Friday, April 26, 2024

राजपुर बम काण्ड : पूर्वमन्त्री आफताबका भाइ महताब पक्राउ

रौतहट — पहिलो संविधानसभा निर्वाचनताका राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको भनिएको प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । राजपुर नगरपालिकाका मोहम्मत महताब आलमलाई आइतबार राति भारतको मोतीहारीबाट पक्राउ गरिएको हो ।

उनी सोही प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री एवं कांग्रेसका नेता मोहम्मद आफताब आलमका भाइ हुन् । कांग्रेसका जिल्ला नेतासमेत रहेका महताब दाजु पक्राउ परेदेखि नै फरार थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

महताबकै परिवारका एक सदस्यले पनि उनी पक्राउ परेको पुष्टि गरेका छन् । यद्यपि जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले महताब पक्राउबारे आनाकानी गरेका छन् । मोतीहारीस्थित आफन्तकहाँ आएका महताबलाई रौतहट र मोतीहारी प्रहरीको संयुक्त टोलीले पक्रेर नेपाल ल्याउँदै गरेको प्रहरी स्रोतले बतायो । आरोपितमध्ये अहिले सम्म पाँच जना पक्राउ परिसकेको जिल्ला प्रहरीले जनायो ।

२०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु), ओसी अख्तरलाई चिम्नी भट्टामा जिउँदै जलाइएको पूर्वमन्त्री आफताब, उनका भाइ महताबलगायत ११ जनामाथि आरोप छ । मुख्य आरोपित आफताब पुर्पक्षका लागि गत कात्तिक २९ देखि काठमाडौंको डिल्लीबजार कारागारमा छन् ।

मृतक पिन्टुका बुवा श्रीनारायाण सिंह र अख्तरकी आमा रुक्साना खातुनले कांग्रेसनेता आफताबलगायत ४ जनाविरुद्ध २०६५ वैशाख ९ गते किटानी जाहेरी दिएका थिए । घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते सांसद आफताब, भाइ महताबसहित ४ जना पक्राउ परेका थिए । तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।

आरोपितहरू छुटेपछि २०७१ मसिर २० गते पीडितका तर्फबाट छानबिन गरिपाउन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो । त्यसपछि पक्राउ परेका आफताबविरुद्ध अनुसन्धानका क्रममा ७ सय पृष्ठ लामो मिसिल तयार भएको थियो । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थलगायत कसुरमा ११ जनाविरुद्ध जन्मकैद सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।

प्रकाशित : मंसिर २२, २०७७ १०:११

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार