइ उनको छ । शुक्रबारदेखि तातोपानीबाट १० कन्टेनर सामान ल्याउन थालेको उनले जानकारी दिए । केरुङको बाटो भएर नेपाल भित्र्याउन खोजिएको सामान खासा हुँदै तातोपानीतर्फ ल्याएको जानकारी दिए । केरुङबाट खासा पुग्न करिब तीन सय किमिको दूरी पर्छ ।

रसुवा भन्सारबाट आयात गरिने सबै सामान भने अझै भित्रिसकेको छैन । भन्सारकी अधिकृत ललिता ज्ञवालीका अनुसार चिनियाँ कन्टेनरले नेपालको मितेरी पुलमा सामान खसालेर फर्कने गरेको छ । उक्त सामान नेपाली कन्टेनरले लोड गरेर भन्सारसम्म ल्याउने गरिएको छ । तातोपानीमा भने एक सातादेखि सामान राखेर खासाबाट ल्याइएको चिनियाँ ट्रली नै मितेरी पुलमा छाड्ने गरिएको छ । उक्त ट्रलीलाई नेपाली कन्टेनरले तानेर सुक्खा बन्दरगाहसम्म लैजाने गरेको छ । दुवै नाकाबाट दैनिक न्यून परिमाणमा मात्र सामानको आयात हुँदै आएको छ । रसुवाबाट आयात गरिने सामान अझै केरुङ गोदाममा रहेको व्यवसायी बताउँछन् ।

सीमाका चिनियाँ अधिकारीहरूले कन्टेनर अभाव देखाउने, ढुवानी भाडा बढाउने र दैनिक सीमित परिमाण सामान मात्र नेपाल भित्र्याउन दिने रणनीति अपनाएपछि स्थलमार्गको प्रयोगमा कमी हुन थालेको हो । व्यवसायी नवीन थापा उत्तरी सीमामा चिनियाँ अधिकारीहरूले नेपालीलाई जहिले पनि हतोत्साही बनाउने गरेको बताउँछन् । ‘सहज अवस्थामा हुँदा पनि आफूले खरिद गरेर केरुङमा गोदाम राखेको सामान कुन अवस्थामा छ, जानकारी पाउने परिस्थितिसमेत बनेन,’ उनले भने ।

स्थलमार्ग प्रयोग गर्दा चीनको व्यापारिक सहरमा लोड गरेको सामान १० देखि १५ दिनमा नेपाल भित्रन्छ । तर जलमार्गबाट आयात गर्दा ४० देखि ४५ दिन लाग्ने गरेको थापाले बताए । जलमार्गको प्रयोगले ढुवानीमै लामो समय लाग्ने चिन्ता व्यवसायीको छ । जलमार्गबाट आयात भएको सामान टुटफुट वा कुनै पनि प्रकृतिको नोक्सानी हुँदैन । चीनको ग्वान्जाउ र इउपोटमा लोड गरिएको सामान पानीजहाजमा राखेर कोलकाताबाट वीरगन्ज, विराटनगर र काँकडभिट्टालगायतका नाकाबाट नेपाल भित्रिने गरेको छ ।

रसुवा नाकाबाट २७ किमि टाढा केरुङबाट एक चिनियाँ कन्टेनर नेपाली सामान आयात गर्न ढुवानी भाडा ३ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ । चिनियाँ एक कन्टेनरको सामान नेपाली दुई कन्टेनर हुने गरेको छ । गाडीको अभाव देखाएर चिनियाँले भाडा बढाएपछि जति भन्यो त्यति तिर्नुपरेको गुनासो नेपाली व्यवसायीले गर्दै आएका छन् । एक कन्टेनर सामान काठमाडौं भित्र्याउँदा ढुवानी र लोड–अनलोड भाडामा मात्र ८ देखि १० लाख खर्च हुने गरेको व्यवसायी बताउँछन् ।

वीरगन्जबाट काठमाडौंको एक कन्टेनर ढुवानी भाडा ४५ देखि ५५ हजार पर्छ । तर रसुवागढीबाट काठमाडौंको भाडा ८५ हजार पर्छ । व्यवसायी जमकट्टेल गुनासो गर्छन्, ‘रसुवाबाट काठमाडौंको भन्दा केरुङबाट भन्सारसम्मको २७ किमिको भाडा दोब्बर छ ।’ व्यवसायीका अनुसार नेपाली एक कन्टेनर सामान काठमाडौं आइपुग्दा ढुवानी भाडा र लोड अनलोडका लागि करिब १० देखि १२ लाख खर्च हुने गरेको छ । ढुवानीको सबै खर्च आयातित वस्तुको मूल्यमा जोडिने भएकाले यसको प्रभाव उपभोक्तामा परिरहेको भनाइ व्यवसायीको छ ।

प्रकाशित : मंसिर २३, २०७७ ०८:५९

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

ताजा समाचार